कुलुङ मुन्दुमको लेखन गर्न कार्यशाला आयोजना
कुलुङ समुदायमा चुल्हो पूजा गरिँदै । (तस्विर साैजन्य: प्रेम किराती)
कुलुङ समुदायको मुन्दुमलाई पुस्तककै रुपमा तयार पार्न लेखनको थालनी भएको छ । यसका लागि समुदायका पुर्खा तथा अग्रजहरुसँग अन्तर्क्रिया कार्यक्रम गर्न लागिएको छ ।
यही वैशाख २९ देखि एकहप्ते लेखन तथा अन्तर्क्रिया कार्यक्रम गर्न लागिएको मुन्दुम संकलक प्रेम किरातीले जानकारी दिए । ‘कुलुङ जातिको संस्कार संस्कृति कुलु रिदुम् (मुन्दुम्) ग्रन्थ लेखन तथा अन्तर्क्रिया कार्यक्रम’ सिलीचोङ-३, लकुवामा हुने भएको छ ।
कार्यक्रममा सिलीचोङ गाउँपालिकाका पाँचवटा वडाका गाउँहरुबाट पुर्खा तथा अग्रजहरुको सहभागिता रहनेछ । ‘सिलीचोङको वडा नम्बर १ सिसुवा, २ बाला, ३ ताम्कु, ४ माङतेवा र ५ याफू तथा भोजपुरको साल्पासिलिछो गाउँपालिकाबाट अग्रज, पुर्खा र मुन्दुमी ज्ञान भएका व्यक्तिहरुको सहभागिता हुन्छ,’ मुन्दुम संकलक किरातीले भने । उनका अनुसार कार्यशालामा कुलुङ मुन्दुमबारे अन्तर्क्रिया हुने र त्यसलाई लेखन पनि गरिनेछ ।
मुन्दुमअन्तर्गत कुुलुङ समुदायमा जन्मदेखि मृत्युसम्म गरिने संस्कार, उधौली-उभौली लगायतका विविध विषयबारे अन्तक्र्रिया हुने किरातीले जानकारी दिए । ‘मौखिक रुपमा मात्र रहेको मुन्दुमलाई बेलैमा संरक्षण नगर्दा दिनदिनै हराउँदै जान थालेकाले यस्तो तयारी गरिएको हो । मुन्दुम जान्ने मान्छेहरु सकिँदै गए । नयाँ पुस्ताले जान्दैनन् । लेखिराख्न पाए भोलिको दिनमा केही न केही सहज होला भन्ने लागेको छ,’ उनले भने । आफूले मुन्दुमबारे छ/सात सय पृष्ठ लेखिसकेको र त्यसलाई पनि अब लकुवामा हुने कार्यक्रममा प्रस्तुत गरिने र त्यसउपर छलफल गरिने किरातीले बताए ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, वडा कार्य समिति बालाले आयोजना गर्ने सो कार्यक्रमका लागि सिलीचोङ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।