मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुन्छ ।
मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । आगामी शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाका लागि उपनिर्वाचन हुँदैछ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।
यस्तै उमेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट पनि मत माग्न निषेध गरिएको छ । निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमान सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य पनि गर्न पाइँदैन ।
मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाइएको निर्वाचन आयोगले जनाएको छ ।