कोयोङ याक्खा : एक अध्ययन
याक्खा जातिभित्र कोयोङ थर :
आजको नेपालको पूर्वी क्षेत्रमा अवस्थित धनकुटा, संखुव़ा–सोव़ा र तेह्रथुम जिल्लामा याक्खा जातिको आदिमकालदेखि बसोबास भइआएको मानिन्छ । सुनिती कुमार चटर्जीको अनुसार अरूण उपत्यका एक किरात जातिको उद्गम स्थल हो (किरात जनकृति शोधपत्र, प्रकाशक शिशिर कुमार मित्रः१९७३) भनी उल्लेख गरेका छन् । त्यो किरात जाति भनेकै याक्खा जातिलाई भनिएको हुनुपर्छ । संखुव़ा–सोव़ाको तुम्मोकमा ढालफाँड गरी बसोबास गर्ने यो ‘कोयोङ्’ पनि ती किरात मध्ये याक्खा जातिको एक थर हो । किरात राई र याक्खा समुदायमा थरलाई पाछा या छोङ भन्ने गरिन्छ । याक्खा भाषामा पुरूषवाचक ‘कोयोङ्बा’ र महिलावाचक ‘कोयोङ्मा’ शब्द प्रयोग गरी बोलाउने गरिन्छ । तर आज पुरूषप्रधान समाजको प्रभावबाट ‘कोयोङ्बा’ मात्र भन्ने गरिएको पाइन्छ । याक्खा जाति को हुन् ? यसमा धेरै अध्ययन र मत पाइएका छन् । इतिहासकार धरणीधर दाहाल (दाहालः२०५३:१६), दुर्गाहाङ याक्खा बाट ‘याक्खा’ शब्द र पौराणिक ‘यक्ष’ शब्द एकै भएको मत राखेका छन् । धेरै समय काल र परिस्थितिपछि पनि अर्थ र शब्दसंरचनाको हिसाबले यी शब्दहरू एकै हुन् भन्ने देखिन्छ । किनकि ‘याक्खा’ शब्द र यसको अस्तित्व, शब्द–संरचनाको साथै, शाब्दिक अर्थ र उच्चारण, इङ्गित भएका हिमाली जाति, अवैदिक शिवका अनुयायी, खोला–पोखरी, वन–जंगलको स्वामी र संरक्षकको रूपमा देखाइएकामा ‘यक्ष’ शब्द र यसको अस्तित्वसँग समानता देखिन आउँछ । याक्सा (टाँढेघर)मा बस्ने भएकोले, लोहरूङ वा याक्थुङका चेलीका सन्तान भएको आदि इत्यादिको अस्पष्ट किंवदन्तीमा तुक देखिन्न । विदेशी इतिहासकारले ‘यक्ष’ शब्दलाई अंग्रेजीमा ‘Yaksha’ नै लेख्नुपर्ने बाध्यता भई, यसको उच्चारण नेपाली भाषीले भने ‘याक्सा’ उच्चारण गरिने भएबाट पनि त्यसरी अन्यथा हुन गएको हो । लोहरूङ जाति र भाषीलाई (आज याक्खा भाषी भनी मान्छन्) पनि अन्य खम्बू राईहरूबाट ‘याक्खा’ नै भनिने भएबाट पनि लोहरूङको चेलीको मिथकसँग याक्खाको उत्पत्ति मेल खाएको देखिन्न । स्वयं याक्खा भाषा र प्राचीन किरात भाषामा ‘/या/अन्न’ (देव़ान र लिङ्खाः) र ‘/ख्य/रूङ्ने वा धनी(मालिक)’ (नेवारीमा /बुँख्यँचा/खेतबाली रूङालु) अर्थात् ‘या–ख्य’ अर्थात ‘याख्खा/याक्खा’ जसको अर्थ ‘अनाजको धनी’ हुन आउँछ । यसरी यो ‘याक्खा’ शब्द अनाज, वनजंगल, जलजमिन, सम्पत्तिसँग सिधा सम्बन्ध देखिन आउँछ । शिकारी युगमा जल–जमिन, वन–जंगल, जीव–जन्तु र कृषि युगदेखि अनाज, घरपालुव़ा जन्तुसमेत सम्पत्तिमा थपिए । हिन्दू ग्रन्थहरूमा उल्लेख भएका धनाढ्य कुवेर, शिवगण ती यक्ष आजका याक्खा जातिका पुर्खा हुन् वा हैनन् त्यसरी पौराणिक कथासंग जोड्न मिल्छ मिल्दैन त्यो छुट्टै बिषय छ । तर धनीमानी, स्व़ामीको अर्थमा समेत लिइएका ती संस्कृत शब्द ‘यक्ष’ र पाली शब्द ‘यक्ख’ यो किरात शब्द ‘याक्खा’ बीच भने सम्बन्धित छ भनी मान्नु पर्ने हुन्छ । किरात भाषा समूहमा ‘अ’कारलाई नै ‘आ’कार उच्चारण गरिने, वर्ण उच्चारणमा आकारान्त उच्चारित हुने भएबाट पनि पाली भाषामा ‘यक्ख’, चिनी–तिब्बती भाषा समूहमा ‘याक्खा’ भएको हुनु पर्छ । यसरी ‘चिनी–तिब्बती’ भाषा परिवारको प्राकृत शब्दमा नै यसको अर्थपूर्ण व्युत्पत्ति (‘या–ख्य–अनाजको धनी’) भएकोले, यो प्राचीन प्राकृत शब्द अन्य प्राचीन भाषाहरू (संस्कृत, पाली)मा पनि प्रयोग भएको मान्नुपर्ने हुन्छ । त्यसरी पनि लिम्बू–नेपाली–अंग्रेजी शब्दकोषमा (चेम्जोङः२०६७:३६१) ‘याक्खाबा’ को अर्थ, ‘धनी’, ‘सम्पन्न’, ‘समृध्द’ भन्ने अर्थमा लिईएको पाईन्छ । हिन्दू ग्रन्थहरूमा पनि ‘धनाढ्य कुवेर’ र ‘पाण्डवहरूलाई विद्व़तापूर्ण प्रश्नहरू सोध्ने जल–जमिनको मालिक’ ‘यक्ष’, यक्षगणको उल्लेख भएका पाईन्छन् ।
किरात राई समुदायमा पुर्खाको संघा सामे, सामेक, सामेतको प्रचलन र सभ्यता भए जस्तै याक्खामा पनि सामेत्लिङ हुने हुन्छ । यो महिला पुरूष दुवैलाई बुझाउने अर्थमा अलग–अलग हुने हुनाले बिशेष हुन्छ । तसर्थ किरात राई समुदायसँग पुर्ख्यौलीको हिसाबले याक्खा जाति नजिक देखिन आउँछ । वान्तवाहरूका र मेवाहाङका केही सामेहरू याक्खाको(तुम्याहाङ,यालावा,सुमाहाङ,पुलुंहाङ आदिका छोङ्छामी/युङ्खामा) सामेत्लिङसँग मिल्दोजुल्दो (छाङ्छा÷मुक्मिन र अन्य वान्तवाको छाङ्छामी र छेङ्खामा, मेवाहाङको साक्छामी र छेङ्खामा) देखिन्छन् । धार्मिक–सांस्कृतिक हिसाबले भने लिम्बू समुदायसँग नजिक छ । थर, उपथरलाई राईहरूमा ‘पाछा’ भने जस्तै याक्खामा ‘छोङ’ भनिन्छ । यस कोयोङ छोङको सामेत्लिङ महिलाको ‘केखामा’ र पुरूषको ‘काङ्छामी’ हो । यी सामेत्लिङ कोयोङ बाहेक अन्य याक्खा थरहरू लुम्बा, याएम्बा र याङ्खिम्बुको (याक्थोक भने वि.सं.२०७२ साल बैशाख १३ गतेमा कोयोङ छोङ्मा समाहित भएको) पनि भएको पाईन्छ । इलुङ्बाङ/उलुङ्बाङ र हेङ्बा/हेवाइछाको भने पुरूषको ‘खुङ्छामी’ र महिलाको ‘व़ेखामा’ हो । शाब्दिक हिसाबले जो कोयोङको सामेत्लिङसँग नजिक देखिन आउँछ । यस कोयोङ्/कोयोङ्बा छोङको पुर्खा, संखुव़ा–सोव़ा जिल्लाको माम्लिङमा देखा परी, ‘तुम्मोक्’ सामेत्लिङ भएको ताम्फोक गाउँमा मानव बसोबासको शुरूदेखि नै ढालफाँड गरी बसोबास गरी आएको मानिन्छ । मिथकअनुसार ती पुर्खा ‘फालाबोङ’ र ‘लालाबोङ’ दुई बाबु-छोरा (दाजु–भाइ ?) थिए, उनीहरू डाँडापारि पोक्लाबाङ, पोन्थाक, कोयाखोला क्षेत्रबाट आएका हुन् । प्रचलित एक किंवदन्ती अनुसार दुम्सीको सिकार गरिँदा गाउँमै आगलागी भएर उनीहरूका परिवार (बाबु–आमा)सहित सबै लखेटाईमा परी डाँडाव़ारि आई माम्लिङ भेगमा पर्ने एक ओडारमा लुकी बसेका थिए । एक कोयोङ वंशियार र जानकार स्व. साम्बा महागुरू जयभद्र(पूर्ण) जिमी, मिथक संकलक इन्दिरा जिमीका अनुसार आज पनि माम्लिङ भेगमा पर्ने त्यो ओडारलाई ‘याक्लारूप लुङ्दाङ’ भनिन्छ, जसको अर्थ ‘छपाछप काटिएको ओडार’ हुन्छ । किम्वदन्तीअनुसार डाँडापारि पोक्लाबाङ क्षेत्रबाट सामल–तिमल नै बोकी आएका लडाकुहरूले लुकीछिपी आइबसेका ती दाजु–भाइका परिवारलाई पहिल्याई, त्यो ओडारलाई घेरा हाली लुकेकालाई छपाछप काटी, मारी, ओडारमा पसेकालाई आगो लगाइदिए । त्यो घेराबाट एक परिवार सदस्य आफ्नो सानो भाई काखीमा च्यापेर भीरबाट फाल हानेर भागेर बाँचे । बाँचेका ती बाबु-छाेरा (दाजु–भाइ ?) फालाबोङ(फालोबोङ) र लालाबोङ (लालोबोङ) थिए । हालसम्म याक्खा जातिभित्र पर्ने आजका कोयोङ् छोङ र यी कोयोङ्बाका पुर्खा नै ती बाबु-छाेरा (दाजु–भाइ ?) देखिन आएका छन् । किंवदन्ती अनुसार ढालफाँड गरी बसोबास गर्ने तुम्मोकको पहिलो बासिन्दा नै तिनै कोयोङ्बा बाबुछोरा(दाजु–भाइ?) थिए । कोयोङवा याक्खा समाज केन्द्रीय समितिको पहिलो अधिवेशनबाट भने बाबुछोरा मान्ने निर्णय गरेको छ ।
‘कोयोङ्’ शब्दको व्युत्पत्ति र छोङको उत्पत्ति :
यस शब्दको व्युत्पत्ति कसरी भएको हो भनी सुक्ष्म रूपमा अध्ययन हुनुपर्ने भयो, यहाँ छलफल गरिने छ । यस शब्दसँग मिल्दोजुल्दो अर्थात् अध्ययन गरिनुपर्ने सम्बन्धित शब्दहरू अरू पनि हुनसक्छन् । पहिलो मूलघर अर्थात् मूल धूरी अर्थ लाग्ने ‘कोयुँ’ शब्द (देवान र लिङ्खाः५९) वा आगोले पनि नडढेको अर्थात् ताँबा या धातु अर्थ लाग्ने ‘खोइङ्’ शब्द (रामजीः२०६३:३७) वा कोयाखोलाको क्षेत्रबाट विस्थापित भएकाले ‘कोया–ओङ’ वा कोयाखोलामा जाल हान्ने मान्छेको अर्थमा ‘कोया–योङ’ (‘योङ–जाल हान्ने’–चेम्जोङः२०६७:३८२) इत्यादिलाई पनि लिन सकिन्छ । अरू यो कोयोङ व़ा कोयोङ्बा छोङको इतिहास खोज्नलाई यसै ‘कोयोङ’ शब्दको व्युत्पत्तिबारे पनि अध्ययन हुन जरूरी छ । ‘कोयोङ’ एक गैरसंस्कृत अर्थात् चिनी–तिब्बती भाषा परिवारका एक शब्द हो । कोयोङ्बा ‘बा(पा)’ प्रत्यय लागेको (अरूबाट बोलाउँदा बोलिने, वान्तबा, याक्थुङबा, आदाङबा जस्तै) सम्बोधनसूचक सहितको पुरूषवाचक, जातिवाचक शब्द हो । तसर्थ ‘कोयोङ’ शब्द मूल शब्द हो । ‘कोयोङ्बा, कोयुँबा/कोयुङ्बा’ भनिएमा पुरूषवाचक मात्र सम्मानसाथ बोलिने शब्द भनी बुझिने हुन्छ भने महिलालाई ‘कोयोङ्मा’ भनिन्छ ।
यो कोयोङ शब्दलाई कसैले ‘कोङ्कु(डाँडा), कोङ(मामली) शब्दहरूसँग पनि जोड्न सकिने, कोही डाँडापारिको ‘कोया’ खोलासँग जोड्न सकिने विभिन्न मत पनि आएको पाईन्छन् । ‘कोइ(डाँडा)’, ‘ओङ(नघाई)’, मिलेर ‘कोइओङ– डाँडा काटी आउने’ भन्ने अर्थमा पनि नामकरण भएको हुनसक्छ । यी डाँडा र खोलाको शब्दसँग जोडिनको लागि यिनका पुर्खौली बसोबास डाँडापारि, कोयाखोलातिर नै भएको मान्नुपर्ने हुन्छ । परिवारै लखेटाईमा परेको किम्वदन्तिले बसोबास डाँडापारिनै भएको बुझाउँछ । दुम्सीको सिकारको कथा जोडिएको मात्र पनि हुनसक्छ । ‘कोया’ खोलाको क्षेत्र छाडेर आएको यो खोलाको नामसँग जोडेर अध्ययन गरिन पनि सान्दर्भिक हुन्छ । किनभने किंवदन्ती अनुसार डाँडापारिबाट लिङ्खाहरूको भेगमा विस्थापित भई तुम्मोक जंगलमा ढालफाँड गरेर बसोबास गरेको भन्ने छ । खोलासँग जोडिएर आएको जातीय नामहरू पाइन्छन् (जस्तैः फाङ्दुव़ाली, सुनुव़ार, कोचे, मेचे) । यसको साथै कोयी भाषा बोल्ने पूर्वी नेपालकै एक किरात राई उप–जाति ‘कोयु’, नाछिरिङ राई भाषामा कारबाही, सजाय भएको अर्थमा ‘कोयोवा’ शब्द हुने (नाछिरिङ–नेपाली शब्दकोशःटेक नाछिरिङः२०६४:११), द्रविडियन भाषा बोल्ने उडिसाका ‘कोया’, बुगुन भाषा बोल्ने अरूणाञ्चलका ‘खोया/खोयाराव़’ (पश्चिम नेपालतिरबाट गएका एक जातिमाथुर, विद्यार्थी और सिंहः१२८,१२९) सम्म, यो ‘कोयोङ’ छोङ(एक याक्खा थर)को सम्बन्धबारे केलाउनु पर्ने हुन्छ ।
कोयोङ पुर्खाको मानव शास्त्रीय, शाब्दिक सम्बन्ध उपरोक्त शब्दहरूसँग छ/छैन त्यसको साथै भाषिक अध्ययन भएमा फलदायी हुने नै छ । याक्खा भाषामै प्रयोग हुने ‘खोइङ (ताँबा)’, ‘कोय(सारा/दलिन)’, ‘कोयुँ (मूलधुरी)’ भने शब्द संरचना र अर्थले यी पनि निकै नजिक देखिन आउँछ । कोयोङको मिथकसँग, भाषिक शब्दरचनालाई ख्याल गरिँदा ‘कोया–ओङ’(कोयाखोलामा जाल हान्ने), ‘/कोयुँ/मूलधूरी’ बुझाउने र आगोले पनि नखाने धातु ताँबालाई बुझाउने शब्द ‘खोइङ’ (लिम्बू भाषामाः खोःङ्इङ) यी सबै नजिक देखिन आउँछन् । किंवदन्ती अनुसार प्रांसगिक भएकाले, ‘खोइङ’बाट ‘आगोले नखाने धातु ताँबा’को विशेषण लागेर नामकरण भएको पनि हुनसक्छ । ‘ख’ र ‘क’ बीच विभेद छैन, ‘कोइङ/खोइङ’ अर्थात् ‘धातुको ज्यान’ भन्ने अर्थमा ‘कोइङ’ र ‘कोइङा (/कोइङ–आ/कोइङ हुँ)’ नामाकरण भएको पनि हुनसक्छ । मिथकअनुसार पनि मेल खाने, ओडारमा आगो लगाएको आगोले पनि नढडेको ताँबा धातु जत्तिकै अक्षय व्यक्तिको रूपमा लिईएको देखिन्छ । ‘खोइङ’ र ‘कोइङ’ शब्दबीच भिन्नता छैन । अर्को याक्खा शब्द ‘कोयुँ(मूलधूरी)’ शब्दबाट ‘कोयुँङ’ हुँदै ‘कोयोङ’ भएको पनि हुनुपर्छ भन्ने तर्कमा तर्क पनि उत्तिकै गर्न सकिन्छ । जसको मिथकसँग पनि मिल्ने ‘पहिलो घर’ अर्थात ‘मूलघर’ भनिएको बुझिन्छ । यसरी ‘कोयुँ’, ‘कोयुङ’ शब्द जसको अर्थ ‘मूलधूरी वा मूलघर’ हुने प्राकृत शब्दबाट ‘आ’ व़ा ‘बा’ प्रत्यय लागेर ‘कोयोङा’, ‘कोयोङ्बा’, ‘कोयुँबा’, ‘कोयुँङ्बा’, (अर्थात् ‘मूलघरे’) शब्द छोङ (थर)को रूपमा प्रयोग भएको मान्नुपर्छ । अरूद्वारा भनिदा ‘कोयुँ–बा/कोयुङ्बा (कोयुँ पुरूष)’, ‘कोयुँमा/कोयुङमा (कोयुँ महिला) भनिएको र बुझिने हुन्छ । आफूले भनिदा ‘कोयुङ’, ‘कोयुङा’ बोलिने गरियो भनी, एक मिल्दो, अर्थपूर्ण र व्यवहारिक मत राख्न सकिन्छ । नामकरण यसरी भएको मान्ने हो भने ‘कोयुँ’ व़ा ‘कोयुङ’ वा ‘कोयोङ’ शुद्ध हुने (सम्बोधन गरिँदा भने कोयोङ्बा) उच्चारित गरिनु पर्ने हुन्छ । यसरी ‘कोयोङ’, ‘कोयोङा’ र ‘कोयोङ्बा’ तीन रूप देखिन आउँछन् । यदि पश्चिममा ‘कोयु’ राईदेखि अरूणाञ्चलको ‘खोया’ (खोयाराव/खोयाराय/खोयाराई)सँग समेत जोडेर अध्ययन गरिनुपर्ने देखिन्छ । किनभने, यसरी कपटपूर्ण बाजीमा हराई अन्य जाति (बिशेष नागालाई) विस्थापित गरिएको कथन, किरात राईहरूमा धेरै पाइन्छन् । भूईंफुट्टा जाति (आदिवासी) भएको कुरा सबैतिर आउँछन् । ती को थिए त ? ती बुगुन जाति पनि भनिने ‘खोया’ जाति कहाँबाट विस्थापित भए, तिनका सबै वंश उतै विस्थापित भएका हुन् त ? भनी उठेको जिज्ञासामा किरात इतिहास लुकेको छ, जसमा यो कोयोङ् उपथरको पनि समावेश हुन सक्छ ।
