मादीका दयानन्द दाहाल : एक दृढप्रतिज्ञ प्रतिभा
सङ्खुवासभा जिल्लाको तत्कालीन मादीबिर्ता गाविस-२, चिसापानीमा पिता पं. भीमप्रसाद दाहाल (भीम-गुरु) र माता देवकीका कोखबाट जन्मिएका अथक समाजसेवी थिए- दयानन्द दाहाल । पछिल्ला दिनमा मादी नगरपालिका-४ स्थित ओखरबोटेमा उनले आफ्नो बसोवास कायम गरेका थिए । हाल भने त्यहाँबाट भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका-७ स्थित धुन्चोपाखामा बसाइँसराइ गरी बस्तैआएका थिए ।
२०२७ मा नै बीए परीक्षा उत्तीर्ण भई दयानन्द दाहालले सुरुमा २०२७ असोज ८ देखि हिमालय मा.वि. खाँदबारीमा अध्यापन कार्य गर्न थालेर पछि २०४० सालसम्म विद्यालय शिक्षण सेवामा कार्यरत रहे भने त्यसपछिको आफ्नो सिङ्गो जीवनभर शैक्षिक र सामाजिक क्षेत्रमा निरन्तर सेवारत रहे । आखिर २०८० चैत ३० गतेका दिन बेलुकीपख यस लोकबाट सदा सर्वदाका लागि आफूलाई विसर्जन गराए । उनी २००६ साल माघ ९ गते शुक्ल पक्ष श्रीपञ्चमीका दिन जन्मेर गत २०८० को चैत्र ३० गतेको अपरान्ह ५ः३० बजे लाग्दो शुक्ल पञ्चमीकै तिथि रोजेर ७४ वर्षको उमेरमा आफ्नो अन्तर्धानको साइत जरुाएका थिए ।
विश्वमा ऐतिहासिक कालखण्डमा जन्मिएका कतिपय चर्चित ऐतिहासिक व्यक्तित्वहरू जुन तिथिमिति र महिनामा जन्मिएथे सोही समय र मुहूर्तलाई तिनले आफ्नो मृत्युको साइत जुरेको विषयलाई उल्लेख गर्न यहाँ बिर्सिएन । गौतम बुद्ध वैशाख पूर्णिमाका दिन जन्मेथे, सोही दिन उनलाई बुध्दत्व प्राप्त भएथ्यो पनि र वैशाख पूर्णिमाका दिन उनले महापरिनिर्वाण पनि प्राप्त गरेथे ।
श्रीकृष्ण प्रणामी धर्मका प्रवर्तक देवचन्द्रको जन्म वि.सं.१६३८ आश्विन शुक्ल चतुर्दशीका दिन भएथ्यो । उनले पनि परब्रह्म परमात्मा श्रीकृष्ण भगवान्को सोही दिन दर्शन पाएथे, सँगसँगै तारतम मन्त्र र तारतम ज्ञान प्राप्त गरेथे भने वि.सं. १७१२ अनन्त चर्तुदशीकै दिन सद्गुरु देवचन्द्रले आफ्नो पार्थिव शरीरको विसर्जन पनि गरेथे । नेपाली भाषा र साहित्यका माध्यमिककालीन शीर्षस्थ व्यक्तित्व युवाकवि मोतीराम भट्ट वि.सं.१९२३ भाद्र कुशेऔंसीका दिन आफ्नो इहलीला बिसाउन पुगेका थिए पनि । नेपालको इतिहासमा चर्चित परिवर्तनकारी नारी योगमायाको जन्म वि.सं. १९२४ असार १७ गते भएथ्यो भने तिथिमिति फरक परे पनि वि.सं.१९९८ असार ३१ गते आफू जन्मेको महिना असारमै एउटा ठूलै महिला समाजको जमात पछि लाएर जलसमाधिस्थ भै तत्कालीन निरङ्कुश शासकका विरुद्धमा आफ्नो देह त्याग गरेकी थिइन् । नाम चलेकाहरूको जन्म र मृत्युको दिन एउटै तिथिमिति मिल्ने गरेका प्रमाण थोरै मात्र पाइन्छन् । त्यस्ता थोरैमध्ये सामाजिक परिवर्तनका बाहक र एकजना समाज सुधारक हुन् दयानन्द दाहाल पनि । दयानन्द पनि सोही कोटिमा परेका छन् । उनले आफ्नो जीवनलाई सफलीभूत तुल्याउन गरेका केही उल्लेख्य कार्यहरूको वुँदागत टिपोटलाई निम्नरूपमा प्रकाशमा ल्याउन असान्दर्भिक ठहरिने छैन भन्ने ठान्दछु ।
उनले थुप्रै सत्कर्म पूरा गर्न आफ्नो जीवनमा अनेकौँ दुःख, कष्ट र हन्डर खपे । थुप्रै चुनौती र व्यवधानसित सामना गरे । उनको मृत्युपश्चात् प्रकाशित पछिल्लो कृति ‘अन्तरङ्गका कथा र व्यथाहरू’ को अध्ययन-विश्लेषणपश्चात् आफू बसेको समाजलाई उनी सधैँ सुन्दर देख्न चाहन्थे भन्ने कुरा सहजै बुझ्न सकिन्छ । उनी जहाँ बसे पनि जुनसुकै ठाउँमा कर्मशील भै खटे पनि, जुन कामको जिम्मेवारी उनले लिए, उनलाई सुम्पियो त्यसमा सफल हुन उनी दत्तचित्तका साथ लागिपरे । त्यस्ता हरेक काम सफल पार्न उनले अहम् भूमिका निर्वाह गरे जसलाई निम्नरूपमा उल्लेख गर्नु उपयुक्त हुनेछ ।
१) मादीमा क्याम्पस स्थापनाको प्रसङ्ग :
मादी बहुमुखी क्याम्पसको स्थापना, स्वीकृति, सञ्चालन, सम्बन्धन, अर्थसङ्कलन लगायत विनियम लेखन जस्ता कार्यमा तन, मन, वचन र कर्मले एकाग्र भै लागिपर्नु उनको जीवनको उनलाई बिर्सनै नमिल्ने अमीट इतिहास हो । सोही क्याम्पसको सुरुमा गठित तदर्थ सञ्चालक समितिको सचिव, २०६६ मा गठित क्याम्पस सञ्चालक समितिको अध्यक्ष, कहिले सहायक प्राध्यापक त कहिले सहायक क्याम्पसप्रमुख जस्ता विभिन्न पद र ओहोदामा रही क्याम्पस विकास, निर्माण र स्थायित्वमा निरन्तर काम गर्नु ।
२) माध्यमिक तहको प्रधानाध्यापक पदमा रही काम गरेको प्रसङ्ग:
२०२९ देखि २०३६ सम्म हिमालय मा.वि. खाँदबारीमा, २०३६ देखि २०४० सम्म अमरुवा मा.वि. आँखिभुईमा र मादी मा.वि. मा केही समय रही प्रधानाध्यापक भै ती विद्यालयको भैतिक, शैक्षिक, प्रशासनिक, आर्थिक विकास लगायतका विविध क्षेत्रको विकासमा दत्तचित्तका साथ काम गरेको पाइन्छ । समग्रमा झन्डै एक्काईस वर्ष भन्दा बढी समय शिक्षण पेसामा रही जिम्मेवारपूर्ण रूपमा काम गर्नु ।
३) नारायण मा.वि.को विकास र स्तरोन्नति सम्बन्धमा :
मार्सेमा रहेको नारायण प्रा.वि. लाई ओखरबोटेमा स्थानान्तरण गर्नेदेखि लिएर उक्त विद्यालयलाई नि.मा. तहमा स्तरोन्नति गर्ने गराउने तथा नि.मा. तहलाई माध्यमिक स्तरमा बढोन्नति गराउने काममा २०४१ देखि २०४७ तक अध्यक्ष रहँदा र २०६४ देखि २०७३ सम्म विद्यालय व्यवस्थापन समितिमा सदस्य पदमा रही सक्रियतापूर्वक काम गर्नु ।
४) अध्यक्षको पदीय जिम्मेवारीमा :
कहिले नारायण मा.वि.को अध्यक्ष, कहिले मादी बहुमुखी क्याम्पसको अध्यक्ष, ओखरबोटे सामुदायिक अध्ययन केन्द्रमा चार कार्यकालसम्म अध्यक्ष, मादीराम्बेनी वचत तथा ऋृण सहकारी संस्था लिमिटेडमा लगभग दुई पदावधि सम्म अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी मादीराम्बेनी उपशाखाको एक कार्यकाल सभापति, दाहाल सेवा प्रतिष्ठान प्रारम्भिक कार्य समिति मादी शाखाको अध्यक्ष, सोही संस्थाको जिल्ला शाखा कार्यसमिति अध्यक्ष जस्ता धेरैवटा संस्थामा रही हरेक ती संस्थालाई सक्रियतापूर्वक हाँक्ने काम गर्नु र प्रत्येकलाई सफलताको बाटोमा डो¥याउन सफल रहनु ।
