साँच्चै ‘माछापुच्छ्रे’ गुरुङ जातिको देवता हो ?
पोखरा सरहको शिर (उत्तर-उत्तरपूर्व)मा सम्भवतः विश्वकै सुन्दर हिमालमा गन्न सकिने माछापुच्छ्रे हिमाल रहेको छ । हुनत केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा सहरलाई पर्यटकीय राजधानी भनी घोषणा गरेका छन् । सो कार्यक्रम गण्डकी प्र्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको थियो । त्यसको मतलब केन्द्र सरकारको भूमिका खासै थिएन, छैन । जे भए तापनि धेरै समय अघिदेखि नै नेपालका पर्यटन व्यवसायीहरु माझ चाहिँ पोखरा सहरलाई अनौपचारिक रुपमा पर्यटकीय राजधानी भनेर नै भन्ने, चिन्ने गरिन्थ्यो ।
यसै सन्दर्भमा यो लेखमा देशको पर्यटकीय राजधानी भनी घोषणा पोखरा र समग्र गण्डकी प्रदेशकै लागि प्रकृतिले दिएको उपहार र अमूल्य निधिको रुपमा रहेको माछापुच्छ्रे हिमालका सम्बन्धमा केही लेख्ने जमर्को गरिएको छ ।
त्यसो त उचाइका हिसाबले माछापुच्छ्रे हिमाल धेरै अग्लो पनि होइन र, धेरै होचो पनि होइन । माछापुच्छ्रे हिमालको उचाई केवल छ हजार नौ सय त्रियानब्बे (६,९९३) मिटर मात्रै रहेको छ । साथै माछापुच्छ्रे हिमाल नेपालको पछिल्लो प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे्र गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा ‘फिसटेल’ र स्वीस-जर्मन भाषामा ‘म्याटर्नहर्न’ भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । नेपाली भाषामा चाहिँ ‘माछापुच्छ्रे’ भन्ने नाम भई हाल्यो ।
अहिले आरोहणका लागि निषेध गरिएको माछापुच्छ्रे हिमाल सुरुदेखि आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थियो ? यो विषयमा तपाईं-हामीमध्ये धेरै कमलाई मात्रै वास्तविकता थाहा छ । त्यसैले अब हामीले ‘माछापुच्छ्रे हिमाल’ आरोहण गर्न दिने, नदिने भन्ने सम्बन्धमा फेरि आम जनताबीच व्यापक रुपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने इतिहास हेर्दा/पढ्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्र्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरुले गरेका थिए । सम्भवतः उनीहरु बेलायती टोली रहेका थिए । (स्रोतः डाक्टर हर्क गुरुङद्वारा लिखित विषय विविध पाना-८६) । सो टोलीले बाटो खोज्दै जाने क्रम (माछापुच्छ्र्रे आधार शिविर जाने बाटो)मा सो बेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यस कारणले गर्दा नै सोभन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती पर्वतारोही टोलीले ।
गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे्र हिमाल आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्र्रे हिमालभन्दा केवल ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रष्ट हुन्छ । आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी गुरुङले आफ्नाे लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।
हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजक गुरुङ स्वयं रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीहरुको नेपाली भाषामा नामाकरण गर्ने समितिको संयोजकको रुपमा म मोदीखोलाका गाउँहरु घुमेँ । हिमचुलीहरुको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’ यसरी हर्दाखेरि कर्नेल जिमी रोबर्ट आफूले चढ्न नसकेको चुलीलाई अरुले पनि नचढून् भन्ने कपटपूर्ण चाहनाले गर्दा हो न हो माछापुच्छ्रे हिमाल गुरुङ जातिको देवताको रुपमा रहेको मूल्य मान्यता स्थापित भएको छ । त्यसै मान्यता अहिलेसम्म स्थापना भएको हुनाले माछापुच्छ्रे हिमाल चढ्न सकिँदैन, चढ्न हुँदैन ! भन्ने गलत भ्रम र सोही मान्यतालाई स्थापित गर्दै लगियो । त्यतिले मात्रै नपुगेर अनि त्यस खालको गलत भनाई नै पछि नियमसरह लागू गर्दै प्रभावित पार्याे ।
त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस)ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरुको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरुले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्कसंगत र न्यायसंगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यवहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाईको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।
पछिल्लोपटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नाे राय/सुझाव दिई सकेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर शाहीले बताएका छन् । तर, पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने/नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताउँछन्, प्रवक्ता शाही ।
नेपाली समाज त्यो बेला (लगभग ६७ वर्षअघि) को भन्दा आज धेरै फरक सोच्ने र बुझ्ने भइसकेका छन् । अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखिराख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरुले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल पवित्र र सुन्दर छ !’ भन्लान् ।
त्यसैले अब प्रदेश सरकार र केन्द्र सरकारले जति सक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहणप्रेमीहरुका लागि खुल्ला गरेको घोषणा गरोस् । खासमा भन्ने हो भने माछापुच्छ्रे हिमालले केवल पोखरा अनि पोखरा सहर वरपरको मात्रै नभएर गण्डकी प्रदेश र समग्र देशको विकासमै योगदान गर्न सक्ने सम्भावना देखिन्छ । किनभने माछापुच्छ्रे हिमाल अन्य हिमालहरु हेरेर केही सुगम स्थानमा छ । आकर्षक रहेको छ । अनि अति सुन्दर पनि छ । उचाई पनि न धेरै अग्लो, न धेरै होचो, ठिक्कको छ ।