इलाम २ मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदै

इलाम २ मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनअन्तर्गत इलाम-२ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भाेलि हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरु सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरु पनि निर्माण भइसकेको बताए । उनले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताए । उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने बताए ।

मुख्यनिर्वाचन अधिकृत घिमिरेले मतदाताहरु मतदान गर्नका लागि उत्सुक भइ मतदान स्थलहरुमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताए । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुने छ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४२ वटा वडाहरु मतदान हुने र ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरुमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका गरिएको बताए । उनले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरिएको र ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा रहेको बताए । उनले सामान्य मतदान स्थ्लमा न्युनतम ८ जना प्रहरी, संवेदनशीलमा ९, अतिसंवेदनशीलमा १२ जना र अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुने बताए । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिएको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम २ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदैछ । जहाँ ७४५ जना कर्मचारी खटिइसकेका छन् । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।

सम्बन्धित खबर