मकालु हिमालमा फ्रान्सेली आरोहीको मृत्यु
मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ । फ्रान्सेली पर्वतारोही ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।
प्रहरीका अनुसार मकालु हिमाल आरोहण गर्ने क्रममा ८ हजार ३५० मिटरको उचाइमा पुगेको फ्रान्सेली नागरिक जोनी अचानक बिरामी परेका थिए । उनलाई ८ हजार १२० मिटरमा झार्ने क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ । उनीसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ ।
एक साताअघि मकालु आरोहण गरी ओर्लने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो । यस वर्ष मकालु आरोहण गर्ने ५९ जना विदेशी आरोहीले अनुमति पाएका छन् ।
संखुवासभामा अवस्थित मकालु हिमाल विश्वको पाँचौँ अग्लो हिमाल हाे ।