लोप भए टीएमजेका दर्जनौं पोखरी
गुफापोखरी ।
जैविक विविधतायुक्त एवं पर्यटकीय क्षेत्र तिनजुरे-मिल्के-जलजले (टीएमजे)मा रहेका पोखरीहरु लोप हुँदै जान थालेका छन् । टीएमजे क्षेत्रमा रहेका ऐतिहासिक महत्वका साना–ठूला पोखरीहरु बर्सेनि सुक्दै र लोप हुँदै जान थालेका हुन् ।
टीएमजे क्षेत्रमा रहेका दर्जनौंमध्ये अधिकांश पोखरी लोप भइसकेका छन् । बाँकी केही पनि सुक्दै जान थालेको स्थानीयहरुको भनाइ छ । स्थानीयहरुका अनुसार, टीएमजेको पदमार्ग सुरु हुने बसन्तपुरदेखि माथिल्लो क्षेत्र जलजलेसम्म करिब दुई दशकअघि दर्जनौ पोखरी थिए । दुई दशकको अवधिमा पाँचपोखरी, सुकेपोखरी, जोरपोखरी, खोकिनपोखरी लगायतका ऐतिहासिक पोखरीहरु लोप भइसकेका छन् । बाँकी गुफापोखरी, लामपोखरी, भुतेपोखरी र झ्याउँपोखरीलगायत अहिले अस्तित्वमा रहेका पोखरीहरुको पनि बर्सेनि सतह पुरिँदै गएको छ ।
यस क्षेत्रका पदमार्ग आसपासका अधिकांश बस्तीहरुको नाम पनि पोखरीकै नामबाट नामाकरण गरिएको छ । ‘हामीले थाहा पाउँदासम्म पाँचपोखरीमा एकै ठाउँ वर्तिरपर्तिर पाँचवटा पोखरी थियो,’ चैनपुर-१, नुनढाकीका राजकुमार लिम्बुले दशकअघिको कुरा सम्झिए, ‘अहिले त खाल्डो मात्रै छ ।’ भर्खरै त्यस क्षेत्र भएर हिँडेका उनका अनुसार त्यस मार्गका दर्जनौं पोखरीको अहिले अस्तित्व छैन ।
गुफाबजारनजिक सुकेपोखरीमा अहिले घरहरु बनिसकेको छ । ठाउँको नाम पनि सुकेपोखरीबाट सुकेबजारमा परिवर्तन गरिएको छ । ताप्लेजुङ जिल्लासँगको सिमावर्ती बस्ती जोरपोखरीबजारमा रहेको पोखरीको अहिले नामनिसान मेटिएको छ । जानकारहरुका अनुसार, त्यहाँ दुईवटा (एक जोर) पोखरी भएका कारण त्यस स्थानको नाम जोरपोखरी रहन गएको हो । ‘म आउँदा दलदले हिलो सहितको खाल्डो चाहिँ थियो,’ ताप्लेजुङको ओलाङ्चोङगोलाबाट दुई दशकअघि जोरपोखरीमा बसाई सरिआएका उर्गेन लामाले सुनाए ।
टीएमजे क्षेत्रकै सबैभन्दा ठूलो पोखरी गुफापोखरी पनि बर्सेनि सुक्दै गइरहेको स्थानीय हरिप्रसाद खनाल बताउँछन् । पानी भरिएर फुट्ने डरले केही बर्षअघि पोखरीको दुईछेउमा बाँधसमेत लगाइएको थियो । अहिले पोखरीको पानी बाँधभन्दा धेरै तल छ । ‘पहिलेपहिले पोखरीमा बस्न हाँस, चराहरु आउँथे,’ ७२ बर्षीय खनालले सुनाए, ‘अहिले पानी पनि सुक्यो, पोखरीमा आएर महिनौ बस्ने त्यस्ता चराहरु आउनै छाडे ।’
पोखरी सुक्नाले जनजीवनमा पनि समस्या हुन थालेको छ । ‘गाईवस्तुलाई खुवाउने पानीकै अभाव हुन थाल्यो । हिउँदमा पानी नपर्दा पोखरीको पानीले राहत हुन्थ्यो । जंगलमा गोठ बस्नेहरुलाई त अहिलै धेरै दुख छ,’ अधिकांश स्थानीयको भनाइ छ । उनीहरुका अनुसार समयमै र प्रशस्त पानी नपर्नु तथा पहिलेजस्तो भारी हिमपात हुन छाड्नु नै पोखरी सुक्नुको कारण हो । जथाभावी वन फडानीले पनि समस्या ल्याएको गुफापोखरी प्राविका शिक्षक हिमा खनालको अनुमान छ । बजार आसपासमा भने मानव अतिक्रमणले पनि पोखरीहरु सुक्न थालेको कतिपय स्थानीय बताउँछन् ।
यसरी जैविक विविधता भरिएको क्षेत्रमा पानीको श्रोत मासिदा पर्यावरणमा नकारात्मक असर पुग्ने संरक्षणविदहरु बताउँछन् । ‘पोखरी सुक्दा वातावरणमा प्रतिकुल प्रभाव पर्नेमा दुईमत छैन,’ टीएमजेका लागि राष्ट्रिय लालीगुराँस संरक्षण तथा व्यवस्थापन समितिमा लामो समयदेखि संयोजक भई काम गर्दै आएका कोशी प्रदेशसभा सदस्य लक्ष्मण तिवारी बताउँछन् । बाँकी पोखरीहरुको पनि संरक्षणमा समयमै ध्यान नदिए टीएमजेको पर्यावरण, पर्यटन र जनजीवनमै नकारात्मक असर पुग्ने तिवारीको बुझाइ छ ।
पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण तथा ऐतिहासिक पोखरीहरुको संरक्षणमा सरकारी निकायहरुले पर्याप्त ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । धेरै ठाउँमा ध्यानाकर्षण गराउँदा पनि पोखरी संरक्षणका लागि प्रभावकारी काम नभएको उनीहरु बताउँछन् ।
संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थल टीएमजेलाई ‘गुराँसको राजधानी’ भनिन्छ । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस टीएमजेमा पाइन्छ ।