आज १८औं लोकतन्त्र दिवस मनाइँदै
Loktantra Diwas
आज १८औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६२/६३ सालमा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको सम्मानस्वरुप लोकतन्त्र दिवस मनाउने गरिएको छ ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी) बीच १२ बुँदे सहमति भएको थियो ।
नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभामार्फत जनताले आफ्नो संविधान आफैँ बनाएका हुन् । तथापि राजनीतिक व्यवस्था परिवर्तन भए पनि आम नागरिकका कतिपय न्यूनतम आवश्यकता भने राज्यले पूरा गर्न सकेको छैन ।