आज उभौली पर्व, हर्षोल्लाससहित मनाइँदै

आज उभौली पर्व, हर्षोल्लाससहित मनाइँदै

किरात समुदायले मनाउने विभिन्न पर्वमध्ये उभौली पर्व पनि एक हो । वैशाखे पूर्णिमाको दिन मनाइने यस पर्वको किरात समुदायमा छुट्टै महत्व छ ।

आज वैशाखे पूर्णिमा, अर्थात् उभौली पर्व । किरात समुदायअन्तर्गतका राई, लिम्बु, याक्खा र सुनुवार जातिले यो पर्व हर्षोल्लासका साथ मनाउँछन् । प्रकृतिपूजक यस समुदायले आजको दिन अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै प्रकृति र पितृसँग कामना गर्दछन् । यसपछि मंसिरे पूर्णिका दिन भने उधौली पर्वको नाममा मनाउने गरिन्छ । त्यस दिन खेतीबाली राम्रो भयो, अन्नबाली सप्रियो भनी प्रकृति र पितृलाई धन्यवाद दिइन्छ ।

यी दुवै पर्वले कृषि र बालीसँग सम्बन्ध राख्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौली र उधौलीका दिन किरात समुदायले सामूहिक पूजाआजा पनि गर्दछन् । यस अवसरमा भेटघाट, जमघट र नाचगान भने हप्तौंसम्म हुनेगर्छ । पर्वलाई उल्लासमय बनाउन विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिन्छ ।

आज ललितपुरको सानो हात्तीवनमा किरात समुदायले बिहानैदेखि सामूहिक पूजाआजा सुरु गरेका छन् । यसका साथै किरात समुदायकाे बसाेवास रहेका क्षेत्रहरूमा पनि उभाैली पर्व धुमधामका साथ मनाइन्छ । नेपालबाहिर रहेका किरातीहरूले पनि याे पर्व मनाउने गर्दछन् । पूजापछि शुभकामना आदानप्रदान गर्दै दिनभर नाचगान हुनेगर्छ ।

 

सम्बन्धित खबर