खुल्यो किमाथांका नाका

खुल्यो किमाथांका नाका

किमाथांका गाउँ । पारि देन्दाङ बजार । (फाइल तस्बिर)

संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांका नाका आजदेखि पुन: सुचारू भएकाे छ । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांकासहित देशका १४ वटै उत्तरी सीमावर्ती नाकाहरू सञ्चालनमा आएकाे हाे ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल-चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे । कोरोना संक्रमण फैलिने त्रासका कारण चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका आजैदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन् । गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल-चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमश: खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको तिब्बती भूमि पुगेको थियो ।

किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ ।

किमाथांका नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् । विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरुलाई समस्या भएको थियो ।

सम्बन्धित खबर