इलाम-२ मा एमालेलाई विरासत जोगाउनै चुनौती

  • विराटनगर
  • ११ बैशाख २०८१
इलाम-२ मा एमालेलाई विरासत जोगाउनै चुनौती

संघीय सरकारको सत्ता गठबन्धनमा भइरहेको धरमर अनि प्रदेश सरकारमा देखिएको खिचातानीको जति चर्चा छ, यही वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको चर्चा त्योभन्दा कम छैन । नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं पूर्वसभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र भएकाले पनि इलाम-२ ले सबैको ध्यान खिचेको छ ।

यतिबेला इलामको निर्वाचन क्षेत्र-२ मा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेसँगै नेता कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । इलाम सदरमुकामसहित आसपासका क्षेत्र निर्वाचनकेन्द्रित कार्यक्रममले भरिभराउ देखिन्छ ।

उम्मेदवारी दर्ता गराएका दल र स्वतन्त्र उम्मेदवारले आमसभा र कोणसभा गरेसँगै घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । कुनै राजनैतिक दल र उम्मेदवार आफ्ना एजेण्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन् । सदरमुकाममा मात्रै नभएर गाउँबस्तीका टोल टोलमा आयोजना हुने आमसभा, कोणसभा र मतदाता भेटघाट आदिमा उम्मदवारसँगै तिनलाई सघाउन आएका विभिन्न दलका शीर्ष नेतृत्व पनि विभिन्न एजेण्डा पस्किइरहेका भेटिन्छन् ।

आफ्नै काममा रमाउँदै मतदाता

अहिलेको उपनिर्वाचन हुने क्षेत्र भनेको इलाम सदरमुकामसहित जिल्लाको पश्चिमी क्षेत्र हो । यो क्षेत्र भुगोलका हिसाबले अलिक विकट छ । यहाँसम्म आइपुग्ने सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । यति मात्र हैन स्वास्थ्य सुविधा नहुँदा उपचार गराउन झापासम्म पुग्नु पर्छ भने विकास र पुर्वाधारको पहुँच अझैपनि निकै टाढा छ । यहि पिडाका कारण पनि हुनसक्छ मतदातामा उपनिर्वाचनको खासै रौनक छाएको छैन तर ग्रामीण बस्तीका मतदातामा मताधिकार प्रयोग गर्नुपर्छ भन्ने चाहिँ राम्रो ज्ञान देखिन्छ ।

तर यता आम सभा र कोण सभालाई प्रतिष्ठाको विषय बनाँउदै दलहरु एक अर्काबीच आरोप-प्रत्यारोपमा व्यस्त रहे पनि बजारभन्दा टाढा बस्तीमा रहेका मतदाता आफ्नै काममा व्यस्त देखिन्छन् । उम्मेदवारका भाषण र आरोप प्रत्यारोप नसुने पनि इच्छाएको दल र उम्मेदवारलाई भोट दिने धारणा बनाएका उनीहरु आफ्नै काममा रमाइरहेका छन् ।

१९ उम्मेदवार चुनावी मैदानमा

सो क्षेत्रबाट स्व. नेम्वाङले निर्वाचनमा हारेको कुनै रकेर्ड छैन । नेम्वाङको निधनपछि भने इतिहासमा नयाँ नाम राख्ने दौडमा विभिन्न दलका १२ एवं स्वतन्त्र ७ सहित १९ उम्मेदवार लागिपरेका छन् । शहर केन्द्रित नेताहरु गाँउ-गाउँमा पसेका छन् । भेटघाट, छलफलर चुनावी सभालाई तीव्रता दिइरहेका छन् ।

नेकपा एमालेले पनि आफ्नो विरासत जोगाउन यतिबेला सुवासचन्द्र नेम्वाङका कान्छा छोरा ३४ वर्षीय सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उभ्याएको छ । त्यस्तै नेपाली काग्रेसका डम्बर खडका, रास्वपाका मिलन लिम्बु, पहिचानवादी दलहरुको तर्फबाट डकेन्द्रसिं थेगिम, एकीकृत समाजवादीका जीतबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ पनि चुनावी प्रतिस्पर्धामा छन् ।

