किन स्थगित भयो छुम्माको प्रदेश अधिवेशन ?

किन स्थगित भयो छुम्माको प्रदेश अधिवेशन ?

यही जेठ १५ गते हुने भनिएको किरात याक्खा छुम्मा, कोशी प्रदेशको अधिवेशन स्थगित भएको छ । अधिवेशन स्थगित गरिएको सूचनामा ‘विविध कारण’ उल्लेख गरिएको छ । यद्यपि खास कारण भने खुलाइएको छैन ।

प्रदेश सह-इञ्चार्ज एवं केन्द्रीय सचिव हेमराज जिमीले फेसबुकमा सो सूचना लेख्दै सबैलाई आ-आफ्नो ठाउँबाट तयारी जारी राख्न अनुरोध गरेका छन् । ‘किरात याक्खा छुम्मा, १ नम्बर प्रदेशको ऐतिहासिक सम्मेलन मिति २०८१ जेठ १५ गते तोकिएकोमा विविध कारणले सो मितिमा नहुने जानकारी गराउँदछौं । १ नम्बर प्रदेशमा रहनुहुने सम्पूर्ण याक्खा समुदायले निरन्तर तयारी गरिरहन अनुरोध गर्दछौं,’ सह-इञ्चार्ज जिमीले जेठ ३ गते सार्वजनिक गरेको सूचनाको व्यहोरा छ ।

वास्तविक कारण नखुलेकाले याक्खा समुदायमा अन्योल उत्पन्न भएको छ । कतिपयले आन्तरिक खिचातानीले कार्यक्रम सारिएको हुनसक्ने आँकलन पनि गरेका छन् । वर्षातको समय नजिकिँदै जाँदा खास कारणबिना सम्मेलन स्थगित गर्नु उपयुक्त नभएको जिल्ला र पालिका समितिका पदाधिकारीहरुको गुनासो छ ।

प्रदेश इञ्चार्ज एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जना ताम्लीले तयारी नपुगेकाले नै अधिवेशन स्थगित गर्नुपरेको बताइन् । उनका अनुसार ३-४ दिनपछिको मितिमा कार्यक्रम गर्नेगरी तयारी भइरहेको छ । ‘निर्धारित मितिअघि गर्नुपर्ने कामहरु समयमै सम्पादन गर्नै सकेनौं । समय अपर्याप्त भयो, त्यसैले केही दिनपछि नै गर्नेगरी अधिवेशन स्थगित गरिएको हो,’ याक्सिगुमखबरसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष ताम्लीले भनिन् ।

सह-इञ्चार्ज जिमीले भने लगभग तयारी सकिएको बताए । जेठ १५ मा बजेट भाषण हुने भएकाले पनि अधिवेशन सार्नु परेको उनको भनाइ छ । ‘खासमा सबै किसिमको आन्तरिक तयारी पूरा नभएर नै स्थगित गरिएको हो । १६ गते हामी अर्को मिति सार्वजनिक गर्छौं,’ उनले भने ।

केन्द्रीय समितिका एक पदाधिकारीले भने अधिवेशनको नयाँ मिति जेठ १९ का लागि अनौपचारिक निर्णय भइसकेको बताए । निर्धारित मितिमा अधिवेशन नहुनुको पछाडि अन्य कारणहरु समेत रहेको अर्का पदाधिकारीको भनाइ छ । उनका अनुसार प्रदेश समिति र मातहतमा गठन भएका उपसमितिहरुले समयमै जिम्मेवारी पूरा नगर्दा अधिवेशन स्थगित गर्नु परेको हो । ‘ल्याउन लागिएको प्रमुख अतिथिको समय नमिल्दा कार्यक्रम सारिएको भन्ने पनि सुनेको छु,’ उनले भने ।

संखुवासभा र धनकुटा जिल्लामा याक्खा जातिको थाकथलो रहेको छ । उल्लिखित जिल्लामा नै याक्खाहरुको सघन बसोवास भएकाले पनि कोशी प्रदेश अधिवेशनको विशेष महत्व रहन्छ ।

सम्बन्धित खबर