मुढेशनिश्चरेबजारमा आगलागी : कारण र क्षतिबारे नगरप्रमुख के भन्छन् ?
मुढेशनिश्चरेमा लागेकाे आगाे । तस्विर स्राेत : सुर्य पाैडेलकाे फेसबुक ।
धर्मदेवी नगरपालिका-३, मुढेशनिश्चरेबजारमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाको दमकल र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।
आगलागीबाट एउटा घर पूर्ण रुपमा जलेको छ । ‘टहराजस्तो निकै ठुलो घरमा आगो लागेको हो । दुवैतर्फ पक्की घर भएकाले पनि आगो फैलिन पाएन । बेलैमा दमकल आइपुगेकाले पनि आगो निभाउन सक्यौं,’ स्थानीय राजनीतिकर्मी एवं व्यवसायी सुर्य पौडेलले बताए । उनका अनुसार लालीगुराँस नगरपालिकाको दमकलले दुईपटक पानी भरेर आगोमा पानी खन्याएको थियो ।
आगो नियन्त्रण भइसक्दा तेह्रथुमको म्याङलुङ नगरपालिकाको पनि दमकल आइपुगेको पौडेलले बताए । ‘लालीगुराँसको दमकल समयमै आउन नसकेको भए धेरै ठुलो क्षति हुने थियो,’ उनले भने ।
आगलागाीको कारण र क्षति
आगलागीबाट तीनवटा घर बराबरको ठुलो घर जलेर नष्ट भएको छ । मुढेशनिश्चरेकाे माथिल्लाेबजारमा अवस्थित रुद्र जिमीको घर आगलागीबाट पूर्ण क्षतिग्रस्त बनेकाे हाे । आगो बिहीबार साँझ ९ बजे सुरू भएको हाे ।
क्षतिको विवरण संकलन भइरहेको नगर प्रमुख उदय चन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘टहरा किसिमको ठुलो एउटा घर चाहिँ पूर्ण क्षतिग्रस्त भएको छ । समग्रमा के कति धनमाल नोक्सानी भयो भनेर अहिले हामी विवरण संकलन गरिरहेका छौं ।’ नगर प्रमुख पौडेलका अनुसार आगलागीको कारण पनि यकिन भइसकेको छैन । ‘कतिले विद्युत सर्ट भएको भनेका छन्, कतिले चुल्होबाट सल्किएको भनेका छन् । आगो चाहिँ घरको पछाडिपट्टिबाट सुरु भएको हो भन्ने कुरा छ । अनुसन्धानपछि वास्तविकता थाहा होला,’ याक्सिगुमखबरसँग कुरा गर्दै उनले भने ।