‘राम भनेको के हो ?’ भनेर युवकले प्रश्न गरेपछि बालन संरक्षणकर्मी खिन्न
‘राम’ भनेको के हो ? बालन भजन गाउने-सिकाउने क्रममा एक अल्लारेले गरेको यस्तो प्रश्नप्रति खिन्नता प्रकट गर्दै बालन-भजन संरक्षणकर्मी खड्ग चापागाईंले याक्सिगुमखबरसँग गुनासो पोखे, ‘जमाना यस्तोसम्म आइसक्यो ।’
खाँदबारी नयाँबजारका चापागाईंको खिन्नता स्वभाविक छ यस कारण कि- बालन, भजन मात्र होइन समाजका यस्ता अधिकांश सांस्कृतिक सम्पदाहरु लोप हुने वा मनलाग्दी प्रस्तुतिले अधिक परिमार्जित भएर मौलिक अस्तित्व नै मेटिने सँघारमा छ । संगिनी, सेलो, हुर्रा, मारुनी, धान नाच, डोकेनी नाच, स्याब्रुजस्ता मौलिक संस्कृतिप्रति युवापुस्ताको चासो रतिभर छैन । चासो भए पनि मौलिक पहिचान जोगाउनेतर्फ छैन, छ त आधुनिक गीत-संगीतको ‘ढाङढाङ ढुङढुङ’ मिसाउँदै आफ्नो संस्कृति विकृत बनाउनेतर्फ । कतिपयलाई नाच्न वा गाउन त आउँछ, त्यसको महत्व, मर्म र महिमाबारे थाहा पाउँदैनन् । खोजी गर्दैनन् ।
यी, यस्ता समग्र ‘सांस्कृतिक विरक्ति’को प्रतिनिधित्व छ चापागाईंको अभिव्यक्तिमा । अरुण उपत्यका धार्मिक सांस्कृतिक संघ स्थापना गरेर ४० वर्षदेखि सांस्कृतिक चेतना र सीप बाँड्न कम्मर कसेर लागिपरेका उनले आफ्नो अनुभव बाँड्ने क्रममा यस्ता विरक्तिमाझ केही उत्साह पनि सुनाए । भने, ‘केटा ठेटाहरु सबै संस्कार संस्कृतिलाई माया नगर्ने खाले मात्र छैनन् । कसैले त निकै खोजीनीति पनि गर्छन् । सुनाउँछु, सिकाउँछु पनि ।’ यसरी सिकाएकाहरु पनि वैदेशिक रोजगारीले गर्दा धेरैजसो गाउँमा नभएको उनले बताए ।
चापागाईंजस्ता सांस्कृतिक अभियन्ताहरुको गुनासो र चासोलाई मनन गरेर होला, यही वैशाख ४ गते रामनवमीको अवसर पारेर खाँदबारी–३, मंगलादेवीथानस्थित मारुतिबल्लभ राममन्दिर सेवा समिति र स्वर्गीय मनबहादुर खत्रीको परिवारले ‘खैजडी बालन भजन तथा लोकगीत प्रतियोगिता आयोजना गरेको थियो । जहाँ १० वटा टोली सहभागी थिए । चापागाईंको टोली प्रथम भयो ।
समितिले पहिलोपटक आयोजना गरेको सो प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि आफूमा अझ उत्साह थपिएको चापागाईं बताउँछन् । भन्छन्, ‘यस्तो कार्यक्रम अरुतिर पनि हुनुपर्छ । सालिन्दा हुनुपर्छ । यसो भयो भने धर्म-संस्कृति जोगाउन ठुलो टेवा पुग्छ ।’ समाजका हरेक पक्षलाई भावी पुस्तासम्म हस्तान्तरणका लागि अहिलेका युवाहरुले बढी जिम्मेवार हुनुपर्नेमा त्यस्तो नभइरहेकोप्रति उनको चिन्ता छ । ‘धर्मकर्म र कुल संस्कारको कुराभन्दा अहिलेका युवाहरु रिमिक्सतिर बढी ध्यान दिन्छन् । यसो गरेपछि कर्मभ्रष्ट, धर्मभ्रष्ट हुने नै भयो,’ आक्रोशित भाव व्यक्त गर्दै उनले भने, ‘खै, युवाहरुले नै बुझ्न चाहेनन् कि हामीले पो बुझाउन सकेनौं कि ।’ नेपालको पुर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रतिर भने युवाहरु यस्ता कार्यहरुमा अलि बढी सहभागी हुने गरेको उनको अनुभव छ ।
सो प्रतियोगिताका निर्णायकमध्ये एक इश्वर घिमिरेको भने अलि भिन्न बुझाई छ । पछिल्लो समयमा धार्मिक तथा सांस्कृतिक कार्यप्रति अलिकति भए पनि युवाहरुको चासो बढेको आफूले पाएको उनी बताउँछन् । ‘चासो नै नभएको र शुन्य सहभागिता भन्न मिल्दैन । धेरथोर संख्यामा युवाहरु जागरुक छन् । उनीहरुमा चासो र सहभागिता छ । अब त्यसलाई कसरी बढाउने र व्यापक बनाउने भन्ने चुनौती हो,’ शिक्षण पेसामा आवद्ध घिमिरे भन्छन् ।
मन्दिर समितिका अध्यक्ष दुर्गाबहादुर विष्टले पनि यस्ता संस्कृतिहरुले जीवन्तता र व्यापकता पाउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । ‘नयाँ पुस्ताको सहभागिता शुन्यबराबर छ । भए पनि मनैदेखि रम्दैनन्,’ उनले भने, ‘बालन र भजन मात्र भन्दा मानिस नआउलान् भनेर लोकगीत पनि मिसाउनुपर्यो ।’ तर, बालन र भजनका पारखी तथा यसको महत्व बुझेकाहरुले भने यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन माग गरेको उनले सुनाए ।
बालनमा धार्मिक ग्रन्थ रामायण र महाभारतकाे घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुषको समूहले संयुक्त रूपमा गीत गाउँदै सामूहिक नृत्य गरिन्छ । कतिपय स्थानमा ‘बालुन’ पनि भन्ने गर्दछन् ।