भीसी विजेता बेघाको सालिक स्थापना

भीसी विजेता बेघाको सालिक स्थापना

बेलायती सेनाको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस (भीसी) विजेता स्वर्गीय राम बहादुर बेघा लिम्बुको सालिक स्थापना गरिएको छ । ‘अनेरी क्याप्टेन राम बहादुर बेघा लिम्बु (भीसी) एमभीओ प्रतिष्ठान’ले सालिक स्थापना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि गोर्खा वेलफेयर ट्रस्ट नेपालका डाइरेक्टर कर्णेल पाउल स्मिथले मंगलबार सालिक अनावरण तथा प्रवेशद्वार र आसपासकाे सडककाे उद्घाटन गरे । झापाको दमक-६, भृकुटीचोकस्थित प्रतिष्ठान परिसरमा सालिक स्थापना गरिएको हो । प्रतिष्ठानका उपाध्यक्ष माेहन बेघाका अनुसार साढे तीन फिट उचाइको सो अर्धकदको सालिक निर्माण र स्थापनाको लागत करिब १० लाख रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिष्ठानको प्रवेशद्वार र आसपासको सडक मर्मत समेतका लागि थप १५ लाख खर्च भएको छ ।

सो अवसरमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाईं भट्टराई, प्रतिष्ठानका संरक्षक स्वर्गीय बेघाकी पत्नी पुनीमाया चाम्लिङ बेघा, छोराहरु चन्द्रप्रकाश, जीवनकृष्ण र भानुभक्त बेघा पनि कार्यक्रममा उपस्थित थिए । बेघाका जेठा छाेरा भक्तकाे भने निधन भइसकेकाे छ । सालिक र प्रवेशद्वार निर्माण  तथा सडक मर्मतकाे सम्पूर्ण खर्च भक्तकी पत्नी इन्द्र देवान बेघासहित समस्त परिवारबाट उपलब्ध भएको प्रतिष्ठानले जनाएकाे छ ।

सन् १९६५ नोभेम्बर २१ मा मलाया युद्धमा बहादुरी देखाएरबापत बेघाले भीसी पाएका थिए । उनलाई १९६६ जुलाई १२ मा बकिंघम राेयल प्यालेसमा बेलायती महारानी एलिजाबेथ द्वितीयले भिक्टोरिया क्रस प्रदान गरेकी थिइन् । सन् १९३५ अगस्ट ५ मा पाँचथरकाे च्याङथापुमा जन्मिएका बेघाकाे २०२३ अप्रिल २२ मा ललितपुरकाे मेडिसिटी अस्पतालमा निधन भएकाे थियाे ।

(तस्विर साैजन्य : मच्छिन्द्र याक्खा)

सम्बन्धित खबर