५) संस्थागत ऐतिहासिक लेखन कार्यमा संलग्नता :
मादी माध्यमिक विद्यालयको २०५७ सालमा मनाइएको स्वर्ण जयन्ती महोत्सवमा उक्त विद्यालयको स्वर्णजयन्ती स्मारिकाको लेखन तथा सम्पादन, नारायण मा.वि. ओखरबोटेको स्वर्णजयन्ती स्मारिका (२०६४) को लेखन र सम्पादन, मादी बहुमुखी क्याम्पस मादीको रजत जयन्ती स्मारिका लेखन तथा सम्पादन (२०६८) तथा मादीराम्बेनी गा.वि.स. को गाउँ पाश्र्वचित्र (२०७१) लेखन जस्ता संस्थागत लेखन कार्यमा दृढतापूर्वक संलग्न रहनु ।
६) संस्थागत र व्यक्तिगत भवन निर्माणका कार्य सम्पन्नता :
दयानन्द दाहाल माथि बताइएबमोजिम जुनजुन विद्यालयमा प्रधानाध्यापक रहे हरेक विद्यालयमा कम्तीमा एकएक वटा भवनको इस्टमेट गर्नेदेखि लिएर निर्माण गर्ने काम उनले अत्यन्त खटेर पूरा गरे । मादी मा.वि.को खेल मैदान मुनिको भवन उनी आफू प्र.अ. नभए पनि समिति सदस्य छँदाको अवस्थामा अत्यन्त सक्रियतापूर्वक खटेर नै सम्पन्न गर्न सकिएको थियो, त्यस्तै नारायण मा.वि. को भवन निर्माण, ओखरबोटे सामुदायिक अध्ययन केन्द्रको भवन निर्माण, नेपाल रेडक्रस सोसाइटी मादी शाखाको भवन निर्माण लगायत झन्डै १० वटा जति संस्थाको भवन निर्माण कार्यमा उनको सक्रियता रहेको थियो भने उनले आफ्ना नितान्त व्यक्तिगत घरहरू समेत निर्माण गरेको हिसाब–किताब गर्दा लगभग डेड दर्जन भन्दा बढी घर र भवन निर्माण गरेको पाइन्छ ।
उनले आफू बित्नु भन्दा ठीक पहिले मादी न.पा. ५ स्थित तिखीढुङ्गामा ‘दयानन्द-ओमकुमारी कुलभवन तथा दाशु स्मृति वत्स सदन’ नामक भवन करिब १७ लाख रुपियाँको लागतमा आफ्नै व्यक्तिगत खर्च गरी गत २०८० पौष २८ का दिन कुल शिरोमणि दाशु स्मृति तथा अनुुुसन्धान प्रतिष्ठानका अध्यक्ष सहितका पदाधिकारी र दाहाल प्रतिष्ठान केन्द्रीय कार्यसमितिका अध्यक्ष पदाधिकारीलाई समेत उपस्थित गराई एउटा भव्य समारोहका बिचमा दाहाल प्रतिष्ठान मादी शाखालाई हस्तान्तरण गर्ने कार्य सुसम्पन्न भएको थियो । त्यस्ता दानवीर तथा मनकारी व्यक्ति दयानन्द दाहाल उक्त कार्य सम्पन्न गरी आफ्नो निवास भक्तपुरमा फिरेपछि जतिसुकै उपचार गरी निको पार्ने प्रयत्न जहानपरिवारजनले गरे तापनि पटक्कै निको हुन नसक्ने बिरामले उनलाई च्याप्यो र थला पा¥यो । हर तरहले उपचार गर्न खोजियो तर मृत्युका अगाडि कसैको केही पनि नलाग्दो रहेछ । मादीकै दाहाल वंशीय दाशुवंशीय नक्षत्र थिए उनी, तर सदाका लागि अस्ताचल भयो उनको भौतिक शरीर ।
७) कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रसङ्ग :
उनी दाशु स्मृति प्रतिष्ठानका संस्थापक आजीवन सदस्य तथा वर्तमान केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष त हुँदैहुन्, त्यसमा पनि दाशु स्मृतिग्रन्थ सम्पादन समितिका संयोजक पनि रहेका थिए । उनकै संयोजकत्वमा गठित उक्त समितिद्वारा दाशु स्मृतिग्रन्थको लेखन, सम्पादन र सङ्कलन कार्य अघि बढिरहेको थियो । उनले धेरै वटा सोधमूलक ऐतिहासिक लेखहरू लेख्ने कार्य समेत अघि बढाइसकेका थिए । तर समयले नै उछिन्यो उनलाई । उनले समयलाई सकेनन् उछिन्न । तर पनि उनले देखेको सपनालाई प्रतिष्ठानले अवश्य अधुरो रहन दिने छैन भन्ने लाग्छ ।
