‘कलेजी खाने’ लाम्बारी हियारी लोकभाका

‘कलेजी खाने’ लाम्बारी हियारी लोकभाका

नवीन खड्का

हियारी लोकभाकाका दुई भेद हुन्छन् । जसमध्ये पहिलो ‘लाम्बारी हियारी भाका’ र दोस्रो ‘ठाडोभाकाको हियारी’ । यी दुवै लोकभाकाहरू विलम्बित शैलीमा गाइन्छन् । यी लोकभाकाहरूमा नृत्य गरिँदैन । वाद्यवादनमा पातबाजा र सुसेली मात्र प्रयोग गरिन्छ ।

जुवारी शैलीमा गाइने यी दुवै लोकभाकाहरू अरूण, संखुवा, सभा र हेंवा खोलाले सिञ्चित गरेका ग्रामीण पहाड़ी भूभागहरूमा मात्र गाउने गरिन्छ । ‘लाम्बारी’को अर्थ लम्बिएको, तानिएको या गीतमा धेरै तुक्काहरू जोडिएको भन्ने हुन्छ ।

नेपाली लोकबोलीमा ‘माया बस्ने ठाउँलाई’ हियो भनिन्छ । ‘हियो’ भनेको कलेजो हो । ‘हियारी’को अर्थ ‘विरहले कलेजी खाने’ या ‘चिरा-चिरा पार्ने’ या ‘विरहले आत्मादेखि नै धुरूधुरू रूवाउने’ हुन्छ ।

यो मौलिक लोकभाका दाउराघाँस, मेलापात, गोठाला-खेताला जाँदा युगल जोडीहरूले गाउने गर्दछन् । जोडी नहुँदा प्रस्तुत गीतमा संयोजन गरिएका दुई लयमध्ये अघिल्लो लय महिलाहरूले मात्र गाउँछन् भने पछिल्लो लयमा पुरूषले ‘जाऊँ बरू डॉडै काटी, लाऊँ माया सिक्रेबरमा’ जस्ता थेगोहरू जोडेर गाउने गर्दछन् ।

गीत गायनमा हार-जीत हुन्छ । त्यस क्रममा पुरूषले जिते महिलालाई पत्नी बनाएर लैजान्छन् । महिलाले जिते पुरूषलाई पति बनाएर लैजान्छिन् । पहिला–पहिला गाउँघरतिर यसरी लाम्बारी हियारी र ठाडोभाकाको हियारी, लेकाली ठाडोभाष, औलको ठाडोभाष, हाक्पारे आदि भाकाहरूमा जुवारी खेलेर विवाह बन्धनमा बाँधिएका जोडीहरू प्रशस्तै भेटिन्थे । परिवर्तित समयसँगै यतिबेला यो प्राचीन मौलिक लोकभाका लाम्बारी हियारी र यस भाकामा खेलिने जुवारी पूर्णरूपमा लोप भइसकेको छ ।

आजभन्दा ५०-५५ वर्ष पहिलासम्म प्रशस्त सुन्न पाइने यो मौलिक लोकभाका जति कर्णप्रिय छ, उति नै कारूणिक पनि हुन्छ । पुरातनवादी संकुचित सोचयुक्त समाजका अगाडि खुल्ला रूपमा आफ्ना मनोभावनाहरू राख्न नसक्ने महिला-पुरूषहरूले दाउराघाँस, मेलापात, गोठाला-खेताला जाँदा यस भाकामा मन खोलेर जुवारी खेल्थे र मन मिले घरजम नै गर्थे ।

खुसीको कुरा, यस लोकभाकाका स्रोत व्यक्ति एवं हियारी भाकाका प्रख्यात लोकगायक श्रद्देय सन्तबहादुर बुढाथोकी (पाखाली बुढाथोकी), खाँदबारी नगरपालिका-३, गुवाबारी, संखुवासभाको विवाह पनि यही लोकभाकामा जुवारी खेलेर भएको थियो ।

यस लोकभाकाका स्रोत व्यक्तिहरू श्रद्देय काका सन्तबहादुर बुढाथोकी (स्वर्गीय), र मेरी ममतामयी आमाकी हितैषी संगिनी श्रद्देय रनीमाया दर्जी (स्वर्गीय) खाँदबारी, नगरपालिका-३, मंगलादेवीस्थान, संखुवासभा हुनुहुन्छ । यस गीतमार्फत उहाँहरूको सुनाम, सुकीर्ति युगौं युगसम्म नेपाली लोकजीवनमा फैलिई रहोस्, यही कामना गर्दछु ।

(खड्का अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र, नेपालका संस्थापक अध्यक्ष हुन् ।)

सम्बन्धित खबर