‘जकडिएको विषय’मा मेडिकल डाक्टरको कलम
डाक्टर युवराज तेयुङ लिम्बू स्वयं विगतमा राज्यद्वारा नै ऐन, कानुन, नीति, नियम, विनियम आदि बनाएर विभेदमा पारिएका, उत्पीडनमा पारिएका नेपालका आदिवासी जनजाति मूलका हुनुहुन्छ । हो, त्यही कारणले गर्दा पनि होला, उहाँमा सांस्कृतिक चेतना, समावेशीकरण, समानुपातिक समावेशीकरण तथा जातीय स्वपहिचान, धार्मिक अधिकार, समानताका साथै आदिवासी जनजातिका हकअधिकार के के हुन् ? र, किन आदिवासी जनजातिलगायत नेपालका उत्पीडित जातजाति, वर्ग, समूहका मानिसहरु सम्पूर्ण जनसंख्याको लगभग ७० प्रतिशत हुँदा पनि किन अल्पसंख्यक (लगभग ३० प्रतिशत आर्य खस) हरुबाट अहिलेसम्म शासित भएर बस्नु परिरहेको छ ? उनीहरु (नेपालका उत्पीडित जतजाति र वर्ग) को हातमा शासन सत्ताको साँचो हुनु त कता हो कता, शासन सत्तामा आफूहरुले पाउनुपर्ने सहभाग समेत नपाई रहेको स्थिति कसरी निर्माण भयो ? भन्ने सम्बन्धमा धेरै राम्रोसँग ज्ञान रहेको देखिन्छ, जानकारी रहेको देखिन्छ, डाक्टर थुवराज लिम्बूमा ।
त्यसैले गर्दा नै डाक्टर लिम्बूले आफ्नाे र आफ्नाे परिवारको आर्थिक स्थिति सुधार गर्ने र अरुको हेरेर ऐश-आरामको जीवन जिउने दिशातिर नलागिकन लामो समयदेखि नेपालभित्र बसोवास गर्दै आएका आदिवासी जनजाति, मधेसी, दलित-शिल्पीलगायत उत्पीडित समुदाय, वर्ग र समूहका मानिसहरुका लागि योगदान गर्नेतर्फ लाग्नु भएको हो । हुन पनि यसो हेर्दा मेडिकल डाक्टर, त्यसमा पनि मेडिकल विषयका एक विज्ञले नेपाल र नेपाली समाजभित्र रहेका अत्यन्तै जटिल र जकडिएर रहेका विषय र समस्याका सम्बन्धमा चासो र चाख राख्दै कलम चलाउनु अवश्य नै चानचुने कुरो होइन । हुन पनि डाक्टर लिम्बूले आफ्नाे पेशा वा नियमित काम गर्दै लामो समय (विसं २०५९-२०६०/०६१) देखि फुटकर रुपमा विभिन्न त्रैमासिक, द्वैमासिक, मासिक पत्रिका, विशेषांक, दैनिक पत्रपत्रिकाहरु र पछिल्लो पटक आम प्रचलनमा आएको-चलेको अनलाइनहरुमा लेख रचनाहरु लेख्दै आउनु भएको छ ।
त्यसैको फलस्वरुप डाक्टर लिम्बूले केही समयअघि ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ नामक किताब, जुन किताबमा २९ वटा लेखको संग्रह रहेको छ, सो संग्रह आम पाठकसामु ल्याउनु भएको छ । डाक्टर लिम्बूले सो किताबमा समग्र नेपालका उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसंख्यक, सीमान्तकृत आदिको आवाजलाई बुलन्द ढंगले उठाउनु भएको छ । तापनि डाक्टर लिम्बुको २९ वटामध्ये अधिकांशले लेखहरुले नेपालका आदिवासी जनजातिहरुका विषय र मुद्दालाई सशक्त ढंगले बोलेको छ । छ, त्यसैअनुसारको प्रतिनिधित्व राज्यको हरेक अंगमा हुनु पर्छ भनी लेख्नु भएको छ, डाक्टर लिम्बूले । त्यस क्रममा उहाँले एकलकाँटे ढंगले आवाज नउठाएर, मनगढन्ते ढंगले फत्तुर मात्रै लगाएर नलेखेर हालसम्म राज्य सत्तामा भएका वा सहभागिता जनाएका जातजाति, भाषाभाषी, क्षेत्र, लिंग, वर्गको तथ्य, तथ्यांकसहित, उदाहरणसहित लेख्नु भएको छ, आफ्नाे लेखमा उजागर गर्नु भएको छ । जहाँ राज्य वा राज्य पक्षद्वारा विभेद गरिएको विभेदमा परेका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तस्विर तथ्य, तथ्यांक र दसी-प्रमाणहरु पनि प्रायजसो सबै लेखमा राखिएको छ, उल्लेख गरिएको छ ।
