अन्धोपना हटाउने अभियान : गाउँ-गाउँसम्म सेवा विस्तार हुँदै

अन्धोपना हटाउने अभियान : गाउँ-गाउँसम्म सेवा विस्तार हुँदै

दुई वर्षदेखि मोतिविन्दुको कारण आँखा नदेख्ने ६० वर्षीय विष्णुबहादुर तामाङ खाँदबारीमा राखिएको शिविरमा शल्यक्रियापछि पूर्णरुपमा आँखा देख्न सक्ने भएर घर फर्किए । भोजपुर घर भएका उनको नेपाल नेत्र ज्योति संघले जिल्ला सदरमुकाम खाँदबारीमा आयाेजना गरेकाे शिविरमा शल्यक्रिया भएकाे हाे ।

जिल्लामा उपचारको अभावका कारण अन्धो भएर बस्न नपरोस् भनेर नेपाल नेत्र ज्योति संघले अन्धोपना हटाउने अभियान सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति संघ संखुवासभाद्वारा सञ्चालन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा यो वर्ष ४ सय १० जनाको सफल शल्यक्रिया भइसकेको छ । त्यस्तै, जिल्ला भरिका २५ हजार जनाको आँखा परिक्षण गरी १३ हजारको उपचार गरिएको केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिए । त्यस्तै दृष्टिदोष देखिएका ३ सय ५० भन्दा बढीलाई निशुल्क चस्मा वितरण गरिएको छ ।

जिल्लामा हरेक वर्ष ४ देखि ५ सय जनाको शल्यक्रिया भइरहेको संघका अध्यक्ष युवराज शाक्यले जानकारी दिए । आँखाको समस्या तथा रोगहरु गाउँ-गाउँबाट नै उपचार गराउने उद्देश्यका साथ सबै स्थानीय तहमा उपचार केन्द्र स्थापनाको काम भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए । ‘हाल खाँदबारी, सिलिचोङ, मकालु र चैनपुरमा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको । केही समयभित्र नै धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिकामा केन्द्र सञ्चालन गर्छाैं,’ उनले भने ।

उनका अनुसार स्थानीय तहहरुमा उपचार केन्द्र स्थापना गर्दा आवश्यक उपकरण र दुई स्वास्थ्यकर्मीमध्ये १ जना संघले र अर्को एक जना सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने नीति लिइएको छ । आर्थिक लगायतका विभिन्न समस्याका कारण गाउँबाट उपचारको लागि सदरमुकाम आउन नसक्ने भएकाले गाउँ स्तरमा नै सेवा केन्द्र खोल्ने नीति लिइएको अध्यक्ष शाक्यकाे भनाइ छ ।

संघले गरेको सर्वेक्षणअनुसार संखुवासभामा २ हजार ८ सय जनामा मोतिबिन्दुको समस्या रहेको पाइएकाे छ । त्यसमध्ये १५ सय जनाको तत्कालै शल्यक्रिया गर्नु पर्ने अवस्थामा रहेको केन्द्रका प्रमुख बरालले बताए । ‘कतिपय बिरामीहरु डर र संकाेचका कारण उपचार गर्न आउन मान्नुहुन्न । गाउँ-गाउँमा गएर गरिने स्क्रिनिङ र उपचार केन्द्रबाट मोतिबिन्दु पत्ता लागेकाहरुलाई खाँदबारीमा बोलाई निशुल्क शल्यक्रिया गर्दै आएका छाैं,’ उनले भने ।

२०३५ साल अघिसम्म आँखाको उपचारको लागि नेपालबाहिर जानु पर्ने बाध्यता रहेको तर हाल भने छिमेकी देशका नागरिकहरु समेत उपचारको लागि नेपाल आउने गरेको नेत्रज्योति संघ कोशी प्रदेश अध्यक्ष श्याम सुन्दर उदासले जानकारी दिए । धनकुटाका नेत्र चिकित्सक रामप्रसाद पोखरेलको सक्रियताा २०३५ सालमा नेत्रज्योति संघको स्थापना भएपछि भने नेपालमा नै आँखाको उपचार गराउन सम्भव भएको उदासले बताए ।

२०८१ सालभित्र ताप्लेजुङ केन्द्रकाे स्थापना र खाँदबारी आँखा उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा स्तरवृद्धि गर्न लागिएको प्रदेश अध्यक्ष उदासले जानकारी दिए । सर्जिकल सेन्टरमा शल्यक्रिया गर्ने चिकित्सक मात्र आउने बाँकी जनशक्ति र उपकरण सेन्टरमा नै व्यवस्था हुने गरी काम भइरहेको उनले बताए । ‘प्रमुख उपकरणहरु खरिद भइसकेको छ। थप केही उपकरणहरु र जनशक्ति व्यवस्थापनको काम मात्र बाँकी छ,’ उनले भने ।

उनका अनुसार हाल कोशी प्रदेशमा ३ अस्पताल र ४० उपचार केन्द्र छन् । संघद्वारा सञ्चालन गरिएको उपचार केन्द्रहरुलाई विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।

सम्बन्धित खबर