यारापफुङ : याक्खा जातिमा यसको अर्थ र महत्व

यारापफुङ : याक्खा जातिमा यसको अर्थ र महत्व

वास्तवमा पहिचान भन्नु चिनारी हाे । तर, पहिचान शब्दले प्राचीनता र ऐतिहासिकता बुझाउने किसिमकाे अर्थ बाेक्छ । अर्थात पहिचान भनेकाे प्राचीनता र ऐतिहासिकतासँग सम्बन्धित माैलिक चिनारी हाे भन्न सकिन्छ । पछिल्लाे समय पहिचान शब्दकाे चर्चा व्यापक छ । याे शब्द राजनीतिसँग पनि जाेडिन थालेकाे छ । भेषवूषा, भाषा, खाना लगायतका विविध पक्षमा पहिचानकाे खाेजी हुन थालेकाे छ । यसै सन्दर्भमा किरात समुदायले पनि पहिचानजन्य प्रतीकलाई आफ्नो शरीरमा लगाउन थालेका छन् । जसकाे आफ्नै किसिमकाे मुन्थुमी व्याख्या छ । किरात समुदायकै याक्खा जातिले पनि आफ्नाे पहिचानजन्य प्रतीककाे रूपमा यारापफुङलाई लिने गरेका छन् ।

यारापफुङको नामाकरण

यारापफुङको नामाकरण याङराङ्वा (याङग्राङ्बा) ढाका र यारेप्माङबाट लिइएको हो । याङग्राङबा भनेको सूर्य वा ताराको प्रतीक हो । यसको बिचको आकृति पुनुको हुन्छ । यारेप्माङ भनेको उन्यु हो । याङग्राबा, यारेप्माङबाट याराप शब्द निकालियो । यसमा फुङ (फूल) जोडिएता पनि यो कुनै बोटबिरुवामा फुल्ने फूल होइन । ओम्लाबुङ पनि काल्पनिक फूल हो अथवा केही आवश्यक साना चीजहरुको झुप्पा उपहारको रुपमा लिनेदिने र छातीअगाडि कपडामा फूल वा गहनाझै लाउने गरिन्थ्यो । यी सबैबाट यारापफुङ नामाकरण गरिएको छ ।

यारापफुङको बनावट

यारापफुङलाई विभिन्न आकार (साना, ठूला आवश्यकता अनुसार)मा बनाउन सकिन्छ । यारापफुङ बनाउँदा दुई प्रकारले बनाउन सकिन्छ । पहिलो सियो वा कुरुस प्रयोग गरेर र दोश्रो हातैले मात्र । यसका बिच भागमा दुई तिर खिपिएका ६ सेन्टिमिटरका घुङरिङ एक आपसमा जोड चिन्हझैं खप्ट्याएर त्यसमा विभिन्न रंगका रंगीन धागोद्वारा ९ घेरा बनाइन्छ । प्रत्येक घेरामा ३/३ वटा गरी २७ डोरो हुन्छ्न् । नौ घेराको अर्थ नौ ग्रह र सत्ताइस डोरी भन्नाले २७ नक्षत्र भन्ने अर्थ लाग्छ । बाहिरको आठवटा चुच्चोले शक्तिदाता सूर्यको तेज आठै कुनाको संकेत गर्दछ । सूर्यको प्रतीक अड्याउन ९ देखि १० सेमीका चारवटा सिन्का सिङ निस्किने गरी चारपाटे आकारमा राखिन्छ ।चार सिन्काको अर्थ चार खम्बा र चार दिशाको बन्धक भन्ने हुन्छ । दुई चुच्चोको मुनि हरियो उन्यूको परिचयक हो । बाहिरी घेरा विशेष गरेर शक्तिको प्रतीक रातो रंगको प्रयोग गरिन्छ । तथापि लगाउने कपडाको आधारमा सुहाउदिलो अन्य रंगको बाहिरी घेरा पनि बनाउन सकिन्छ ।

यारापफुङका अन्य नामहरु

यारेपफुङ, ओम्लाबुङ, पुनु, मिरिङपुनु, हेमबाङपुनु (याक्खा मुन्थुममा) थोक्सिलाङमे (औषधि यारेपमाङ) ।