‘कोयोङ्बा/कोयुँमा–बा/कोयुङ्बा शब्दमा जोडिएको ‘वा/बा’ प्रत्यय वास्तवमा अर्धस्वर वर्ण वा व्यञ्जन वर्ण तलथोप्ली ‘व़’को ‘व़ा’ अर्थात पानी, पञ्छी र कीट–पतंग अर्थमा बुझाउने, भनिने ‘व़ा’ उच्चाहरण नभई, व्यक्तिवाचक, जातिवाचकमा प्रयोग हुने ‘पा/बा/वा’ हो । जसको उच्चारण (‘बाटुलो ब’को उच्चाहरण हुने) ‘पा’ जस्तै समानअर्थिको ‘बा’ उच्चारित हुने हुन्छ । याक्खा भाषामा प्रयोग हुने ‘पा/वा’ र नेपालीको अर्धस्वर वर्ण ‘व़ा’ को प्रयोगमा आज धेरै कठिनाई भइरहेको छ । यो समस्या भारतोपेली भाषाहरूमा देखिन्छन् । कतै ‘व’ लाई पूरै स्वरवर्णको रूपमा कतै व्यञ्जन वर्णको रूपमा लिइएको पाईन्छ । आज नेपाली भाषामा तलथोप्ली ‘व़’ को आवश्यकता भए पनि आजकलको शब्दकोषमा पाईन्न । त्यस्तै, किरात भाषाहरूमा ‘बा’ को आवश्यकता भए तापनि भाषा शब्दकोषहरू (याक्खा भाषा शब्दकोश, लिम्बू भाषा शब्दकोश)मा एक छुट्टै वर्णको रूपमा पाईंदैन । चिनी–तिब्बती भाषा परिवारमा त ‘व़ा’ को धेरै हुने भएबाट यसलाई बचाई राख्नु पर्ने हुन्छ । ‘व़ा’ र ‘बा/बो’ को उच्चारण हुने शब्दहरू शब्दकोष, मुन्धुमहरूमा पनि उल्लेख भएका छन्, जस्तैः–व़ाबाक, व़ाबुक, व़ाबेन, व़ाइङबा, साम्बा/छाम्बा, पा, इच्छापा, सोक्पा, सोङ्खुव़ा, सोखाङ्वा, खिबाक, लुङ्बोङ्सा, खाम्बोङ्सा आदि । बाटुलो ‘ब’ जस्तै–जस्तै उच्चारण गरिने तलथोप्ली ‘व़’ आजकल बिटुलिएको छ, लोप नै बनाइएको छ । अर्धस्वर वर्ण ‘व’को प्रयोग गराईमा आज भर पर्नु कठीन भएको छ । विदेशी विद्वानहरूबाट समेत यो अर्धस्वर वर्ण ‘व’लाई बिभिन्न संक्रमित भाषिक उच्चारणमा पनि लिइदिएको पाइएकोले अझै भ्रम सृजना भएको हो । सही उच्चारित हुनुपर्ने त ‘बा’ हो, उदाहरणका लागि आपा/आबा (आवा ?), शेर्पा, खाम्पा, डुक्पा, सोक्पा, साबा (सावा ?), फेदाङ्बा, याक्थुङ्बा, याक्खाबा, खाम्बोङ्बा, बान्तबा, याबा (यावा ?) इत्यादि ।
कोयोङ्का पुर्खाका नाम फालाबोङ र लालाबोङ मौलिक नाम :
किरात भाषा तथा मुन्धुममा प्रत्ययको रूपमा आइरहने शब्द ‘बोङ’, ती दुवै दाजुभाइका नामसँग पनि जोडिएर आएको छ । कुनै बेला संखुवा–सभाको एक गाउँ, हिङ्सि गाउँमा ‘खाइबोङ’ भन्ने व्यक्ति थियो, ऊ असाध्यै खन्चुवा थियो । प्राकृत रूपले यो ‘बोङ’ शब्द, मुन्धुममा आउने हुन्छ, ‘खाम्जिरि खाम्बोःङ्वा थाप्तु, लुङ्जिरि लुङ्बोःङ्वा थाप्तु’ (ढुङ्गामाटोकै सन्तान) शब्दावलीमा (माबुहाङ र लावतीः२०७८:१२,१३) धेरै आउने गर्छ । अर्को प्रचलित लिम्बू ऐतिहासिक शब्द ‘थिबोःड् याक्थुङ’ (दश लिम्बुवान) र लिम्बू भाषाको सांख्यिक उच्चारणमा (थिबोङ थिक्, थिबोङ नेत्, थिबोङ सुम् आदि) मा पनि यो ‘बोःङ’ प्रत्यय आएको पाउँछौं । लिम्बू भाषामा ‘कुबोःङ’ भन्नाले जन्म वा उत्पत्ति भन्ने बुझिन्छ (चेम्जोङः२०६७:६५) । त्यस्तै अन्य शब्दहरू ‘ते ओङ् सि’, ‘बो–ओङ् सि’ पनि प्रचलित छन् । रोङ भाषामा धर्मगुरूलाई ‘बोःड्थिङ’ भनिन्थे, गुरू पद्मसम्भवसँग शास्त्रार्थ गर्ने बोःड्थिङ थिकुङ आदिक थिए भने, चौधौँ शताब्दिको अन्त्यतिर तिब्बतमा महायान बौद्धमार्गीबाट पराजय भई खाम प्रदेशका बज्रयानी राजा खेबुम्सा (खेबोङ्सा) आफ्नो देश त्यागेर एक भिक्षुको रूपमा सिक्किमका छुम्बी उपत्यकामा आएका थिए (उनैले छलकपटपूर्ण रोङ र चोङको सिक्किम गणराज्य, चोग्याल राजवंशमा परिणत गराए) भन्ने सिक्किम इतिहासमा पाइन्छ (दाहालः२०६५:३२:३३) । तसर्थ ती कोयोङ्बा दाजुभाइका नाम फालाबोङ र लालाबोङ विशुद्ध किरात भाषा समूहका प्राकृत तथा मौलिक शब्दमा देखिन आउँछ । अझ लिम्बू समुदायमा यसप्रकारको नाम धेरै पाइन्छन् ।
*ताप्लेजुङ तमोरखोला भेगमा माबोहाङ(खेदुवाहाङ) र लेक्वा वंशबीच पुस्तौं लडाईं भएको किंवदन्ती छ । माबोहाङ राजाकी चेली यामलक्वाकी पति थिबोङबाहाङ समेतलाई मारे, उनका छोरा याङलिगेक(पतङबाका पुर्खा)लाई छोरी बनाई बचाईन् । पछि तिनैका दुई छोराले साङदुम्बे र व़ाङदुम्बेको सहयोग लिई परास्त गरे, सम्झौता गरी आफ्नो जग्गा फिर्ता गरे (माबुहाङ र लावतीः२०७८:५३) । बोङबाट ‘बाङ’ पनि प्रयोग भएकाहरू छन् (जस्तैः काङबाङ, चोङबाङ, कुरूङबाङ आदि) । यी कोयोङ पुर्खाका नाम फालाबोङ र लालाबोङ नभई फालोकाङ र लालोकाङ थियो भन्ने पनि पाईएको छ । किम्वदन्तिसंग सान्दर्भिक, यसमा ‘काङबाङ’, ‘काङसोरे’ युध्द, लडाइँ र सेनापतिसंग सम्बन्धित शब्द समेत हुन्। याक्खा भाषामा ‘/काङमा/लडाइँ गर्नु, /काङसोरे/योध्दा’ हुने (देवान र लिङ्खाःपृ६७) हुन्छ । राणाकालीन पल्लो किरात लिम्वुवानका लागि जारी गरिएका कस्य पत्रहरूमा जङगबहादुर राणा र वीर शम्शेर को संस्कृत भाषाका विरूदावलिमा सिनो–तिब्बती भाषा परिवारका सम्मानित शब्दहरू ‘थोङ लिङ पिम्माको काङबाङ स्यान’ समेत समावेश गरिएको छ । (इङनाम/२०७७पृ.७६७,८०७) यसरी ती पुर्खाहरूका नाम लालोबाङ, फालोबाङ या लालोकाङ, फालोकाङ पनि हुन सक्ने माथिका केही प्रचलनको उदाहरणबाट देखिन आउँछ ।
