हङकङ र कोरियामा ‘यादको मूर्च्छना’ लोकार्पण
कोरियामा कृतिको विमोचन गर्दै कृतिकार (बिचमा) लगायत ।
गीतकार अगम विकरालकाे गीतसंग्रह ‘यादको मूर्च्छना’ हङकङ र दक्षिण कोरियामा लोकार्पण गरिएको छ । गत ३१ मार्च आइतबार हङकङ साहित्यिक साझा श्रृंखलाको १३०औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा-३’को अवसर पारेर हङकङको ‘ग्रास आइल्याण्ड’ (तापमुन) टापुमा उक्त कृतिको लोकार्पण गरिएको हाे ।
श्रृंखलाका संयोजक कवि एवं चित्रकार रमण गुरुङको अध्यक्षतामा सम्पन्न भएको लोकार्पण कार्यक्रममा कवि देवेन्द्र खेरेस र कवि एवं पत्रकार टीबी याक्खाले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा वक्ताहरूले कृतिभित्र अत्यन्त सुन्दर रचना समाविष्ट भएको बताउँदै उक्त रचनाहरूमा आममानिसका सपना र भावना कैद भएको टिप्पणी गरे । कवि एवं मुक्तककार कल्पना काफ्ले र कवि एवं समाजसेवी कोमल पौडेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार दाजु गुरुङ, कवि टंक सम्बाहाङफे, कवि सुनिता गिरी, पूर्णिमाजी शाह, जानु काङवाङ, डोम राना, नरेन्द्र गुरुङ, अरुणा शर्मा, मञ्जु थापा, नारायण भण्डारी, कला राईलगायत उपस्थित थिए ।
त्यसैगरी नयाँ वर्षको अवसर पारेर शनिबार कोरियाको राजधानी साउलको दुङदेमुनस्थित रोयल इन्डियन नेपाली रेष्टुरेन्टमा सोही कृतिको विमोचन गरिएको छ । गीतकार विकरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृतिमाथि साहित्यकार विनेश राई ‘मिन्जाई’ (राधुङछा) र कवि गीतकार प्रवीण राईले कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
यस्तै, एमटीयू दक्षिण कोरियाका अध्यक्ष उदय राई, खोटाङ सेवा समाज कोरियाका सचिव हरि खड्का र विजय राई लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । साे अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदान-प्रदान गरिएको थियो । यो कृतिको गत महिना काठमाडौंमा पनि लोकार्पण गरिएको थियो ।