गुराँस फँडानी रोक्न माग
टीएमजे क्षेत्रमा फुलेकाे गुराँस ।
तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रभित्र गुराँस वन फँडानी रोक्न स्थानीयले माग गरेका छन् । टीएमजे क्षेत्रभित्र गुराँस वन फँडानी रोक्न माग गर्दै दुईवटा सामुदायिक वनले जिल्ला प्रशासन कार्यालय संखुवासभामा ज्ञापनपत्र बुझाएका छन् ।
टीएमजे क्षेत्र संखुवासभा, तेह्रथुम र ताप्लेजुङकाे संगमस्थल हाे । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने भएकाले टीएजेलाई ‘गुराँसको राजधानी’समेत भनिन्छ ।
टीएमजे क्षेत्रका तीनजुरे हात्तीसार सामुदायिक वन र पाथिभरा सामुदायिक वन क्षेत्रमा कोशी करिडोरले जथाभावी गुराँस फडानी गरेको भन्दै ज्ञापनपत्र बुझाएकाे जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएकाे छ । कोशी करिडोरले प्रसारण लाइनका लागि २०७७/७८ सालमा भएको सम्झौतामा ६२९ रूख कटान गर्ने अनुमति भए पनि विनासम्झौता हजारौँ गुराँसका बोट फँडानी गरेको सामुदायिक वन उपभोक्ता समितिकाे आराेप छ ।
त्यसैगरी तेह्रथुमकाे लालीगुराँस नगरपालिकाले पनि गुराँस नटिप्न अनुराेध गर्दै सार्वजनिक सूचना जारी गरेकाे छ । गुराँसकाे फूल टिप्नाले प्राकृतिक साैन्दर्यमा कमी आई पर्यटककाे आगमनमा प्रतिकुल असर पर्ने सूचनामा उल्लेख छ । सूचनाकाे अवज्ञा गरे प्रचलित कानुनबमाेजिम कारबाही हुने पनि नगरपालिकाले चेतावनी दिएकाे छ ।
टीएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन् । यो क्षेत्रको संरक्षणका लागि प्रभावकारी काम हुन नसक्दा गुराँस मासिने अवस्थामा पुगेको छ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण यो क्षेत्र कोशी प्रदेशकै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्न सकिने उच्च सम्भावना छ ।
पदयात्राका लागि रमणीय यो क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।