कोयोङका पुर्खाका नाम फालाबोङ र लालाबोङ कसरी नाम रहन गयो भन्नेतर्फ केही छलफल गर्नुपर्ने हुन्छ । सिनो–तिब्बतन भाषा समूहको प्राकृत शब्द, ‘बाङ/पाङ’ ले घर–घडेरी, गाउँ, वस्ती भन्ने बुझाउँछ भने वंश, सन्तान, मान्छे अर्थ बुझाउन ‘बोङ’ शब्दको प्रयोग (कुबोङ पनि) भएको पाइन्छ । घर, स्थान, गाउँसँग जोडिएर आएका शब्दहरू जस्तै पाङ्च्याङ्(याक्खाको घरपूजा), पाङ, हाङपाङ(आठराई क्षेत्रको गाउँहरू, ताप्लेजुङ), पाङ्मा (संखुव़ा–सोव़ा जिल्लाको एक गाउँ), पोक्लाबाङ (तेह्रथुम जिल्लाको एक गाउँ), चुङबाङ (धनकुटाको एक गाउँ) खरबाङ, बुर्तिबाङ (बागलुङ जिल्लाको गाउँहरू), भालुबाङ (दाङ जिल्लाको एक ठाउँ), पाङा (कीर्तिपुर, काठमाडौं) आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ । त्यस्तै ठाउँको नामहरूमा ‘बुङ’ को प्रयोग भएका छन् । ‘बोङ’ शब्दको प्रयोग भने, ‘खाम्जिरी खाम्बोङबा/खाम्बोङसा, लुङजिरी लुङबोङबा/लुङबोङसा’ मुन्धुमहरूमा आउने भएकोले, थर पछाडि ‘बोङ शुद्ध हुने देखिन्छ । तापनि ‘बाङ’ को पनि प्रयोग भएको (जस्तैः कुरूङ्बोङ/कुरूङ्बाङ, चोङ्बाङ् आदि) पाइन्छ ।
लालाबोङ र फालाबोङ नामाकरण प्राकृत किरात भाषा र आजका किरात भाषा ‘लाला’, ‘फाला’ र ‘बोङ’ शब्दको वरिपरी देखिन आउँछ । ‘लाला’ शब्दको व्युत्पत्ति ‘काखसँग’ (बुगुन भाषामा, ‘लालावा’–काख,-रिछिङः१९९०:४१) सम्बन्धित देखिन्छ । काख बुझाउने अन्य याक्खा शब्द लाङ्छोक (रामजीः२०६३:११८), लिम्बू शब्द तकलुम्बा (चेम्जोङः२०६७:१५६) भन्दा, बुगुन (खोया) भाषाको ‘लालावा/लालाबा’ शब्द, शब्द संरचना र उच्चारणको हिसाबले आज नेपालीमा प्रयोग हुने ‘लालावाला’ समेत नजिक देखिन्छ । ‘लालावा’ र ‘लाला’ खास फरक नहुने (याक्खा भाषामा एक ठूलो फट्याङ्ग्रालाई पनि ‘लालावा’ भनिने), अझ ‘बोङ’ प्रत्यय लागेर ‘लालाबोङ’ नामाकरण हुनगएको स्पष्ट देखिन्छ । जसको अर्थ ‘काखमा च्यापी बचेको व्यक्ति’ बुझ्नुपर्ने हुन्छ । जुन दाजुले काखीमा च्यापी लुगाले बाँधी आगो लागेको ओडारबाट फाल हानेको मिथकको प्रसङगसँग मेल खान्छ । मुन्धुममा पनि आदिम महिला मुजिङना खेयेङनाकी दुई सन्तान ‘सुसुबेङ लालाबेङ’ (सुसुवेसा लालावेसा) को उल्लेख (माबुहाङ र लावतीः२०७८:१४,१५) भएको पाइन्छ । ‘लाला’ शब्द बालकको अर्थमा लिइएको देखिन्छ । अब ‘फालाबोङ’ को नामाकरण ‘फाल हानी बचेको व्यक्ति’ भनी बुझ्न सकिन्छ । ‘फाल’ शब्द, ‘हामफाल्नु’ पनि प्राकृत किरात शब्दबाट आएका आगन्तुक शब्दहरू हुन् । धानबाली उठाएपछिको गिलोगिलो खेतको गरामा ‘फालहानी खेल’ खेल्ने चलन किरात समुदायमा प्रचलित छ । यसरी भाइलाई काखीमा च्यापेर फाल हाली, जीउज्यान जोगाउने ती दाजुको नामाकरण ‘फालाबोङ’ रहन (‘फाल’–उच्चारणमा ‘फाला’) गयो । यी दुई दाजुभाइ जानकारीमा आएसम्ममा कोयोङका पहिलो पुस्ता हुन् । कही कतै वंशावलीमा कसैले सामे, सामेत्लिङलाई पहिलो पुस्ताको रूपमा लिई पुस्ता नै जोडेर ल्याइएको पाइन्छ, तर त्यसरी पुस्ता र पुर्खा टुङ्ग्याई हाल्नु सही हैन । त्यो सामेत्लिङ शब्द नामभन्दा फरक पनि हुनसक्छ । हामीलाई जानकारी भएको पुस्ता ती सामेत्लिङ र अन्यको बीचमा पनि त अरू कोही पुस्ता हुन सक्छन् । कोयोङको वंशावलीमा पनि अध्ययन हुन बाँकीको रूपमा खाली छाडिनु आवश्यक देखिन्छ ।
कोयोङको सामेत्लिङ :
किरात राई समुदायमा सामे/सामई/सामेक/सामेत भनी याक्खा समुदायमा सामेत्लिङ/सामेअ्लिङ/सामेछोङ भनी चलिआएको विभिन्न मौलिक नामलाई पुर्खाको संघाको रूपमा लिइने गरिन्छ । खासमा यसमाथि गहन अध्ययन हुनै बाँकी देखिएको छ । यो वैदिक सनातनी समुदायका गोत्र जस्तै हो भन्ने गरिन्छ । विश्वका जाति समूहमध्ये महिला र पुरूष दुवैको लिने यो परम्परा किरात समुदायमा विशेष देखिन आएको छ । यसरी ‘कोयोङ’ वंश, याक्खा जातिभित्र एक अलग सामेलिङ सहित एक अलग छोङ(थर) अस्तित्वमा आएको हो । जसका महिलाको ‘केखामा’ र पुरूषको ‘काङ्छामी’ अलग–अलग सामेलिङ मानिने परम्परा छ । यसरी ‘कोयोङ्बा’ भनी अरूबाट सम्बोधन हुने, आफूले भने ‘कोयोङ’ वा ‘कोयोङा’ भनी चिनिने याक्खाको एक छोङ वा थर मानिन्छ । अन्य खम्बुवानी किरातहरूमा यस सामेलिङ/सामेत्लिङलाई ‘सामे’, ‘सामइ’ ‘सामेत्’ वा ‘सामेक’ भनिने गरिन्छ । लिम्बू समुदायमा ‘मिङ्स्रा’ भनिन्छ, महिला पुरूषको अलग अलग भने पाईन्न । सुनुवार, दनुवार समुदायमा भने मौलिक संघामा यसरी पाईन्न ।
कोयोङको सामेलिङ महिलाको ‘केखामा’ र पुरूषको ‘काङ्छामी’ हो । यो कहीँ, केहीबाट व्युत्पत्ति भएको हुनुपर्छ । किरात भाषा परिवारका शब्दहरूमा आएका प्रत्यय ‘मा’ र ‘मी’ भने क्रमशः महिलावाचक र पुरूषवाचक हुन् । ‘केखामा’ सामेत्लिङको व्युत्पत्तिको सन्दर्भमा छलफलकै रूपमा तुम्मोक छेउकै(पूर्व तर्फ बग्ने) एक सानो खोलाको नामलाई अघि सार्न सकिन्छ । ‘केखाअ्वा होङ्मा’ तुमोक् पूर्वको खोलोको नाम हो (रामजीः२०६३:२८) । महिलाको सामेलिङ ‘केखामा’ यसै ‘केखाअ्वा’ खोलाबाट रहेको देखिन आउँछ । ती कोयोङ्बा पुर्खा(हरु)ले लिङ्खाकी चेली(हरू ?) बिहे गरेका थिए, जसको सामेलिङ ‘नुघामा’ थियो । तर त्योभन्दा भिन्न ‘केखामा’ शब्दलाई लिईनुमा नजिकैको तिनै ‘केखाअ्वा’ खोलासँग सम्बन्धित राखी महिला पूर्खालाई सामेलिङको रूपमा नयाँ उत्पत्ति गरिएको देखिन्छ । यसरी कोयोङ्मा महिला पुर्खाको मौलिक नाम(संघा) यहीबाट एक नयाँ सामेलिङको रूपमा लिईएको देखिन आउँछ । पुरूषको ‘काङ्छामी’ सामेलिङ भने ‘काङ्छालुम्पा’ शब्दसंग मिल्दो देखिन्छ । याक्खा भाषामा काहिँला भाइलाई ‘काङ्छालुम्पा’ भनिन्छ (रामजीः२०६३:२३) । सामेलिङ ‘काङ्छामी’ शब्द, शब्दरचनाको हिसाबले पनि यही ‘काङ्छालुम्पा’ शब्दसंग धेरै नजिक देखिन्छ । आजसम्म जानकारीमा आएका कोयोङ वंशका पुर्खामध्ये ती दुईभाइ लालाबोङ र फालाबोङका पुर्खाहरू मध्ये बाजे–बराजु, जोकोही पनि ‘काङ्छालुम्पा’ पनि हुनसक्छन् । जसलाई उनीहरू पनि पुर्खा भनी सम्झिने गर्थे भनी तर्कमा तर्क गर्न पनि सकिन्छ । तर, यो ‘काङ्छामी’ शब्द धेरै पूरानो प्राकृत, मौलिक शब्द देखिएबाट त्यसो भनी हाल्न सकिन्न । किरात मुन्दुम र किम्वदन्तिमा आउने ‘केसामी’, ‘नाम्सामी’ प्रसिध्द पात्रहरू पनि छन् । यो ‘काङ्छामी’ शब्दसंग नजिकका अन्य याक्खा छोङ, सामेत्लिङ ‘कोङ्छामी’, ‘खुङ्छामी/कुङ्छामी’, ‘खुङ्छा’ छन् । यी पनि एकार्कामा त्यति पर जस्तो देखिँदैनन् । किरात राई वान्तवा रीदुम मुन्धुम मा पनि मिल्दो शब्द, माङहरूको पूजा गर्ने शब्दावलीमा ‘काङछामाआ अःनुचङ याआङ यङमा सिन्मावो माङ निनाम्मो माङखामी माङ (देख्न नसक्ने, अदृष्य आत्माले सत्य मानी चिनिएको देव, आकाश धर्ती देव)’ भनी (सं.जयप्रसाद मुकारूङः२०(सं.जयप्रसाद मुकारूङः२०५६:४५)५६:४५) भनी उल्लेख भएको छ । दुङ्माली शब्दकोश(२०७९:२३)मा /कोङ्छोङ्वा/गिध्द उल्लेख छ ।
