लिम्बुनी पुल : एक हिम्मतवाली महिलाको नाममा कोरिएको इतिहास
श्रीमानबाट वियोगले आक्रान्त भएपछि सामाजिक कार्य
६९ वर्षअगाडि बनेको वास्तविक लिम्बुनी पुलको अस्तित्व अहिले छैन, तर त्यही स्थानमा बन्न लागेको नयाँ पुलको नाम पनि उही लिम्बुनी पुल रहेको छ । तसर्थ यो नाम अहिले फेरि सुनिन थालेको छ । तमोर करिडोरको रूपमा हिमाल र तराई जोड्ने सहज र छोटो बाटो तयार हुँदैछ ।
चिनियाँ सीमा टिप्ताला भञ्ज्याङबाट भारतीय सीमा रानी भन्सार जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्दैछ । यसै राजमार्गमा पर्ने तमोर नदीको पुललाई लिम्बुनी पुल नै नामकरण गरिएको छ ।
पहिले हिँडेर जाँदा निघुरादिनबाट अमरपुर निस्कँदा तमोर खोला तर्ने पुल नै लिम्बुनी पुल थियो । यो पुल हाल ओलाङचुङगोला लोकमार्गअन्तर्गत पर्छ । अझ भनौँ भने पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको सेतुको रूपमा रहेको तमोर नदीको झोलुंगे पुल नै लिम्बुनी पुल हो ।
लिम्बुनी शब्दले नै जनाउँछ, कुनै महिलाको नामबाट बनेको पुल । हालको ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा ५ चाँगेको नेसुममा १९३४ साल चैतमा जन्मेकी विष्णुमाया लिम्बुनीको नामबाट पुल बनेको थियो । विष्णुमायाको पूरा नाम विष्णुमाया नाल्बो आङबुहाङ हो । नेपालमा राणाशासनको अन्त्यको समय आफ्ना श्रीमान गुमाएकी विष्णुमायालाई आफ्नो श्रीमानकाे सम्झनामा केही गर्ने रहर जाग्न पुग्यो ।
जीवनको सबैभन्दा ठूलो धन भनेकै श्रीमान् थिए, श्रीमान नै गुमाएपछि मेरा लागि अरु धनको महत्त्व के नै छ र भनी उनले तमोरमा झोलुंगे पुल हाल्ने मन गरिन् । आफ्नाहरू तथा छरछिमेकको सल्लाहले पुल बनाउने ठाउँको निधो भयो । पुल बनाउन आवश्यक सामग्री खरिद गर्न भारतको सिलिगुडीमा गाउँलेलाई पठाइयो । मुख्य सामग्री फलामे लट्ठा तथा फलामे साङ्लो उतैबाट ल्याइयो । अन्य सामग्री गाउँमै तयार गरियो ।
उनको गाउँदेखि करिब चार घन्टा हिँडेर पुगिने तमोर हिउँदमा त मुस्किलले तर्न सकिन्थ्यो, तर वर्षामा भने तर्ने आँट कसैले गर्न सक्दैनथे । खोलामा राखिने फड्केको कुनै भर हुँदैनथ्याे । ताप्लेजुङ तथा पाँचथरबाट नुन तेलका लागि ढाकर बोकेर आउने भरिया कतिलाई त तमोरले बर्सेनि खान्थ्यो । हरेक वर्षातमा मृत्युका समाचारले आक्रान्त बनेको बुढ्यौली मनले पुल बनाउने अठोट गरेको थियो । पुल बनाउने आँट गर्दा विष्णुमाया उमेरले ७५ की थिइन् । यो बुढ्यौली उमेरमा सबै चिन्ता-पीरलाई थाती राखेर आराम गर्ने दिन थियो । तर, श्रीमानबाट वियोगले आक्रान्त भएकी विष्णुमायाले पुल बनाउने भइन् ।
२००९ सालमा पुल तयार भयो । पुल बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका गाउँले सबैलाई सहज भयो । गाउँबाट ढाकर बोकेर लहरै हिँड्ने भरिया पनि खुसी भए । अब बर्सेनि जीवन गुम्ने डर भएन । गाउँले सबै मिलेर पुलको नाम नै विष्णुमायाको सम्झनामा लिम्बुनी पुल राखिदिए । विष्णुमायालाई कसैले सम्झन्छन्, या सम्झदैनन्, यो थाहा भएन, तर लिम्बुनी पुलको नाम सदैव अमर भएको छ । उनले बनाएको पुलको स्थानमा नयाँ पुल बन्यो, त्यसपछि फेरि यातायात नै सुचारु हुने गरी पक्की पुल बन्दैछ । नाम भने अहिले पनि लिम्बुनी पुल नै रहेको छ ।
बूढापाकाले भन्ने गर्छन्- भगवानले सधैँ भन्ने गर्छन्, तिमी आँट म पूरा गरिदिन्छु । कुनै पनि काम गर्न उमेर वा धन होइन, मन हुनुपर्छ । दृढ संकल्प हुनुपर्छ । आँटेको पूरा हुन्छ । हुन पनि उमेरले ७५ पुगेकी एक गृहिणीसँग पक्कै पनि पर्याप्त धन थिएन । तर, उनको आँट र साहसको अगाडि कसैको केही लागेन । उनले गाउँलेका लागि पक्की झोलुंगे पुल बनाइछाडिन् ।
यो पुल रहेको ठाउँमा हरेक वर्ष श्रीपञ्चमीको दिन मेला लाग्ने गर्दछ । मेला भर्न आउनेहरूले सधैँ बोजुलाई सम्झने गर्छन् । लिम्बुनी बोजुको ७९ वर्षको उमेरमा २०१५ साल मंसिरमा स्वर्गारोहण भयो । उनको देहले यो संसार छाडेर गए पनि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनताको मनमा सधैँ उनी बसिरहेकी छन् ।
यहाँ राखिएको तस्बिर विष्णुमायाले बनाएको झोलुंगे पुलको हो । साथमा राखिएको तस्बिर तिनै लिम्बुनी बोजुको हो । यिनै लिम्बुनी बोजुप्रति अन्तर हृदयबाट नै सेवारो तथा नोगेन भन्न चाहन्छु ।
(सुनील उलककाे फेसबुकबाट)