किमाथांका नाका पुन: सुचारु हुँदै, तीन दिन मेला लगाउने तयारी

किमाथांका नाका पुन: सुचारु हुँदै, तीन दिन मेला लगाउने तयारी

किमाथांका गाउँ । पारि देन्दाङ बजार । (फाइल तस्बिर)

चीनसँग जोडिएको संखुवासभाको उत्तरी किमाथांका नाका पाँच वर्षपछि भोलिबाट खुल्दैछ । नाका खुल्ने भएसँगै स्थानीयवासी उत्साहित भएका छन् ।

शनिबार औपचारिक कार्यक्रम गरी नाका खुलाउने तयारी भइरहेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले बताए । उनका अनुसार सो कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिपक खड्कालगायतको उपस्थिति रहने तय भएको छ । चीनतर्फबाट पनि कार्यक्रममा नेपालका परराष्ट्रमन्त्रीको समकक्षी तहकै पदाधिकारीको सहभागिता रहने आफूलाई जानकारी आएको अध्यक्ष लामाले बताए ।

चीनतर्फका विशिष्ट व्यक्तिहरु देन्दाङ र चांगातर्फ आइसकेको जानकारी चिनियाँ पक्षबाट आएको अध्यक्ष लामाले बताए । ‘भोलिको औपचारिक कार्यक्रमलाई उहाँहरुले पनि उत्तिकै महत्व दिनुभएको छ । उतातर्फबाट आउने विशिष्ट व्यक्तिहरु देन्दाङ र चांगा आइसक्नु भएको भनिएको छ, विस्तृत कुराहरु खुलाउनु भएको छैन,’ अध्यक्ष लामाले भने ।

सीमा नाका पुनः सुचारुको औपचारिक कार्यक्रम चिनियाँ भूमिमा हुने भएकाले यसको अधिकांश तयारी चिनियाँ प्रशासनकै तर्फबाट भइरहेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । ‘काठमाडौंबाट परराष्ट्र मन्त्रीज्यु नेतृत्वको टोली आउने कार्यक्रम छ । खाँदबारीबाट सुरक्षा समितिको टोली सहभागी हुन्छ । ११ देखि साढे ११ बजेभित्र कार्यक्रमस्थलमा नेपाली पक्ष पुगिसक्ने तालिका तय भएको छ,’ उनले भने ।

तीन दिन मेला

नाका खुलेको अवसरमा तीनदेखि चार दिनसम्म मेला लगाउने तयारी भएको अध्यक्ष लामाले बताए । उनका अनुसार नेपाल र चीन दुवैतर्फका उत्पादनहरु खरिदविक्री हुनेगरी चांगा बजारमा मेला लाग्ने तयारी भइरहेको हो । ‘आजै नेपालतर्फका ५९ जना व्यापारीहरु पारि गइसक्नु भएको छ । भोलिबाट मेला सुरु हुन्छ,’ उनले भने ।

किमाथांका नाका भोटखोला गाउँपालिकाको वडा नम्बर १ मा पर्छ । किमाथांका गाउँबाट कामुखोला र अरुण नदीको सीमापारि चीनको स्वशासित क्षेत्र तिब्बतको दिंगे कन्ट्रीअन्तर्गत देन्दाङ र चांगा बजार रहेको छ । यी दुई बजार नेपालतर्फका खासगरी भोटखोलावासीका लागि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु किनमेल गर्ने मुख्य बजार हो । कोरोना संक्रमण फैलिने त्रासमा चीन सरकारले २०६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो । किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ ।

सम्बन्धित खबर