कोयोङको पुर्खा र पुर्खौली:
कोयोङको पुर्खौलीबारे केही जनश्रुतिहरू (महागुरू पूर्ण कोयोङ्बा) छन् । जनश्रुतिअनुसार डाँडापारि पोक्लाबाङ वा पोक्ताक/पोन्दाक वा फेदाप, कोयाखोला(कावेली खोलालाई लिम्बू भाषामा ‘काङव़ा’ भनिन्थ्यो) क्षेत्रतिरबाट परिवार नै भागी आई माम्लिङको ओडारमा लुकीछिपी बसेका एक परिवारलाई पोक्लाबाङबाट एक हुल लडाकुहरू आएर काटी, मारी, ओडारमा आगोसमेत लगाइदिए । ओडारमा लुकेकामध्ये दाजुले सानोभाइलाई च्यापी हामफाली ती दुई बाँचेका थिए । आगो लागेकै ओडारबाट हामफालेर भागी ती दाजुभाइ ज्यान जोगाई त्यतै जंगलमै लुकीछिपी बसे हुन् । पछि स्थानीय लिङ्खा वंशसँग सम्पर्कमा आए । सोधी–खोजी भएपछि ती दाजुभाइले ‘दुम्सीको दूलोमा धुवाँ लगाउँदा, गाउँमा आगो सल्केकाले भाग्न परेको’ भनी बताए । यी अगाडि नै पनि आईसकेको छ । कोयोङको पुर्खा भाग्न परेको, मारिएको, लखेटिएको, आगोबाटै हामफालेर भागेको कुरामा सत्यता छ । त्यो मिथकको परिघट्नाले देखाएको पुरातात्विक ओडार ‘याक्लारुप लुङदाङ’ पनि अझै छ । कसले मारेको, किन मार्नु परेको मुख्य कारण भने अझै ओझेलमै छ । ‘दुम्सीलाई धुवाँ र घर गाउँ आगलागी’ को प्रसँग र कथामा कति सत्यता छ ? त्योभन्दा अरू नै छ कि ? यसमाथि अध्ययन गरिन आवश्यक छ । जीवन रक्षाको निम्ति संघर्ष गरिरहेका ती दाजुभाइले साँचोसत्य कुरा राख्न सके होलान् के त ? आफ्नो असलियत लुकाउन ती दाजुभाइले भनेका कुरा सही होलान् भनेर सजिलै पत्याई हाल्न सकिन्न । भनिएको कुरा अर्धसत्य पनि हुन सक्छ । यसरी थुप्रै प्रश्नहरू उठ्न सक्छन् । ती दाजुभाइ फालाबोङ र लालाबोङ थिए त्यसमा भने कुनै विवाद छैन । यसरी तिनले भाग्नुपर्ने नौवत कसरी आयो ? तिनका सन्तानको समूल नष्ट गर्नुपर्ने, गर्नु चाहने खण्ड किन पर्र्यो ? एक अध्ययनको विषय भने बनेको छ । यसरी भाग्नुपरेको, सन्तानको समूल नष्ट गरेको, गर्न चाहेको कुरा अन्य इतिहासमा, किंवदन्तीहरूमा सुन्न पाइन्छन् । चौदण्डीगढीका अगमसिं राई पनि छद्मनाम गरी बिहारमा लुकेर बसेका थिए । कामदत्तसेनले पनि आङ्बुहाङकी चेली बिहे गरेका थिए, ती रानीले पनि आफ्ना भदैलाई बचाई वंश नष्ट हुन नदिएको किंवदन्ती छ । त्यस्तै माबोहाङ र थिबोङ्बाहाङको किंवदन्ती (माबुहाङ र लावती:२०७८:५३) उस्तै छ । त्यसरी सत्य कुरा बाहिर आएमा जीवन रक्षा हुन नसक्ने हुनाले आफ्ना सही पहिचान र सत्य घट्ना लुकाउनु बाध्यता हुन जान्छ । खेदो गरी आक्रमणमा परी, ती दुई मात्र उम्की बच्न सकेका परिघटनालाई बिश्लेषण गरेपछि भने, ती कोयोङ्का पुर्खा दाजुभाइमा पनि त्यस्तो कुरा लुकाउनु पर्ने अवश्था(नौवत) आएको हुनसक्ने कुरालाई पूरै नकार्न भने सकिन्न । उनीहरूले दुम्सीको शिकारको कुरो मात्र गरी सामान्य रूपमा कुरो टुङ्ग्याई दिएको हुन् भन्ने अर्थमा पनि यसलाई अध्ययन गर्न सकिन्छ । यस्तै कलहको कारण खेदाईमा परी मादी मूलखर्क उम्लिङमा भागी आउनेमा सोदेम्बा पुर्खा ताप्पेसो पेरूङहाङका वंशका एक शिकारी करीब १६ शताब्दीका अन्त्यतिर जैरूङ पनि थिए (किरात सभ्यता अध्ययन केन्द्रःफेसबुक वाल:१५ सेप्टेम्बर २०२२:) ।#
#छौरे सोदेम्बाहरुको उत्पत्ति र थेत्थरे थेयङनाको एक लेखमा (किरात सभ्यता अध्ययन केन्द्रको फेसबुक) ‘कोङवा’ र लडाईँ भई दुईपटक खेदिपठाएको उल्लेख भएको छ । ईमानसिं चेम्जोङका अनुसार आठौँ शताब्दीतिर आठराय (सावा येत्हाङ) र दश लिम्बु (थिबोङ याक्थुङ) बीच भएको ऐतिहासिक युद्धमा छौरे सोदेम्बाहरुका पूर्खा ताप्पेसो पेरूहाङ पनि दश लिम्बुको तर्फबाट सहभागी थिए । ताप्पेसो पेरूहाङको त्यो राज्यमा कोङवा फेयक, योहिम्बाङ (बोङ), तेयुङ र आङबाङ (बोङ) आदि लिम्बुहरू पनि बसोबास गर्दर्थे । त्यस्तै कङवा/खँवा (कोङवा ?) खादी वंश समूहमा समाहित भएको प्रतीत हुन्छ भनी उल्लेख भएको छ । राजा ताप्पेसो पेरूहाङको कैयौँ पुस्तापछि १६ औँ शताब्दीको अन्त्यतिर आवपाहाङ नामका आपुङगी राजाका छ भाई छोराहरू थिए । उनीहरू नै छौरे (छ राय) भनी कहलिए । उनीहरूका एक चेली थेत्थरे थेयङनाकी पति गल्तिले अन्तरे भाइ जैरङले बिषालु तीर हानी मारेकाले उनलाई दाजुहरूले खेदी तीनजूरे डाँडा कटाए, उनी दशमझिया उम्लिङमा बसे जसलाई अङलिङ सोदेङबा पनि भन्ने गरिन्छ । उनै चेलीसँग उत्तरी छथर, हात्तिखर्कतिरबाट आएका खाङबोङबा (खाम्बोङ्बा ?)हरू मध्ये ताङप्पाका मुबेरू तिल्लिङजङको सम्पर्क भएको कान्छा दाजु रूपरङ (छौरेका कान्छो भाइ) ले अरू भाइलाई थाहा दिएर लडाईँ गरे । पोक्लाबाङका सातरे कुरूङबोङहरूको सहयोगले ती तिल्लिजङहरूलाई छथर तिरै खेदाए । मुबेरू तिल्लिङजङ भने अरू लडाकु सहित एक भीरको ओडारमा लुकेको भएकोले आगो लगाई ढुङ्गाले थुनी मारेको भनी मुन्धुम साम्वा रनधोज सुव्कावा, बागबीर सुव्कावाको स्रोत खुलाईएको किंवदन्तीमा उल्लेख छ (स्रोतः मुन्धुम सावा रनधोज सेरेङ चोङबाङः२०७७ र ग्लोबल नेटवर्क अन्तर्वार्ताः२०७९/समेत) ।
के कोयोङ या अन्य याक्खा जाति पनि तम्मोर नदी पाटोका बसोवासी थिए ?
