तुम्लिङटार विमानस्थलमा उडान ठप्प
संखुवासभाकाे तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ । विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान बन्द भएको विमानस्थल प्रशासनले जनाएकाे छ ।
वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो । मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिए । उनका अनुसार जनवरीयता ४४ पटक उडान रद्द भएको छ । तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन् ।
उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटीआर-७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो ।
उडान अवरुद्ध भएपछि संखुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन् । तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो । विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँ यात्रुको चाप उच्च हुने गर्छ ।