गीतकार पद्मा लिंखा मगरलाई ‘डायस्पोरा गीतकार सम्मान’
गीतकार पद्मा लिंखा मगरलाई ‘डायस्पोरा गीतकार सम्मान-२०८०’ प्रदान गरिने भएकाे छ । याे सम्मान गीतकार संघ नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्दछ ।
‘विदेशमा बसी नेपाली गीत लेखनमा याेगदान पुर्याएबापत अमेरिकाकाे न्युयाेर्क बसाेवास गर्ने गीतकार श्री पद्मा लिंखा मगरलाई रू.१५००।- नगदसहित प्रमाणपत्र र दाेसल्ला ओढाएर डायस्पोरा गीतकार सम्मान-२०८० द्वारा सम्मान गरिनेछ,’ संघले बिहीबार विज्ञप्तिमार्फत भनेकाे छ । आफू सम्मानित हुने भएपछि गीतकार लिंखा मगरले जिम्मेवारी सुम्पिएकाे महसुस गरेकाे उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘गीतकार संघ नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै यस पुरस्कारको साथमा मलाई थप जिम्मेवारी सुम्पिएको महसुस गरेकी छु | हजुरहरूको विश्वास र जिम्मेवारीलाई वहन गर्न आशिर्वाद मिलिरहोस् ।’
गीतकार लिंखाकाे गीति एल्बमहरू ‘नजर’ (२०७०), ‘नजर-२’ (२०७२), ‘नजर-३’ (२०८०), गीत संग्रह ‘इन्द्रेनी’ (२०७२) र गजल संग्रह ‘उज्यालाेकाे खाेजी’ (२०७२) सार्वजनिक भइसकेका छन् ।
संघले आफ्नो स्थापना दिवसको अवसरमा गीत संगीत क्षेत्रका अन्य सर्जकहरुलाई पनि सम्मानित तथा पुरस्कृत गर्ने भएको छ । ताम्रपत्र र रु.१,५१,०००।- सहितको ‘अमर-भावना स्रस्टा सम्मान-२०८०’ गीतकार डा. भोला रिजाललाई प्रदान गरिने संघले जनाएको छ । त्यस्तै विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान-२०८० बाट मैथिली भाषाका गीतकार अशोक दत्त सम्मानित हुने भएका छन् ।
भैरवनाथ रिमाल (कदम) वर्ष गीतकार पुरस्कार-२०८० का लागि संघले उत्कृष्ट १० गीतको सूची सार्वजनिक गरेको छ । त्यस्तै, जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार-२०८० का लागि पनि उत्कृष्ट तीन गीत पुस्तक सार्वजनिक गरिएको छ । जसमा पूर्णबहादुर साउद (शिरिष)को ‘आधा आधी’, जनक वाग्लेको ‘मैना चरी कहाँ गई ?’ र अगम विकरालको ‘यादको मूच्र्छना’ रहेका छन् ।
श्रष्टाहरूलाई यही जेठ १४ गते काठमाडाैंकाे जमलस्थित सांस्कृतिक संस्थानमा आयाेजना हुने कार्यक्रममा सम्मानित गरिने संघले जनाएकाे छ ।