सांसद खड्काको प्रष्टोक्टि- तिर्नुपर्ने रकम कम्पनीले तिर्छ, सरकारले आतंक फैल्यायो

हटाउने वा विस्थापित गर्ने योजनाका साथ लागेको दाबी

सांसद खड्काको प्रष्टोक्टि- तिर्नुपर्ने रकम कम्पनीले तिर्छ, सरकारले आतंक फैल्यायो

पत्रकार सम्मेलनमा बोल्दै सांसद खड्का ।

नेपाली कांग्रेस सांसद दीपक खड्काले व्यवसायीमाथि सरकारले आतंक मच्चाएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले स्काउटको जग्गामा बनाएको पार्टी प्यालेसलगायत सटरमा ताला लगाएर व्यवसायीहरुलाई सरकारले आतंकित बनाएको आरोप लगाएका हुन् ।

सांसद खड्का आवद्ध कम्पनी खड्काल्याण्ड डेभलपमेण्ट प्रालिले १५ वर्षदेखि कब्जा गरेको भन्दै लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सिल गरी नियन्त्रणमा लिएको थियो । तर सांसद खड्काले पत्रकार सम्मेलनमा बाेल्दै स्काउटकाे जग्गा आफूले नहडपेको दाबी गरे ।

उनले खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा आफू दुई वर्षदेखि आवद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको आरोप लगाए । उनले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गर्दै स्काउटको भुक्तानी हिसाब गरेर तिर्न तयार रहेको बताए ।

उनले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको बताए । उनले अहिले राज्यले समय अवधि हुँदाहुँदै पनि व्यवसायीहरुलाई गरिखाने वातावरण समेत नदिएको आरोप लगाए । उनले जग्गा भाडामा लिएको १२ वर्षसम्म कुनै समस्या नभएको तर एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारी आएपछि समस्या भएको बताए ।

उनले भण्डारी आएसँगै आफूहरु माथि विभिन्न हत्कण्डाहरु अपनाएर हटाउने वा विस्थापित गर्ने योजनाका साथ लागेको दाबी गरे । राति १० बजे विवाहको पार्टी चलिरहेको अवस्थामा राज्यले व्यवसायीहरुलाई आतंकित बनाउने गरी सिल गर्नु गैरजिम्मेवारी भएको सांसद खड्काे तर्क छ । ‘नेपाल स्काउटले कर्जा लिएर बनाएका सटरहरु भाडामा लगाउन पटक-पटक टेण्डर लगाउँदा कसैले नलिएर तिर्ने पैसा नभएपछि मसँग भेट हुँदा सहयोग गरिदिनु पर्‍याे भनेपछि म आएर प्रक्रिया गरेर शुरु गरेको हो । अहिले करिब १५ वर्ष भयो । दोस्रो टेण्डरमार्फत फेरि पनि काम भइरहेको छ । स्काउटको यो जग्गा फोहार फाल्ने ठाउँजस्तो थियो । त्यस्तो ठाउँलाई व्यवसायिक भवनमा परिणत गर्ने काम भयो । १२ वर्ष समय पार गर्दासमेत कुनै समस्या भएन । तर जब साढे पाँच वर्ष पहिले ६ महिनाका लागि भनेर एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भूमिकामा लोकबहादुर भण्डारीलाई पठाइयो । त्यहाँदेखि हामीमाथि विभिन्न हत्कण्डाहरू अपनाउन थाल्नुभयो,’ उनल भने ।

यहाँबाट आफूहरुलाई विस्थापित गर्न जग्गा कब्जा गर्ने नियतका साथ काम भइरहेकाे उनले आराेप लगाए । उनले भने, ‘स्काउटले यो जग्गा हत्याउन खोज्नुभयो । हामी टेण्डर लिएर बसेका छौं । यसै किन छाड्ने ? नेपाल सरकारलाई चाहियो वा स्काउटलाई चाहियो भने उहाँहरुको जग्गाको जतिखेर पनि लान सक्ने सम्झौतामा उल्लेख छ । यहाँका ४८ परिवारले व्यवसाय सञ्चालन गर्नु भएको छ । उनीहरुलाई राज्यले गरिखान दिएन । स्काउटलाई तिर्नुपर्ने रकम कम्पनीले तिर्छ । म कम्पनीमा छैन । तर म जिम्मा लिएर तिर्छु भनेको छु । राज्यलाई यति ठूलो के गर्न मन लागेछ ? व्यवसायीहरुलाई दुःख दिएर राज्यले आतंक गर्नुपर्ने विषय के बनेछ ? कानूनी हिसाब त्यस्तो देखिँदैन । सबै हिसाब गर्न तयार छु भन्दा पनि राति १० बजे आएर ताला लगाउनुपर्ने कारण के रहेछ ? म भाग्ने सूचना पाउनुभयो कि ? राज्यप्रति चिन्ता लागेको छ । राज्य देशमा के गरिरहेको छ ? सरकार देशमा किन आतंक मच्याउन खाजेको छ ?’

उनले सरकारले सूचनासमेत नदिई, बुझ्दै नबुझी व्यवसाय बन्द गर्नु गलत प्रक्रिया भएको बताए । उनले सरकारले स्काउटको जग्गामा व्यवसाय गर्ने ४८ परिवारलाई व्यवसाय गर्न नदिएर आतंक फैल्याएको आराेप लगाए ।

पूर्वराज्यमन्त्रीसमेत रहेका खड्का संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

सम्बन्धित खबर