डाक्टर लिम्बुले लेख्नुभएको आफ्नाे किताब ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ किताबको पाना नम्बर-१५१ मा ‘नेपालमा आदिवासी जनजातिको मौलिक पहिचानको सवालमा Top down कि Bottom up दृष्टिकोण ?’ शीर्षकको अर्को लेखमा डाक्टर लिम्बू लेख्नुहुन्छ- सामाजिक द्वन्द, युद्ध आदि मावनसिर्जित घटनाहरु हुन्, जुन मानव नियन्त्रित घटनाहरु हुन् । सायद प्रकृतिको आफ्नै उत्कृष्ट नियमहरु छन्, जसले मानव सिर्जित भाष्यहरु, सर्वोच्च कमान्डर, सर्वोच्च अदालत, परमादेश, नेता, धनी, गरिब, क्रान्ति, राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आदि केही पनि बुझ्दैन । प्रकृतिको नियमलाई न कुनै सर्वोच्च अदालतको परमादेशले रोक्न सक्छ न कुनै शक्ति राष्ट्रको भिटोले नै रोक्न सक्छ । समाजमा प्रचलित नियम कानुनहरु आदि समाज, सरकार र राज्यद्वारा अर्थात् मानवनिर्मित दस्तावेजहरु हुन् यसमा वर्चश्वशाली र प्रभुत्वशाली समुदायको वा व्यक्तिको दृष्टिकोण, विश्वास र चाहनाको प्रभाव रहन्छ ।’ भनी संसारमा प्रचलित विचार राख्ने दुई सिद्धान्त Top down र Bottom up का बारेमा नेपालका आदिवासी जनजातिहरुले down को सिद्धान्त रोज्ने कि Bottom up को सिद्धान्त रोज्ने ? सम्बन्धमा विभिन्न उदाहरणसहित चर्चा गर्नुभएको छ । उहाँले नेपालका आदिवासी जनजातिहरुले मौलिक पहिचानको सवालमा विभिन्न उदाहरणसहित लामो व्याख्या गर्दै नेपालका आदिवासी जनजातिहरुले Bottom up approach को सिद्धान्त अपनाउनु पर्ने विचार राख्नु भएको छ । त्यसको ज्वलन्त र पछिल्लो उदाहरण चाहिँ थप व्याख्या गर्दै डाक्टर लिम्बूले एक नम्बर प्रदेशको नामांकनको सन्दर्भलाई लिनु भएको छ । उहाँका अनुसार सुरुमा-पहिले (अहिले कोशी नामांकन भई सकेको छ) प्रदेश नं. १ को नाम Top down approach र Bottom up approach बीचको अनिर्णित द्वन्द्वका कारण नाम रहन नसकी प्रदेश नं. १ नै रहन गएको हो । हुन पनि पछि गएर त बहुमतको नाममा १ नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ रहन गयो । अथवा भनौं शासकहरुले जबरजस्ती र हत्त न पत्त नाम ‘कोशी प्रदेश’ राखे ।
अन्त्यमा नेपालका आदिवासी जनजाति, उत्पीडित जाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, दलन-मलनमा, धार्मिक अल्पसंख्यकहरु, सीमान्तकृतहरु, उत्पीडित वर्ग आदिको आवाजलाई बुलन्द ढंगले लेखिएको, सशक्त ढंगले विषय उठान गरिएको धेरै कम किताबमध्ये डाक्टर लिम्बूले लेख्नु भएको यो किताब पनि पर्छ भनी दावी गर्न सबिन्छ । त्यसैले हामी सबैले यो किताब पढ्नैपर्ने देखिन्छ । जसले गर्दा हामी र हाम्रो समुदायमा बौद्धिक चेतनाको स्तर बढ्ने छ ।