नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्दै चौबिसे गाउँपालिका
चौबिसे गाउँपालिकाले एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाले यही वैशाख २२ गते बहु-विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।
शिविरमा जनरल फिजिसियन, मेडिसिन सेवा तथा शल्यक्रियासम्बन्धी परामर्श सेवा उपलब्ध हुनेछ । त्यसैगरी स्त्रीरोग, बालरोग, नाक, कान तथा घाँटी, दन्त, नशा र मानसिक स्वास्थ्यसम्बन्धी सेवा पनि शिविरमा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य संयोजक तिर्थराज बस्नेतले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरुको स्वास्थ्य समस्या पहिचान गरी आवश्यक परे सम्बन्धित अस्पतालमा रिफर गरिनेछ ।
शिविर बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने स्वास्थ्य संयोजक बस्नेतले जानकारी दिए ।