भारतीय दूतावास र गाउँपालिकाको साझेदारीमा विद्यालय भवन बन्दै

संखुवासभा

भारतीय दूतावास र गाउँपालिकाको साझेदारीमा विद्यालय भवन बन्दै

भवनकाे शिलान्यास गरिँदै ।

चिचिला गाउँपालिका-३ को दिदिङ आधारभूत विद्यालयको भवन भारतीय दूतावास र चिचिला गाउँपालिको लागत साझेदारीमा निर्माण हुने भएको छ । उक्त भवनको भारतीय दूतावासका प्रथम सचिव अभिनाश कुमार सिंह, चिचिला गाउँपालिकाको अध्यक्ष पासाङ नुर्बु शेर्पा लगायतले शिलान्यास गरेका छन् ।

गत सोमबार विद्यालय भवन निर्माण स्थलमा पुगेर निर्माण कार्यको शिलान्यास गरेका हुन् । कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, अरुण तेस्राे जलविद्युत परियोजनाका पदाधिकारीहरु, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु र स्थानीय नागरिकहरुको उपस्थितिमा निर्माण कार्यको शिलान्यास गरिएको हो ।

विद्यालयकाे लागि २ तला र आठकोठाकाे भवन निर्माण हुन लागेको हो । यसका लागि भारतीय दूतावासको तर्फबाट कुल लागतको ८० र गाउँपालिकाको तर्फबाट २० प्रतिशतको साझेदारी रहेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

भवन निर्माणका लागि जम्मा ४ करोड ७५ लाख ४१ हजार ३ सय ६७ रुपैयाँको लागत स्टिमेट तयार भएको थियाे । अमर डीएस जेभी निर्माण कम्पनीले ४ करोड २ लाख ९४ हजार २२ रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का लिएकाे गाउँपालिकाको प्राविधिक शाखा प्रमुख विशाल कटुवालले जानकारी दिए । २०८० साल पुस २० मा सम्झौता भएका उक्त योजना २०८१ साल कात्तिक १९ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

साे विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यापन हुँदै आएको छ । पुरानो भवन जीर्ण र अपर्याप्त खेलमैदान भएकोले अर्को स्थानमा विद्यालय भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि स्थानीयहरू नि:शुल्क जग्गा उपलब्ध गराएका हुन् ।

सम्बन्धित खबर