कुनै बेला फेदापथुम र छथरको क्षेत्र डाँडापारि(पूर्व तर्फबाट तमोर नदीसम्म) थियो । छथरको क्षेत्रसंग सिमाना जोडिएको उत्तरमा दशमझिया, दक्षिणमा मुगा–खाल्सा थुम, धनकुटा थुम थिए । कोयोङका पुर्खा पनि, डाँडापारी फेदाप, पोक्लाबाङ, पोङ्थाक, कोयाखोला भेगबाट आएको भन्ने जनश्रुति छ । उबेलाको फेदाप, छथर क्षेत्रका आठरे (आठराई), सातरे (साठराई), छौरे (छराई), थिःबोङ याक्थुङ(दशलिम्बू)को इतिहास छ । यो काल गोरखाली सेनासँगको युद्ध (वि.सं.१८३० तिर गोरखाली सेनाहरू चैनपुर प्रवेश गरेका–माबोहाङ र लावतीः२०७८:१२५,१२६) अघिको हो । त्यहाँको इतिहाससँग कही जोडिन आउँछ कि भनी अध्ययन हुन जरूरी छ । नेपालको किरात इतिहास धुमिल छ, यस क्षेत्रको पनि धेरै जानकारी आउँनै बाँकी छन् । यस क्षेत्रमा याक्खाहरू वा तिनका पुर्खाहरूका बसोबास थियो भन्ने केही संकेतहरू भने देखिएको छ । सम्वत् (वि.सं. ?) को एक कास्यरूक्कामा ‘देसजित राई, तुम्याङजित राई, पाहारसिं मझियाको पुर्खाले चर्ची आएको जग्गा जमीनको साँध तम्बरदेखि उत्तर’ भन्ने परेकोले जग्गा दशलिम्बु सरह भोग गर भनी उल्लेख भएको छ (इङनामः२०७७पृ९१)। । सम्वत् (वि.सं. ?) १९०६ को एक कास्यरूक्कामा ‘लुभुखोलावारि याक्सिजुङ(को) जग्गाका भूईँफुट्टाहरू मारी हाम्रा जिज्यु बाज्याहरूले मोरङ्का सेनका पालादेखि खाई चर्चिआएकोमा ती भाइफुट्टाहरूका वंशका दाजुभाइ पर्ने फेदापा श्रीहाङ षुगा/खुगा(खुङ्गा, खादीको भैयाद ?)ले किपट भनी मुद्दा गरी हाम्रो रामजित सुब्बाले हारेको हो, चित्त नबुझी चैनपुर अमालमा फिराद परी सो अमालबाट हामीलाई दरिदियाको हो’ भनी छथर आलावाङ सुदापको खेवा राई सम्बन्धित लिखतमा उल्लेख भएको छ (माबोहाङ र लावतीः२०७८;१०१) । कुनै बेला लिम्बूहरूलाई पनि राय(राई) शब्द प्रयोग भएको लिखतहरू पाइन्छन् । यसरी ती भूईफुट्टा, भूईफुट्टाहाङ ‘खुगा’ (षुगा/खुगा, खुङ्गा, खादीको भैयाद)का पुर्खा थिए । यिनका पुर्खौलीसँग आज को-को सम्बन्धित देखिन आउँछन्, यो एउटा छुट्टै बिषय हुन्छ । हड्शन पाण्डुलिपी खण्ड ८४(२४५–२५०) आम्जावा खोलोङ्वा(आँखीभूईं), होम्बोङहाङ खोलोङ्वा(उमारा), मेचाविलिङ् खोलोङ्वा, तुमुफुक खोलोङ्वा, वालेङ(मादी मूलखर्क), हेङ्वा खोलोङ्वा, काक्वा खोलोङ्वा पूराना ठाउँहरू र पुलुङहाङ, इयोकहाङ, मादीहाङ, निग्रुमहाङ, निबुयुहाङ, लाबुयुहाङ, सुमाहाङ, चित्ताहाङ याक्खा राजाहरू थिए । याक्खाहाङको राजा ‘निपा’ शक्तिशाली भएको कुरा समेत उल्लेख छ (माबोहाङ र लावतीः२०७८:८९–९५,१०२–१०३) । पाँचखपन सिभुवा–स्यावुनमा पाइएको तुम्याहाङ/इलासोलोङ याक्खा वंशावलीमा पनि पुलुङहाङ, इयोकहाङ, सुमाहाङको उल्लेख पाइन्छ । यस वंशावलीमा ‘यसै वंशबाट छुटेयाको हाँसोकहाँको छोरा पुलुंहाङको वराजु सामिकहाँ ।। वायोकहाँको वराजु लांवाहाँ ।। मारेंहाँको वराजु युखोम्हाँ ।। भिमराईका छोरादेखि छुटेको जेठा फुगोन्हाँ सुमाहाँको वराजु माईला वावुंनको वराजु कोथरा ३ ।। योक्तेनहाँको वराजु मुयुंहाँ । ।’ भनी उल्लेखसमेत भएको छ (सिभुव़ाको उत्तर कुमारको घरमा पाईएको हाल दिल बहादुर याक्खासंग संरक्षितः ‘याक्खा राईहरूको छुटेको वंस्यौलिको कागाज’) ।
यसरी वि.सं. १८७० को एक पुरानो समझदारी कागज (जमान पंदीको नक्कल) मा सातरे, छौरे षिरौला(खिरौला) खर्क, खेत पाएनौ भनी झगडा नगर्नु भन्ने पेटबोलीसहित याईत्रे राई, श्रीहाङ राई (खुङ्वा ?), मनजित राई, आसारसिं राई, जगजित राई, सुपुप राई, आसाहाङ राई, भूदास राई, जासु राई र जितमुखङ् मजिया (याक्खा ?)को उल्लेख भएको छ (माबोहाङ र लावतीः२०७८:५०) । यस लिखतमा पनि भूइँफुट्टाहाङका वंश मानिएको श्रीहाङ खुगा राई र याक्खाले मात्र प्रयोग गर्ने मझिया थर, पहारसिं मझिया जस्तै जितमुखं मझिया स्पष्टसंग समावेश भएका छन् । चौविस थुमका नागा लिम्बूहरू (भाईफुट्टाहाङ)बाट सिङमाङगढबाट आई फेदाप स्थापना गरेका थिए(चेमजोङः१९५३:६) । यसैलाई स्रोत मानी भाईफुट्टाहाङलाई ‘नागालिम्बू’ र तिनका सन्तानमध्ये आजका ‘कयोङवा’ लगायत ‘संयोक्पा’, ‘तुम्सा’, ‘तुम्बा’, ‘नेयोङ्वा’, ‘चेप्पा’ हुन् भनी कृष्ण कुमार थेवेले आफ्ना एक पुस्तकमा उल्लेख गरेका छन् (थेवेःलिम्बूको इतिहास र वर्तमान अवश्था एक सिंक्षप्त अध्ययनः२०६४:३) ।## आजका राई समुदायमा जस्तै, लिम्बू पुर्खाहरूसँग नागा समूह सँगसँगै भएको (‘नागा लिम्बू’) भन्ने किंवदन्ती लिम्बू समुदायमा पनि उत्तिकै सुन्नमा आएको छ । इतिहासकार ईमानसिं चेमजोङका अनुसार भुईँफुट्टाहाङ वंशका अन्तिम राजा सामयुकहाङ लाशावंशी किरात र मधेसबाट आएका किरातहरूका विद्रोहमा मारिए । त्यसपछि ई.३०० मा वाजदेव नामक फेदापका राजा भए । यिनका १२ पुस्तापछिको वंश कुन्दुङजापहाङ राजा भए, यिनका चारभाईमध्ये साहिँलाका छोरा कनेकहाङले पाएका अलग राज्यमध्ये पनि कान्छा हाङ्गसेवाले खपुवान राज्य पाए । कुनैबेला फेदाप राज्यमै परेको खपुवान राज्य पनि मेवाखोला राज्य पाउने कनेकहाङले पाएपछि उनकै छोराले पाएको(चेमजोङः१९५३:१८,१९) भन्ने बुझिन्छ । यसरी ती खपुवान राज्य, संखुव़ा–सोव़ा जिल्लाको पाँचखपन समेतलाई भनिएको हो । जब आठराईहरूलाई दशलिम्बूले अपदस्थ गरे, त्यसमध्ये मेवाखोला क्षेत्र सिसियेङ सेरेङहाङ र पाँचथर याङवरक तिन्दोलुङ कोयाहाङले पाए (चेमजोङः१९५३:२४) । तुम्मोक र हालको दश मझिया क्षेत्र मात्र हैन पूरै फेदाप र छथर, धनकुटा, मुगा–खाल्सा थुम कसको भागमा पर्यो स्पष्ट भने छैन । कनेकहाङको पालामा खपुवान(खपन) र मेवाखोला क्षेत्र एकै राज्यमा परेको देखिन्छ ।
## पृष्ठ ३ मा ‘चौबीस थुमका नागा लिम्बूहरू सिङमाङगढबाट फेदाप आएका लुकथुयोकका सन्तानमध्ये भाइफुट्टाहाङका सन्तानले ई.पू. ५०० तिर जंगल फाँडेर बसे । ती भाइफुट्टाहाङलाई नागा हुन् भन्ने गरिन्थ्यो । उहिले सिलान्त भूमिका नागाकर्ईङवाका सन्तान पछिबाट नागा भएका थिए । चौधौँ पुस्तापछि साम्युकहाङ (ई.पू. १२५तिर) को पालामा नागाहरूको थिचोमिचो बढेर गएकाले जुलुमहाङ राजाको नेतृत्वको फौजले नागाहरूलाई फेदाप पहाडबाट टिस्टा कटाई उनीहरूको पुर्खौली थलोमा पुर्याइदिए । यी फेदाप चौबीसमै रहन सफल यी वंशका सन्तानहरू (१) संयोक्पा (२) तुम्सा (३) तुम्वा (४) नेयोङवा (५) चेप्पा (६) कयोङवा हुन् ।’
फेदाप, पोक्लाबाङ क्षेत्रका किंवदन्तीहरु आठ रायको लडाईँ र दश लिम्बूको लडाईँमा वयस्क भइसकेका कोयोङका पुर्खा फालाबोङको नाम प्रत्यक्ष कतै आएको देखिदैन । तर ‘कोङवा’, ‘षङ्गा/खङवा’ भने उल्लेख भएको पाउँछौँ । त्यस्तै याङवरक क्षेत्र राज्य भागमा पाउने थिबोङ याक्थुङ मध्येका एक लिम्बू सरदार तिन्दोलुङ कोयाहाङ (चेमजोङः१९५३:२४) को नाम पनि आएको देखिन्छ ।
