हस्तकला प्रदर्शनीमा राडीपाखीदेखि सिलाम साक्मासम्म
स्थानीय ज्ञान, सीप र प्रविधिको उपयोगलाई अभिवृद्धि गर्ने लक्ष्य
खाँदबारीस्थित वरूण बहुमुखी क्याम्पसमा ‘वरूण हस्तकला प्रदर्शनी’ आयोजना गरिएकाे छ । स्थानीय स्रोत साधनलाई अधिकतम उपयाेगमा ल्याउन प्रदर्शनी गरिएको क्याम्पसले जनाएकाे छ ।
विद्यार्थीहरूले स्थानीयस्तरमै बनाएर ल्याएका हस्तकलाका विभिन्न सामग्री प्रदर्शनीमा राखिएकाे थियाे । ती सामग्रीहरू अभिभावकहरूले समेत अभिरुचिपूर्वक अवलोकन गरेका थिए । अल्लोका टोपी, झोला, स्वीटर लगायतका सामग्री प्रदर्शनमा राखिएको थियाे । त्यस्तै गमला, डोकाे, राडीपाखी, सिलाम साक्मा, ऊनीबाट बनेकाे स्वेटर लगायतका सामान पनि प्रदर्शनमा थिए । ती सामग्रीहरू प्रदर्शनका साथै बिक्रीका लागि समेत राखिएकाे थियाे ।
विद्यार्थीहरुमा भएका हस्ताकला सीपलाई उजागर गर्न र लोप हुँदै गएका मौलिक र परम्परागत सीपकाे संरक्षण गर्ने उद्देश्यले हस्तकला प्रदर्शनी गरिएको वरूण बहुमुखी क्याम्पसका प्राध्यापक एवं कार्यक्रमका संयाेजक छत्रमणि पन्त्रले बताए । उद्यमशीलता र अर्थतन्त्रको दिगो विकासका लागि स्थानीय ज्ञान, सीप र प्रविधिको उपयोग गर्ने उद्देश्यले प्रदर्शनी गरिएको उनकाे भनाइ छ ।
प्रदर्शनीमा वरूण बहुमुखी क्याम्पसकी सविना गुरूङ प्रथम भइन् । उनले राडीपाखी प्रदर्शनमा राखेकी थिइन् । अल्लाेका सामानहरू राखेकी वरूणकै प्रजनिका कुलुङ द्वितीय र काठ तथा बाँसकाे सामान ल्याएका षडानन्द क्याम्पसका राम अछामी तृतीय भए । उनीहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कारद्वारा पुरस्कृत गरिएकाे थियाे ।
हस्तकला प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले गरेका थिए । कार्यक्रममा भोजपुरको षडानन्द बहुमुखी क्याम्पस र संखुवासभाको मादी बहुमुखी क्याम्पसका २६ विद्यार्थीको सहभागिता थियो । प्रत्येक विद्यार्थीले एकदेखि पाँच किसिमका सामग्री प्रदर्शनमा ल्याएका थिए । प्रदर्शनीका कतिपय सामग्री पुरै बिक्री भएर थप अर्डरसमेत भएकाे थियाे ।
प्रदर्शनी वरूण बहुमुखी क्याम्पसकाे आयोजना, भाेजपुरकाे दिङलास्थित षडानन्द बहुमुखी क्याम्पसकाे सहआयोजना र विश्वविद्यालय अनुदान आयोग नेपालकाे प्रायोजनमा भएकाे हाे । ‘उद्यमशीलता र अर्थतन्त्रकाे दिगो विकासका लागि स्थानीय ज्ञान,सिप र प्रविधिको उपयोग’ भन्ने नाराका साथ आयोजित एकदिने प्रदर्शनी बुधबार सम्पन्न भएकाे हाे ।