८) कृति लेखन, सङ्कलन र प्रकाशन प्रसङ्ग :
दयानन्द भनेका एकजना मादीका सिद्धहस्त इतिहासविद् तथा वंशावली सङ्कलक, सम्पादक तथा लेखन गर्ने सङ्खुवासभा जिल्लाकै इतिहासकार हुन् । उनले ‘साबिक मादीबिर्ताका दाहालहरूको वंश परिचय’ २०७६ नामक करीब हजार पृष्ठको पुस्तक प्रकाशित गरिसकेका छन् । जसमा मानव उत्पत्ति र विकासदेखि लिएर नेपालको इतिहासमा विभिन्न कालखण्डमा चलेका विभिन्न शासनकाल, वैदिक संस्कार र संस्कृति, मादीमा बसोवास गर्ने दाहालहरूको इतिहास र सोसम्बन्धी प्राप्त विभिन्न अभिलेखहरू सहितको वंशचिनारी र लेखनका क्रममा छोरी-बुहारी समेतको नाम नामेसी विवरणलाई समावेश गर्ने परम्पराको उनले नै थालनी गरेका हुन् । जुन विषय अन्य वंशावलीकारका निम्ति पनि अनुशरण गर्नलायक छ भन्नुपर्छ ।
आफ्ना पिताजीको स्मरणमा उनले ‘भीम-गुरु स्मृतिग्रन्थ’ २०८० भन्ने साढे तीनसय पृष्ठको पुस्तक पनि समयमै सम्पादन गर्न भ्याए । मादी मा.वि. का दीर्घसेवी गुरु पं.भीमप्रसाद दाहालका बारेमा संस्मरण गरी लेखिएका लेखहरू सहित भीम-गुरु आफैँद्वारा सिर्जित कतिपय सिर्जनाहरूको सँगालो पनि हो यो । मृत्युशय्यामा छट्पटाइ रहँदा पनि दयानन्दको अर्को अन्तिम धोको भनेको ‘अन्तरङ्गका कथा र व्यथाहरू’ २०८१ उनको सिङ्गो जीवनको संस्मरणात्मक संगालोको प्रकाशन गर्नु थियोे । यस कृतिभित्र दयानन्द दाहालको समग्र जीवनको उतार-चढाव र आरोह-अवरोहको अध्ययन-विश्लेषण गर्न पाइन्छ । उनले जीवनमा सफलता हात पारेका घटनाहरू र जीवनमा भोग्नुपरेका अनेक हन्डर, ठक्कर र चुनौतीहरूको फेहरिस्त पनि हो यो पुस्तक । यसले धेरैजसो पाठकमा प्रेरणा प्रदान गर्न अवश्य भुल्ने छैन भन्ने मेरो ठम्याइ छ ।
जे होस् दयानन्द दाहाल भन्नु जन्मथलो मादीको एउटा कर्मठ प्रमाणपत्र हो जसले जीवनमा धेरै हदसम्म सफलता हासिल गरेको छ । जिल्लाको एउटा आँट र बौद्धिक एकाग्रता हो र सिङ्गो समाज उजिल्याउन चाहिने समाज सेवाको एक बर्तन पनि हो । गर्न थालेको कामको अध्याय पूरा नगरी अधुरो अपुरो नछोड्ने क्षमतावान् व्यक्ति हो र एक दृढप्रतिज्ञ प्रतिभा पनि हो । उनलाई दाशु वंशका एक होनहार सन्तति र एक होनहार मनकारी दाता भन्नुमा पनि अतिशयोक्ति नहोला भन्ने लाग्दछ । किनभने उनले कुुल शिरोमणि दाशुको सालिकलाई दैलेखको दुल्लुको दह गाउँमा स्थापना गर्नका लागि पनि उनले सबैभन्दा ठूलो धनराशि एकलाख रुपियाँ चन्दा प्रदान गरेका छन् । दाशु स्मृति प्रतिष्ठानले पनि उनलाई मरणोपरान्त ‘दाशु कुलवंश विद्वत् भूषण’ उपाधिद्वारा विभूषित गरेको छ ।
(मादी नगरपालिका-६, सङ्खुवासभा
हाल : मध्यपुर थिमी नगरपालिका-१, लोकन्थली, भक्तपुर)