प्राचीन इतिहासको समयकालसँग किंवदन्तीको काल :
किंवदन्ती इतिहास नभए पनि तर एक प्रारम्भिक स्रोतको रूपमा लिइने गरिन्छ । किंवदन्तीको समयकाल खुट्याउन इतिहासकै, पुरातात्विक प्रमाणकै आधार लिनुपर्ने हुन्छ । हामीले प्राचीन इतिहासकाल, इतिहासकाल खुट्याएर मात्र किरात इतिहासलाई पनि राम्ररी बुझ्न सक्छौं । इमानसिं चेमजोङको अनुसार भने यलम्बरको शासनकाल ई.पू. ८०० बर्षअघि मात्रको हो (चेमजोङः१९५३:५) । तर माबोहाङ र ढुङ्गेलको अनुसार कलिगत ४० मा नेपाल खाल्डोमा किरात राजा यलम्बरको शासन शुरू भयो । सोह्रौँ पुस्ताका कुकोहाङलाई सोमवंशी राजा निमिषले अपदस्त गरी भोट लखेटिए । भोटका दिगर्चा पनि नेपाल खाल्डोका अधिनस्थसरह भएकोले कुकोहाङले ३ वर्ष शासन गरे । उनका छोरा थाङ्वा, उनका छोरा उवा र उवाका छोरा चाङ्वा हाङ राजा भए । यी किरात राजाहरूले आफू पनि ल्हासा मुनावंशी भएको दावी गर्दै रहेका र विश्वास गराएका थिए । टेंसेन लामाले विद्रोह गरेकाले ती लामालाई, चाङवा हाङका छोरा २४ वर्षे मुरेहाङले मारिदिए । ल्हासा पोतला गुम्बाको लामाले मुरेहाङलाई समाती ल्याउने आदेश दिए, तर उनी दिगर्चाबाट आफ्ना सेनासहित भागे । नेपाल खाल्डोमा आई भास्कर वर्मालाई अपदस्थ गरी कलिगत १५०० मा पुनः किरात राजा भए । यिनी ‘सिङ युक हाङ’* भनेर पनि चिनिए । यिनका छोरा जुलुम हाङ (कलिगत १५४६–१५९८) कै पालाको कुरो आएको हो जुन ई.पू. १५५५–१५०३ को समय हुन आउँछ ।
*‘सिङ युक हाङ’ जसको अर्थ भोट समेतको राजा भएका भन्ने अर्थ लाग्छ । जुलुम हाङ जसको सहयोगबाट फेदापका भूईफुट्टाहाङलाई अपदस्थ गरेका थिए, उनका छोरा लुकेक् हाङ (कलिगत १६५० अर्थात ई.पू.१४५१ मा मृत्यु), उनका जेठा छोरा मोरङ हाङ र कान्छोछोरा शुभ सेन( ?) हुन् । यहाँ मुरेहाङ जो दिगर्चाबाटै आएका र अर्को उनैका नाति मोरङ हाङ भएको देखिन्छन् । (माबोहाङ र ढुंगेल) ।
ती कलिगतको गणना काल के हो भनी बुझ्नलाई ती कलिगतको तिथिमितिमा विद्वानहरूका एकमत नभएको अवस्था छ । ज्योतिषविद आर्यभट्टको मतअनुसार कलि सम्वत् ३१०१ ई.पू., गुरु र चेलाका वंश विवरणको हिसाबबाट निर्धारण गरिएको डा.अल्टेकारको मत भने ई.पू. १४०० (परीक्षितको समय १४०० ईशापूर्व मात्र हुने) मात्र हुने हुन्छ (रायचौधरीः१९५३:२७) । चलनचल्तीमा आएको यले सम्वत् यही आर्यभट्टकै मत अनुसारको कलिगतअनुसार गणना गरिएको हो । किरात सम्वत् अध्ययन समितिले निर्धारण गरेको कम छ । डा.अल्टेकरको निर्धारण भएको कलिगत १४०० ई.पू. बढी यथार्थको नजिक देखिन आउँछ ।
चेम्जोङका अनुसार आठराई र दशलिम्बुको लडाई ८औँ शताब्तितिर भएको, किराती राजा जितेदस्तीका चौथो पुस्तापछिका राजा स्थुंको (२०औं किरात राजा–गोपाल राजवंशावली) राजाको पालामा नेपालमा सम्राट अशोक आएका थिए (चेमजोङः१९५३:पृ१४) । अन्तिम किरात राजा गस्तीका पिता पटुकलाई सोमवंशीय क्षत्रीय राजाले गोकर्ण राजधानीबाट निकालिएको ईशाको १३५ मा (चेमजोङः१९५३:पृ१४) र २९औं किरात राजा जुलुम्हाङको शासनकाल त्योभन्दा अघि देखिन आउँछ । यिनै १७औं किरात राजा जुलुमहाङको सहयोगमा फेदापको भूईफुट्टा हाङलाई मारी, अपदस्थ गरिएको मानिन्छ । चेमजोङका अनुसार पहिलो किरात राजा यलम्बर कालनै ईसा पूर्व ८०० तिर र भुईँफुट्टाहाङका अन्तिम वंश सामुकहाङलाई अपदस्थ गरी फेदापमा राजा भएका वाजदेव ई.स. ३०० पछि हुनुपर्छ (चेम्जोङः१९५२पृ१८) । सम्राट अशोकको नेपाल भ्रमण ई.पू. २४८ तिर हुन(ई.पू.२६८मा राज्यभिषेक, २० औँमा भ्रमण) आउँछ । ती जुलुमहाङ र भूईफुट्टाहाङको ऐतिहासिक घट्नासँग जोड्ने हो भने कोयोङका ती पुर्खा दाजुभाइ फालाबोङ् र लालाबोङ्को मिथक त्यति धेरै २३०० वर्ष अघिको मान्नु कठिन हुन्छ । बरू आठरे, सातरे, छौरेको इतिहाससंग भने खोज्न सकिएला । ती दाजुभाइका पूर्खा पनि कतै न कतै जोडिन आउने कुरामा अनुमान मात्र गर्न सकिन्छ । तर सम्वत् १९०३ को एक कास्यरूक्कामा पनि भूईँफुट्टाहाङलाई मारी हडपेको जग्गासम्बन्धी अभिलेखमा (माबोहाङ र लावतीः२०७८:१०१) पनि मोरंगसेन (जुलुमहाङको नाति)को पालादेखि चर्चिआएको कथन परेकोले उही भूईफुट्टाहाङको इतिहास र काल एक महत्वपूर्ण ऐतिहासिक घट्ना भने मान्नुपर्ने हुन्छ । स्वयं याक्थुङहरू आफूलाई ‘खामजिरी खाम्बोङसा, लुङजिरी लुङबोङसा’ भनी परम्परादेखि नै मान्दै आउनेले पनि भूईँफुट्टाहाङ मानी अपदस्थ इतिहाससंग केही कुरा जोडिएर आउँछ । ती भूईफुट्टाहाङ गैर याक्थुङ थिए, नामैले ती वंश आदिवासी थिए (सौमवंशी–चेमजोङः१९५२पृ१५) ।
यसरी बिभिन्न कालखण्डमा यस किरात भूमीमा पनि बिभिन्न मानव समूहहरूका बसाबास, आगमन, विस्थापन भएका पाउँछौँ । अलग अलगक भाषा, कुनै सम्पर्क भाषाको अनुस्पथितिमा आ–आफ्नै बुझाईमा चिने, सम्बोधन गरे हुन् । कुनै बेला गैरवैदिकलाई ‘भिन्न मतवाला’ भनिन्थे पछि अर्थ बंग्याएर ‘मतवाली’ भएको छ । उबेलाका पहाडवासीहरूलाई उनीहरू नै एकार्कामा गैरकुटुम्वलाई, आफूभन्दा अघि बसोवास गरिसक्ने ‘भूईँफुट्टा’, ‘नागा’ भनिएको संकेत देखिन्छ । आदिवासीको अर्थमा भूईँफुट्टा भनिएको देखिन्छ । गैरकिरातीले आजका राई, लिम्बू, याक्खा, लेप्चा, भोटे सबैलाई शुरूको भेटमा ‘नागा’ नभने होलान् भन्न सकिन्न । आज पनि पिठपछाडि यी सबैलाई ‘भोटे’ भनिएको कतै–कतै सुन्न पाइन्छ । त्यस्तै तराईवासी सबैलाई पिठपछाडि ‘मधेसी’ भनिने गरिन्छ । यसमा तरेली–तरेली छ, माथिबाट तल, तलबाट माथि बसोवास गर्नेबाट र गर्नेलाई भनिदै जाने गरिएको पाईन्छ । यो ‘आपुङ्गी’, ‘भूईफुट्टा’ र ‘नागा’ कथन पनि यसरी नै भएको बुझ्न सकिन्छ । आफूलाई आदिवासी हौँ भनी मान्दै आएका बसोबासी समुह, समुदाय राई, लिम्बू, याक्खा, सुनुवार, लेप्चा आदिले, परम्परादेखि आफूलाई ‘‘खाम्जिरि खाम्बोःङ्सा, लुङ्जिरि लुङ्बोःङ्सा” मानिआएका छन् भने हामी सामु ती ‘आपुङ्गी’, ‘भूईँफुट्टा’, ‘नागा’ को थिए त ? भनी एक गम्भीर प्रश्न उठेको छ ।
