इलाम-२ मा सुहाङ नेम्बाङ विजयी

इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै २७ हजार ७ सय ७२ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्दा नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरेका हुन् । तेस्रो स्थानमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाए ।
२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि यो क्षेत्र खाली रहेको थियो । सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो ।
गत शनिबार भएको उपनिर्वाचनमा १२ राजनैतिक दल, सात स्वतन्त्रसहित १९ जना उम्मेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।