विगतमै छुट्यो धान नाचको उल्लास
याक्खा संस्कृतिमा आधारित पहिलाे चलचित्र 'ओम्ला'काे छायाँकनका लागि संखुवासभाकाे मुढेशनिश्चरेमा धान नाचकाे प्रस्तुति दिँदै कलाकारहरू । (तस्विर साैजन्य : अजय जिमी/ओम्ला-निर्माता)
संखुवासभाको पुरानो बजार चैनपुरको ठाडो लाइन । लाखेजात्राको त्यो साँझ । वारिपारिका गाउँबाट जात्रा भर्न आएका हजारौंको भीड । भीडले खुट्टा हाल्ने ठाउँ हुन्थेन । जात्राको रौनक त हुने नै भयो, त्यो रौनकतालाई अझ उत्कर्षमै पुर्याउँथ्यो धान नाचको माहौलले । ढोलक र झ्याम्टाको बेजोड आवाजलाई नै जितुलाँ-जितुलाँजस्तै गरेर गुञ्जयमान हुने पालामको भाकाहरु अनि धान नाच्ने वैशालु युवायुवतीको लर्को । त्यस्तो माहौलको सम्झना त्यस बेलाका समकालीनहरु अझै झलझली सम्झन्छन् ।
यि जम्मै स्मृतिहरु ताजै छ स्थानीय ६५ वर्षीय माधव कर्माचार्यको मानसपटलमा पनि । संस्कृतिकर्मी कर्माचार्य अहिले पनि चैनपुरमै छन् । सालिन्दा लाखेजात्रा अहिले पनि लाग्छ । तर, धान नाचको उल्लास विगतमै छुट्यो, पछिल्ला वर्षहरुमा लाग्ने ‘चैनपुरे जात्रा’मा धान नाचको कुनै दृश्य देखिन्न ।
यसरी एक संस्कृतिकर्मी र समाजका अग्रज व्यक्तित्वले स्थानीय संस्कृति धान नाचलाई जसरी देखे, देखिरहेका छन् । अन्यत्रको अवस्था पनि उस्तै हो, फरक छैन । अर्थात विगतमा हरेक जात्रा, पर्व लगायतका अवसरमा नाचिने धान नाच अहिले लोप प्राय भइसकेको छ । अहिलेका युवायुवतीहरु आधुनिक ढाँचाका विभिन्न खाले ‘डिस्कोवाला’ गीत चर्को आवाजमा बजाएर रम्छन्, आफ्नो जातिको संस्कृतिलाई वास्तै गर्दैनन् ।
उबेला धान नाचले रातभर गुलजार बन्ने चैनपुर र चैनपुर बजार समेटिने पाँचमझिया थुममात्र होइन, याक्खाको सघन बसोवास रहेको दशमझिया थुममा पनि धान नाचको दृश्य अनि पालामको आवाज दुर्लभ बन्दै गइरहेको छ । दशमझियाका वालिङ, तुमोक, आङबुरा लगायतका गाउँहरुमा धान नाच ‘कथाजस्तै’ बन्दै गइरहेको छ । याक्खा जातिको मौलिक संस्कृति यसरी लोप हुँदै गएकोप्रति समाजका अग्रजहरुले गहिरो चिन्ता व्यक्त गर्न थालेका छन् ।
कुनै पनि गाउँमा पाहुना गएपछि सोल्टी-सोल्टिनीहरु धान नाच्न आउँदा उ बेलाका युवायुवतीका रातहरु अनिदो बित्थ्यो । हातमा राँको र टर्चलाइट बोकेका सोल्टी-सोल्टिनीहरुको हुलले साँझको खाना खाइनसक्दै पाहुना गएको घर घेरिसकेको हुन्थ्यो । धान नाच र ख्याल ठट्टामा झुमिरहेका सोल्टी-सोल्टिनीहरु भाले बास्दामात्र झस्कन्थे । यस्तो परिवेश अब असम्भवप्राय छ । छ भने पनि कुनै चलचित्र वा दृश्य छायाँकनका लागि मात्र । अथवा कुनै औपचारिक कार्यक्रममा ।
