चुम्लुङ भवनलाई बजेट अभाव
किरात याक्थुङ चुम्लुङ संखुवासभाको जिल्ला कार्य समितिले निर्माण गरिरहेको भवन बजेट अभावमा अधुरै रहेको छ । निर्माण थालेको १० वर्ष भइसक्दा पनि जिल्ला कार्य समितिको कार्यालय भवन अझै पूरा भएको छैन । चैनपुर नगरपालिका-३, पोखरीबजारमा भवन निर्माण भइरहेको हो ।
भवनको लागत स्टिमेट अढाइतलाको रहेको तर हालसम्म एकतला मात्र निर्माण सम्पन्न भएको चुम्लुङका निवर्तमान अध्यक्ष अनिल लिम्बुले बताए । उनका अनुसार भवन निर्माणका लागि कोसी प्रदेश सरकारबाट पछिल्लो तीन आर्थिक वर्षमा क्रमशः ५, २० र २५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । स्टिमेटअनुसार काम सक्न अझै एक करोड रुपैयाँ आवश्यक पर्ने उनले बताए । प्रदेश सरकारबाट विनियोजित रकमले शहरी विकास कार्यालयमार्फत ठेक्का प्रक्रियाबाट काम भएको हो ।
आवश्यक बजेट अभावले काम सक्न कठिनाइ भइरहेको निवर्तमान अध्यक्ष लिम्बुले बताए । ‘मेरो कार्यकालभरि यही भवनको लागि जोड गरियो । तैपनि पूरा गर्न सकिएन । वर्तमान समितिमार्फत भवन निर्माण सम्पन्न गर्न लागिपरेका छौं,’ उनले भने, ‘अबको बजेटमा पनि सकेसम्म सबैतिर थप रकमको लागि पहल भइरहेको छ ।’
भवन निर्माणको लागि स्थानीयवासी महेन्द्र लिम्बुले २०६५ सालमा एक रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।