डोकेनीको सालिक निर्माण अन्तिम चरणमा
ऐंसेलुखर्कमा स्थापना गर्न निर्माण भइरहेको सालिक ।
याक्खा जातिको संस्कृति डोकेनीलाई सालिकको रुपमा स्थापना गरिने भएको छ । चौबिसे गाउँपालिका-२, ऐंसेलुखर्कमा सालिक स्थापना गर्न लागिएको हो ।
सालिक निर्माणको काम करिब अन्तिम चरणमा पुगेको किरात याक्खा छुम्मा, चौबिसे गाउँपालिका-२ को कार्यसमिति सचिव सुर्य याक्खाले जानकारी दिए । उनका अनुसार काठमाडौंमा निर्माण भइरहको सालिक धनकुटा ल्याएर आगामी जेठभित्रमा प्रतिस्थापन गर्ने तयारी छ । ‘साढे पाँच फिट उचाइको, धातुको सालिक बन्ने कार्य अन्तिम चरणतिर पुगेको छ । सायद जेठ दोस्रो हप्ताभित्रै यता ल्याएर सम्बन्धित स्थानमा राखिन्छ,’ उनले भने ।
चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सालिक निर्माणको लागि ५ लाख रुपैयाँ विनियोजन गरेको वडा नम्बर २ का अध्यक्ष एनोज तुम्साले जानकारी दिए । तर, सो रकम पर्याप्त नहुने भएको छ । सालिक निर्माणको लागत करिब १३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छुम्माका वडा सचिव याक्खाले बताए । उनले भने, ‘स्टिमेट बढी आयो । पैसा नपुग्ने भएपछि सहयोग संकलनको अभियान थालेका छौं ।’
यसअघि संखुवासभाको धर्मदेवी नगरपालिका-४, माम्लिङ, याक्खाचाेकमा पनि डोकेनीको सालिक स्थापना गरिएको छ । तर, सालिक ‘डोकेनी’जस्तो नभएर याक्खा महिला-पुरुषजस्तो मात्र भएको गुनासो हुने गरेको छ ।
याक्खा जातिमा प्रचलित डोकेनी नाच तिहारमा औंसीको रात घर-घर पुगेर नाच्ने गरिन्छ । यस नाचलाई याक्खा समुदायले ‘साङदाङराङमा लाक’ भन्ने गर्दछन् । महिलाहरु मात्र सहभागी हुने यो नृत्य पछिल्लो समय अधिक परिमार्जनले अस्तित्वको संकटमा छ ।
संखुवासभाको एक गाउँमा तिहारको समयमा तयार पारिएकाे डोकेनी । (फाइल तस्विर)