किरात समुदायको याक्खा र लिम्बु जातिमा प्रचलित धान नाच साइनो–सम्बन्ध नलाग्ने युवायुवतीबीच एकले अर्काको हात समाएर पालाम (प्रकारको गीत) गाउँदै गोलो घेरामा घुुमेर वा सिधा उभिएर नाच्ने गरिन्छ । पालाममा प्रेम र विरहका कुराहरु समेटिन्छन् । यसका साथै जीवन, जगत र ब्रम्हाण्डकै सृष्टिबारे पनि मुन्थुमी वर्णन गर्दै सवाल-जवाफ गरिन्छ । धान नाचमा विशेष गरेर युवायुवतीहरु सहभागी हुन्छन् । धान नाच दुखको बेलामा भने नाच्नु हुँदैन ।
धान नाच यसरी लोप हुँदै जानुले मानव सभ्यताकै लागि क्षति पुग्ने याक्खा जातिको संस्कार र संस्कृतिबारे जानकार दशमझिया, तुमोक (तामाफोक, धर्मदेवी, संखुवासभा)का मागमान जिमी बताउँछन् । ‘धान नाच लोप हुनु भनेको समुदायको पहिचान लोप हुनु हो । मानव जातिकै लागि नोक्सानी हो,’ उनी भन्छन् । संस्कार संस्कृति समाजकै गहना भएकाले जगेर्नाका लागि सबै लागिपर्नु पर्ने उनको भनाइ छ ।
दशमझिया, वालिङ (मादीमूलखर्क, मादी, संखुवासभा)का खगेन्द्र देवानले पनि धान नाचको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गरे । ‘हाम्रो पालासम्म धान नाचिन्थ्यो । हाट, मेला जाँदा वा गाउँमा पाहुना आउँदा धान नाच्थ्यौं । अहिले त बन्दै भइसक्यो,’ अढाइ दशकदेखि शिक्षण पेसामा आवद्ध उनले भने, ‘थाहै नपाई हाम्रै पालामा धान नाच हराइसक्यो ।’
धनकुटा आन्द्रुङ (महालक्ष्मी, धनकुटा) की परिमा लुम्बाले आफू खासै धान नाच्न नजान्ने बताइन् । वन विज्ञान अध्ययनरत २२ वर्षीया उनले आफू पढाईको सिलसिलामा बढीजसो गाउँबाहिर नै बसेकाले पनि धान नाच्न नजानको उनको भनाई छ । ‘गाउँतिरै बसेका मेरा समकालीनहरुले चाहिं धान नाच्न र पालाम गाउन मभन्दा त जान्दछन् । तर मैले सुनेको पहिले-पहिलेजस्तो नाच्ने चलन त हराइसक्यो,’ उनले भनिन् ।
धान नाचको उत्पत्तिबारे उस्तै लाग्ने तर केही फरक सन्दर्भका मुन्थुमी किंवदन्तीहरु याक्खा जातिमा प्रचलित छन् । सन्दर्भ भिन्न भए पनि हरेक किंवदन्तीले धान बालीसँग सम्बन्ध राख्छ । जसमा याक्खा पुर्खाहरु शिकारी युगबाट खेतीपातीको युगतर्फ प्रवेश गरिसकेपछिको सन्दर्भ समेटिन्छ । धान नाचलाई याक्खा जातिले ‘चाबाक लाक’ भन्दछन् ।
याक्खा गाउँबस्ती, त्यस क्षेत्रका हाट बजार र शुभ अवसरहरुमा धान नाचले याक्खा जातिको सांस्कृतिक उपस्थिति जनाउँदै उल्लास भर्दथ्यो । अब भने त्यस्तो उल्लास कि त यसरी शब्दहरुमा मात्र पढ्न पाइन्छ, या त अग्रजहरुको मुखबाट सुन्न सकिन्छ ।