मौलिक एकरुपताका लागि डोकेनी प्रतियोगिता हुने

मौलिक एकरुपताका लागि डोकेनी प्रतियोगिता हुने

संखुवासभाकाे मादीमूलखर्क (वालिङ, दशमझिया)मा एक कार्यक्रमकाे अवसरमा प्रदर्शित डाेकेनी । (फाइल तस्विर : भीम देवान)

याक्खा जातिको मौलिक संस्कृति डोकेनी नाचको प्रतियोगिता हुने भएको छ । किरात याक्खा छुम्मा, कोशी प्रदेश समितिको प्रथम अधिवेशनको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

डोकेनीलाई साझा अपनत्व सहितको मौलिक एकरुपता दिन प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । प्रतियोगितामा सहभागी हुन सम्बन्धित समिति र कलाकारहरुलाई छुम्माले अनुरोध गरेको छ । प्रदेश समितिको अधिवेशन आगामी जेठ १५ गते धनकुटामा हुने तय भएको छ ।

सहभागिताका लागि वडा, टोल, गाउँ, नगर र जिल्ला समिति लगायत सम्बन्धित सबैतिर अनुरोध गरिएको छुम्माका केन्द्रीय सचिव एवं प्रदेश सह-इञ्चार्ज हेमराज जिमीले जानकारी दिए । उनका अनुसार प्रतियोगीमध्ये उत्कृष्ट तीन समूहलाई पुरस्कृत गरिने छ ।

लक्ष्मीपूजाको साँझ घर-घर डुलाएर नाचिने डोकेनी नाचलाई ‘साङदाङराङमा लाक’ पनि भनिन्छ । यस नाचमा महिला मात्र सहभागी हुन्छन् ।

सम्बन्धित खबर