मिथकसँग यारापफुङ

हासुल्या नाम गरेको मान्छेको मृत्यु भयो । याक्खा सस्कार अनुसार मरेको मानिसलाई जमिनमा खाडल खनी ढुंगाको बाकस बनाएर त्यसभित्र लास राखेर ढुंगा माटोको तीन वा चार तह छोपी मलामीहरु घर फर्किए तर मृत भनिएका मान्छेको आत्मा भने मरेकै थिएन । मलामीहरु संगै हिँडिरहेका सबैले देखे । पाका, ठूला र उमेरदारहरु असहज माने । साना केटाकेटी र महिलाहरु डराएको महसुस गरे । मृतात्मालाई छुटाउन टाढा-टाढा गए, सातखोला, सातडाडा काटेर गए पनि मृतात्मा देखिन छाडेन । उनीहरूसँग भएको कुकुरले कानमा यारेपमाङ सिउरिएको थियो र त्यो कुकुरलाई त्यो मृतात्माको कुनै आभास थिएन । त्यही देखेर मानिसहरूले सिको गरे । यारेपमाङले मृतात्मालाई छोपिदियो र देखिन छाडियो । त्यसपछि सबैले कानमा यारेप्माङ सिउरेर लाउन थाले ।

परम्परासँग यारापफुङ

कतै टाढाको बाटो हिँड्नु पर्दा आफ्नो नानीहरुलाई कानमा यारेप्माङ सिउरिदिने र आफैँ पनि सिउरिने पुरानो चलन अझै पनि याक्खा समुदायमा पाइन्छ । यारेप्माङको अलवा लिकङिफुङ (तीतेपाती) पनि लाउने चलन छ । मलामी जाँदा पनि यारेप्माङ वा लिकङिफुङ सिउरिने चलन छ । त्यो यारेप्माङ र लिकङिफुङको प्रयोगले छेदभेद नलाग्ने, सातो नजाने, मृतात्माहरुले नपछ्याउने, एक्लै हिँड्दा पनि साथी भइदिन्छ भन्ने प्रचलन रहेको पाइन्छ । याक्खा जातिको फोप्मा ( मजेत्रोमा याङराङबा ,याङग्राङबा र यारेप्माङको बुट्टा ढाकामा हुन्छ । यो विशेष र अति पुरानो हो । यो बुट्टा घरहरूको भित्तामा समेत कोर्ने पुरानो प्रचलन थियो । यसरी घरको भित्तामा याङराङबाको बुट्टा कोरेमा त्यो घरमा कसैको आँखी डाही, छेदभेद लाग्दैन भन्ने याक्खा समुदायमा जनविश्वास थियो ।

सूर्य तारासँग यारापफुङ

उज्यालो दिने शक्ति भनेकै सूर्य हो र सूर्य भनेको तारा पनि हो । सूर्य वा तारा नभएको भए संसार वा मानव जीवनको परिकल्पना गर्न पनि सकिँदैन । तिनै शक्तिदाताको प्रतिरुप याङराङबा ढाका हो । याङराङबा ढाका ८ चुच्चे हुन्छ । ८ चुच्चोको अर्थ पूर्व्, पश्चिम ,उत्तर, दक्षिण,आग्नेय, इशान, वयव्य र नैॠत्य हो । याङराङबा ढाका याक्खाहरुको अति पुरानो र पहिचान प्रचलित ढाका हो ।

मुन्थुमसँग यारापफुङ

यस प्रतीकको बिच भागमा रहेको चारपाटे भाग रंगीन धागोले बनेको हुन्छ । यसलाई याक्खा मुन्थुममा पुनु भनिन्छ । यसलाई तीनराते चिन्ताको थानमा दायाँ र बायाँ राखिन्छ । यिनीहरुलाइ हेम्बाङपुनु र मिरिङ्पुनु पनि भनिन्छ ।

यारापफुङको सन्दर्भमा सुनसरीको धरानमा पटक-पटक छ्लफल गरी संखुवासभासभा तामाफोकमा २०७८ चैत ५ गते बृहत कार्यशाला सम्पन्न गरिएकाे थियाे ।

(२०७९ असार २५ गते सुनसरीकाे धरानमा सम्पन्न किरात याक्खा छुम्मा केन्द्रीय समितिको पूर्ण बैठकमा मागमान जिमीद्वारा प्रस्तुत अवधारणा पत्रमा आधारित )

सम्बन्धित खबर