विजयी हुनेमा ढुक्क

कांग्रेसका खड्का यसअघि प्रतिनिधिसभा निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका हुन् । खड्कालाई नेम्वाङले १ सय १४ मतको अन्तरले पराजित गरेका थिए । अहिले नेम्वाङको निधनपछि चुनावी प्रतिस्पर्धामा उत्रिएका सुहाङले बुवाको विरासत थाम्न सक्ला ? भन्ने चर्चाको विषय बनेको छ । किनभने फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर एक वर्षदेखि सडक आन्दोलनमा छन् । तर, इलाम क्षेत्र– २ मा पार्टी संगठन बलियो भएकाले पनि जित सुहाङकै हुनेमा ढुक्क रहेको एमाले नेताहरु दाबी गर्छन् ।

पहिचानको मुद्दा लिएर मैदानमा उत्रिएको पुनः नामकरण संघर्ष समितिका संयोजक थेगिम चुनावी प्रतिस्पर्धामा छन् । उपनिर्वाचनलाई आन्दोलनकौ रुपमा उपयोग गर्ने गरी थेगिमलाई साझा उम्मेवार बनाउने निर्णय गरेको पहिचान पक्षधरले यो निर्णयलाई जनताले सकारात्मक लिएको उनीहरुको दाबी छ । त्यसो त घरदैलो कार्यक्रममा व्यस्त रहेको थेगिमले पनि इलामको जनताले यो निर्णय र आन्दोलनका विषयलाई सकारात्मक लिएको बताउँछन् । पहिचानको आन्दोलनको ‘सेन्टिमेन्ट’लाई बुझेर इलामेली जनताले मत दिनेमा पहिचान पक्षधरका नेताहरु ढुक्क छन् ।

यस्तै लामो समय पत्रकारिता पेसामा आवद्ध रहेको रास्वपाका लिम्बू समेत सुहाङलाई चुनौती दिँदै प्रतिस्पर्धामा उत्रिएका छन् । युवा त्यसमा पनि माङ्सेबुङको माटोसँग जन्मको साइनो जोडिएको मिलनले पनि यो निर्वाचनमा मत पाउनेमा रास्वपाको विश्वास छ । कांग्रेस पनि अघिल्लोपटक थोरै मतले पराजित हुनुपरेको तर यसपालि भने जित सुनिश्चित रहेको दावी गर्छन् ।

एमालेलाई विरासत जाेगाउन चुनाैती

इलामबाट निर्वाचित भएपछि विकास र समृद्धिको नारासहित संसदीय यात्रा तय गरेको नेम्वाङले कुनै ठूलो प्रगति भने आफ्नो निर्वाचन क्षेत्रमा गर्न नसकेको विपक्षीहरुको आरोप छ । विपक्षीहरूले सुहाङलाई वंशवादकाे मुद्दाले प्रहार गरिरहेका छन् ।

एमालेलाई एमाले पृष्ठभूमिका थेगिम र एकीकृत समाजवादीले मत काट्ने डर छ । एमालेको जनमत रहेको माङ्सेबुङ फाकफोकथुम, चुलाचुली माई नगरपालिकाको को ६, ७, ८ नम्बर वडामा थेगिमको मुख्य प्रभाव देखिएको छ । कोशी नामकरणपश्चात सडक संघर्षमा रहेका किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खासहित ४१ वटा संस्थाको समर्थन थेगिमलाई छ । उनकाे पक्षमा धरानका मेयर हर्क साम्पाङ पनि उभिएका छन् ।

एमालेलाई पछिल्लो समय कांंग्रेसमा देखिएको एकताको सन्देशले पनि चुनावी माहाैलमा असहज तुल्याएकाे छ ।

सम्बन्धित खबर