‘पहिचान विरोधीहरूको अघोषित सेटिङले अपेक्षित परिणाम हासिल भएन’
पत्रकार सम्मेलनमा थेगिम लगायतका नेताहरू ।
पहिचान पक्षधर संघ-संगठनहरूले पहिचानका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले प्राप्त गरेकाे मत महत्वपूर्ण भएकाे बताएका छन् । बुधबार इलाममा पत्रकार सम्मेलन गर्दै ‘पहिचान सहितको १ नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति’मा आवद्व विभिन्न संस्थाले पहिचानकाे पक्षमा अभिमत व्यक्त गर्ने मतदाताप्रति धन्यवाद दिएका छन् ।
इलाम-२ काे उपनिर्वाचनमा प्राप्त मत हेर्दा संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अगाडि बढेकाे पहिचान पक्षधर संघ-संगठनहरूकाे निष्कर्ष छ । संयुक्त प्रेस वक्तव्यमा उनीहरूले भनेका छन्, ‘पहिचानका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुको चुनाव चिन्ह मुढामा अपार माया र समर्थनका साथ अमूल्य मत दिएर शासकीय एकल गोत्रीय ‘कोशी’ नामांकन जनताले वहिष्कार गरेको पुष्टि गर्दै संसदीय लोकतन्त्रमा पहिचानको राजनीतिको सुनौलो दिशातर्फ अगाडि बढ्ने अभिमत व्यक्त गर्नु भएकोमा इलाम २ का सम्पूर्ण सचेत वालिग मतदाताहरूमा हार्दिक बधाईसहित धन्यवाद ज्ञापन गर्दछौं ।’
विज्ञप्तिमा पहिचान विरोधी दलहरूको अघोषित सेटिङले जनअपेक्षित परिणाम हासिल गर्न नसकिएकाे उल्लेख छ । ‘जनताको जनलहर हुँदाहुँदै सत्ता-शक्ति-स्रोतलाई नियन्त्रण गरिरहेका पहिचान विरोधी दलहरूको षडयन्त्र स्वरूप जनताको पहिचानलाई विस्तेज पार्नका लागि स्वार्थरूपी अघोषित सेटिङले जनअपेक्षित परिणाम हासिल गर्न नसकिएको आम रूपमा जगजाहेर छ । तथापि हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पूँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ । सहिद, घाइते, बन्दीहरूको सपना साकार पार्न पनि यस अभिमतले बल पुराएको छ । पहिचान विरोधीहरूको षडयन्त्र, सेटिङलाई निस्तेज पार्न पहिचान पक्षधर शक्तिहरू थप सशक्त, संगठित र एकताबद्ध भएर पहिचानको राजनीतिको बाटो तय गर्न गराउन इलाम २ को उपनिर्वाचनमा प्राप्त जनमतले स्पष्ट राजनीतिक सन्देश दिएको छ । तसर्थ सामाजिक-राजनीतिक सामूहिक मोर्चा मार्फत परिणाममुखी पहिचानको राजनीतिका लागि सम्पूर्ण पहिचान प्रेमीहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
इलाम-२ मा वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्दै तेस्रो भएका थिए । प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ र उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
विज्ञप्ति :