प्राचीन नागा जाति सिन्धु नदी उत्तरी क्षेत्रदेखि कोशी नदी क्षेत्रसम्मै भएको मानिन्छ । ‘किरात’ प्राचीन परिमार्जित शब्द हो भने राई, सुब्बा, लिम्बू, सुनुवार ऐतिहासिक शब्द हुन् । ‘खस् भाषा’ ‘मधिसे,’ ‘पहाडे’, ‘भोटे’ भनेझैं अर्को ‘नागा’ शब्द पनि व्यवहारमा बोलिने गरिन्थ्यो भन्ने देखिन्छ । अब ती लडाईँको घटनासँगको सम्बन्ध भए–नभएको कुरालाई थाती राखेर, आजको तामाफोक बस्तीकै पहिलो बसोवासी ती दाजुभाइ भएकाले यस गाउँको उमेरसँग भने सिधा सम्बन्ध छ । ती दाजुभाइसँग सम्बन्धित तुमोक जंगलमा चट्याङले बँदेल मरेको किंवदन्ती** पनि छ । त्यो किंवदन्तीअनुसार तुमोक उबेला जंगल मात्र थियो कुनै बस्ती थिएन भन्ने बुझिन्छ ।
**ती दाजुभाइ डाँडापारिको लडाकुहरूका ओडारमा भएको आक्रमण, आगलागीबाट बाँच्न सकी, जंगल भागी, माम्लिङकै लिङ्खाहरूका आसपासमा बस्न थाले । एक दिन तुमोकको जंगलमा चट्याङ परी बँदेलहरू धेरै पल्टिए । एकको खुर चिरिदिए, अनि हतार–हतार गरी माम्लिङका लिङ्खाहरूलाई धेरै बँदेल चट्याङले मरेको छ भनी बोलाएर त्यो जंगल बीचको पोखरीमा लगे । तर त्यहाँ त एउटा मात्र बँदेल थियो, जसको खुर चिरिदिएका थिए । शिकारीले शिकारको पहिले खुर चिरिदिने चलन छ जसले घाइते शिकार भाग्न नसकोस् । त्यसरी त्यहाँ १०/१२ वटा धेरै बँदेल मरेको भनिएकोमा एक मात्र भएकोले कुरो ढाँटेका, बिनासित्तिमा दुख दिएको भनी, ती दाजुभाइलाई गाउँमा ल्याई उल्टो केराको पातमा भातमासु दिएर लिङ्खा परिवारको सेवा गर्नु भनी नोकर सरहको रूपमा रहनुपर्ने बनाए । एकदिन लिङ्खाकी एक चेली हराएकी हुनाले, ती दाजुभाइमध्ये दाजु विजुवा पनि भएकाले उनलाई हेरिदिन माइती लिङ्खाहरूले आग्रह गरे । काँचो धागोको डल्लो लडाएर पठाई यो जहाँ पुग्छ त्यतै खोज्नु भनी आर्जे हेरिदिए । ती चेली भीरको ओडारमा भेटी ल्याए । तिनै हराएर भेटिएकी चेलीसँग बिहे गराइदिई नोकरबाट पनि फुकुवा गरी त्यही तुमोक जंगलमा ढालफाँड गराई घर बनाई बसाए । (स्रोत–महागुरू जयभद्र/पूर्ण कोयोङ्वा) ।
तुमोक र माम्लिङ क्षेत्रको पुरातात्विक अध्ययन हुनसकेमा ती बस्तीको शुरूआतीकाल, ती पुर्खाहरू बारे अरू थप जानकारी लिन सकिने छ । त्यहाँका पुराना घडेरी, चिहान, पानी खाने कुवा, ओडार तथा अन्य पुरातात्विक महत्वका स्थलहरूका अध्ययन हुनु आवश्यक छ । इतिहासकार धरणीधर दाहालले ‘यक्ष जाति’ आफ्नो एक लेखमा (देवान र लिङ्खाः२०६३:११४) पनि स्थलगत अध्ययन गर्नुभएको पुरातात्विक महत्वका ती गुफा ‘याक्लारुप लुङदाङ’ ओडार नै हुनुपर्छ । साविक मामलिङ गाउँ पञ्चायतको वडा नं. ५ मा पर्ने त्यो ओडारमा लखौटी माला (पथ्थरको माला)को खोजप् गर्नेहरूबाट खोतालखुतुल (खोतलखातुल) छरपस्ट पारेका ती ओडारबाट केही दाँत र माटाका भाँडाका टुक्रा भेला पारी, लखुवा खोलामा भेटिएकाको दाँतसँगै त्रिभुवन विश्वविद्यालयमा अध्ययनको लागि पठाइएको तर वेवास्ता भएको, बाँकी दुईटा दाँत र भाँडाका टुक्राबारे अनुसन्धान हुँदैछ भन्ने कुरा आफ्नो लेखमा पनि उल्लेख गर्नु भएको छ । उहाँको इटहरी घरमा २०५४ सालतिर यस पंक्तिकारसँगको भेटमा भने ‘उहाँबाट संकलित ती पुरातात्विक वस्तु सबै त्रिविले हराइदिए’ भन्नु भएको थियो । अझै ती वस्तु त्रिभुवन विश्वविद्यालयको विभागमा खोज्नको साथै, ती ओडारको पुरातात्विक अध्ययन गरिन पहल गर्न आवश्यक देखिन्छ । लिम्बुवान फेदापको इतिहाससँगै यस कोयोङको मिथकलाई पनि सुक्ष्म रूपमा अध्ययन अनुसन्धान हुन जरूरी देखिन्छ । विशेष माम्लिङ अवस्थित ती ‘याक्लारूप लुङ्दाङ’ ओडारको पुरातात्विक अध्ययन हुनसके, भोजपुर र चैनपुर क्षेत्रका चिहानमा पाइने सिमाला (पुलिक) आदि पुराना माला र फलामका चुराहरूका पुरातात्विक अध्ययन हुनसके, यो कोयोङको इतिहास मात्र हैन, यस क्षेत्रका किरातहरूसँग ती ‘आपुङ्गी’, ‘भूईँफुट्टा’, ‘नागा’को सम्बन्धको मधुरो मिथक र इतिहासको पर्दा पनि उघ्रिन सक्नेछ ।
स्रोतहरूः
१. आचार्य, डा. अमृतानन्द महानायक महास्थविर, पाली–नेपाली–नेपालभाषा शब्दकोष, पहिलो संस्करण ई.सं.२००१, प्रकाशक अन्तर्राष्ट्रिय बौद्ध समाज, लुम्बिनी (धम्म डिजिटल) ।
२. दाहाल धरणीधर, संस्कृति एक हामी अनेक प्रकाशकः निर्माण प्रकाशन, नाम्ची (दक्षिण सिक्किम) २०५३ ।
३. दाहाल धरणीधर, सिक्किमको राजनैतिक इतिहास (परिमार्जित संस्करण–२०५७), प्रकाशक सचिन पोख्रेल, इटहरी–१,सुनसरी ।
४. दुर्गाहाङ्ग याक्खा, याक्खा जाति एक परिचय, पहिलो संस्करणः२०५६ ।
५. देवान बम र लिङ्खा मागमान, याक्खा चेअ्या सिक्ला, प्रकाशकद्वयः गोपाल देवान, बेनु लकहाङ: पहिलो संस्करण २०६३ ।
६. George Van Driem, A Grammar of Limbu – Mouton Grammar Library 4, Editor Georg Bossong, Wallace Chafe, 1987, Berlin-Newyork-Amsterdum.
७. जिमी, महागुरू जयभद्र (पूर्णे गुरू पनि भनी परिचित यिनी आफै कोयोङबा थिए) ।
८. ईमानसिं चेमजोङ, ईमानसिं चेमजोङकृत, लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश, तेस्रो संस्करण (परिमार्जित),२०६७, नेपाल प्रज्ञाप्रतिष्ठान ।
९. ईमानसिं चेमजोङ, किरात इतिहास, १९५२: दोस्रो संस्करण, गान्तोक सिक्किम ।
१०. माबुहाङ अर्जुनबाबु र लावती लक्ष्मण, दशलिम्बुवान सत्रथुमको नीति पहिलो संस्कण २०७८ प्रकाशकः तेजेन्द्र कुरूङबाङ् ।
११. माबोहाङ लिम्बू, सुब्बा प्रेम बहादुर र भूपेन्द्र नाथ ढुङ्गेल, संक्षिप्त नेपालको इतिहास दोस्रो संस्करण प्रकाशक किरात प्रकाशन तथा अभिलेख केन्द्र द्वितीय संस्करण २०४७ ललितपुर ।
१२. माथुर, विद्यार्थी और सिंह, मानवशास्त्रकी रूपरेखा, छैँटौँ संस्करण, प्रकाशक केदार नाथ राम नाथ, मेरठ, उत्तर प्रदेश ।
१३. रामजी कोङरेन, याक्खा–नेपाली–अंग्रेजी शब्दकोश, प्रकाशनः किरात याक्खा छुम्मा, २०६३ ।
१४.Raychaudhari- S.C. Raychaudhari, Archiological Survey of India, Ancient India, Publication by Archiological Department of India, New Dilhi, .
१५= Rinchin- Rinchin Dondrup, Bugun Language Guide, First Pubished 1990, The Director of Research, Govt. of Arunanchal Pradesh, Itanagaar.
१६. थेवे, कृष्ण कुमार, लिम्बूको इतिहास र वर्तमान अवस्था : एक संक्षिप्त अध्ययन, २०६४ ।
१७. याक्खाहरू छुटेको वंस्यौली कागज, ललित बम राई सिभुवाबाट वि.सं. १९९३ मा स्यावुन बस्ने जम्दार मान बहादुर राईले लिखत सारिलिएको खुमनसिं तुम्याहाङबाट डिजिटल फोटो प्रति उपलब्ध ।
१८. वेबसाइट फेसबुक : किरात सभ्यता अध्ययन केन्द्रको १५ नोभेम्बर २०२० मा प्रकाशित छौरे सोदेम्बाहरूको उत्पत्ति र थेत्थरे थेयङना लेख ।
१९. इङ्नाम भगिराज, लिम्बुवानको ऐतिहासिक दस्तावेज, पहिलो संस्करण २०७७ प्रकाशक अतित इङनाम/शान्तकला मुदेनसङ साँवा ।