‘हाम्रो धरान’मा विजयपुरको इतिहास ‘कपोकल्पित’, सच्याउन माग गर्दै ज्ञापनपत्र

‘हाम्रो धरान’मा विजयपुरको इतिहास ‘कपोकल्पित’, सच्याउन माग गर्दै ज्ञापनपत्र

धरान उपमहानगरपालिकाद्वारा प्रकाशित पाठ्यपुस्तक ‘हाम्रो धरान’मा विजयपुरको इतिहास गलत लेखिएको भन्दै लिम्बु विद्यार्थी मञ्चसहितका संस्थाहरूले सच्याउन माग गरेका छन् । विजयपुरसम्बन्धी पाठ्यपुस्तकमा समावेश इतिहासलाई कपोकल्पित भन्दै ती संगठनले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् ।

कक्षा-६ का लागि प्रकाशित उक्त पुस्तकको पृष्ठ १२८ र पृष्ठ ७६ मा राखिएको पाठ्यांशलाई मञ्चसहित किरात याक्थुङ चुम्लुङको नगर र सुनसरी जिल्ला समितिले सच्याउन माग गरेकाे हाे । ज्ञापन पत्रमा भनिएको छ ‘पुस्तकको पृष्ठ नं १२८ को विजयपुरगढी शीर्षकमा विजयपुरका संस्थापक ‘पाल्पाका सेनवंशी राजा विजयनारायणले राज्य विस्तारको क्रममा विजयपुरगढीको स्थापना गरेको मानिन्छ’ भनी उल्लेख गरिएको छ । साथै पृष्ठ नं ७६ को बुढासुब्बा शीर्षकमा किराँतेश्वर मन्दिर लगायत कपोलकल्पित कुराहरू उल्लेख गरेकोमा खेद प्रकट गर्दछौँ ।’ धेरै इतिहास हुँदाहुँदै पनि लेखकहरूले गृहकार्य नगरी विजयपुरगढी शीर्षकमा हचुवाका भरमा लेख्नु र हजारौँ विद्यार्थीहरूलाई गुमराहमा राख्ने जानकारी दिनु खेदजनक भएको उल्लेख गर्दै ज्ञापन पत्रमा विजयपुर दरबार, विजयपुर दरबार परिसर र विजयपुर राज्य बेग्लाबेग्लै कुराहरू भएको बताइएको छ ।

‘विजयपुरका संस्थापक विजयनारान राय लिम्बु हुन् । उनी वि.स.१६४१-१६६६ सम्म राजा थिए । साङ्लाइङका अन्तिम पुस्ताका राजा विजय नारायण राय हुन् । उनले आफ्नो नाममा विजयपुर राजधानी बनाएका हुन् । उनी विजयनारायण राय पछि मात्र विजयपुरमा सेनहरू आएका हुन् । विजयपुर आउने पहिलो सेनवंसी राजा लोहाङ सेन हुन् विजयनारायण सेन होइनन्,’ ज्ञापनपत्रमा भनिएकाे छ, ‘मोरङ राज्यका शासक साङलाइङको वंश वृक्ष पनि जोडिन्छ । साङलाइङका छोरा पुङलाइङले राजा भएपछि हिन्दु मत धारण गरेर अमर राय भए । पुङलाइङ अर्थात् अमर रायपछि कीर्तिनाराण, अपनारायण, जारेनारायण, इङदिङनारायण र विजयनारायण राजा भए । विजयनारायणले साँगुरीगढी र वाराताप्पाको बिच १७ ओैँ सदीमा एक सहर बसाए । जसको नाम विजयपुर राखे । त्यस्तै, भव्य दरबार बनाए । जुन विजयपुर दरबारका नामले चिनिन्छ ।’

ज्ञापनपत्रमा विजयनारान रायले पहाड अर्थात् फेदापका राजा मुरेहाङ खेवाङसँग सम्झौता गरेर उनलाई पहाड मधेसका शासक बनाएको प्रसंग पनि उल्लेख छ, ‘विजयनारान रायले पहाड अर्थात् फेदापका राजा मुरेहाङ खेवाङसँग सम्झौता गरेर उनलाई पहाड मधेसका शासक बनाए । उनी विजयपुरका चौतरिया भए । जबकि, विजयपुर चाहिँ मोरङ-मधेस र पहाड (फेदाप) दुवैको राजधानी बन्यो । पछि, आन्तरिक कलह हुँदा मुरेहाङले मृत्युदण्ड पाएपछि छोरा बाजहाङ (बाजु) रायले प्रतिशोध लिन मकवानपुरका राजा लोहाङ सेनसँग सहायता मागे । लोहाङ सेनले विजयपुर कब्जा गरे । बाजु रायको युद्धका क्रममा गिद्दे पहाडमा मृत्यु भयो । विजयपुर मोरङ कब्जा गरेपछि लोहाङ सेनले आफूलाई त्यहाँका शासक घोषणा गरे । बाजु रायका छोरा पानोहाङ खेवाङ उर्फ विद्याचन्द्र रायलाई राजकाजको जिम्मा दिएर मकवानपुर फिरे । त्यसपछि, विजयपुर सेनमकवानवंशको शासन अन्तर्गत आएको हो । यद्यपि, विजयपुर राज्यले पूर्ण स्वायत्तताको उपभोग भने गरेको थियो । जुन १८३१ सम्म कायम रह्यो ।’

वि.सं. १८३१ साउन २२ अगाडि विजयपुर बेग्लै राज्य रहेको जनाउँदै अगाडि भनिएकाे छ, ‘सेनकालीन स्याहा मोहरहरूमा सेन राजाका चौतरिया बुद्धिकर्णले विजयपुरबाट रामभक्त पण्डितलाई विसं १८२४ मा र तुलाराम पण्डितलाई १८२९ मा स्याहा मोहोर गरिदिएको इतिहास छ । कामदत्त सेनको हत्या भएपछि उनी विजयपुरका हर्ताकर्ता भए । विजयपुरका चौतरियाको वंशमाथि अरुणपूर्वका देवानहरूको पनि दाबी छ । त्यस्तै, विजयनारानका वंशउपर सातरेनुहाङ तुम्बाहाङ्फेहरूले पनि दाबी गर्छन् । फेदाप थुमका शासक सेन्सेमगुम फेदापहाङकावंशहरू सिदिइङ र साङलाइइङ भएको इतिहास छ । विजयपुरका शासकको कुटुम्ब थिन्दोलुङ खो?याहाङवंशी मेन्याङ्वो र आङबुहाङसँग पनि जोडिन्छ । उनीहरूकै चेली थाङसाङओतीको स्मृतिमा पोखरी खनिएको चर्चा छ । जुन कालान्तरमा ‘सरस्वती कुण्ड’ भनेर हिन्दुहरूले नामकरण गरे ।’

मेयर साम्पाङ समक्ष ज्ञापन पत्र प्रस्तुत गर्दै लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय महासचिव प्रदीप नेयङ लिम्बुले उक्त पाठ्यांश तत्काल सच्याएर मात्र पठन पाठन गर्न गराउन माग गरे । मेयर सम्पाङले स्थायी विषयलाई धरानका विद्यालयहरूमा पठनपाठन गराउने लामो प्रयास पछि प्रकाशित पाठ्य पुस्तकमा त्रुटि देखिनुमा तयार गर्ने कार्यदल जिम्मेवार भएको बताए । उनले कार्यदलमा रहेका विद्वानहरूसँग यस विषयमा छलफल गरी सच्याउने प्रक्रिया सुरु अघि बढाइने बताउँदै हाल उक्त पाठ्यांश पठन पठन नगर्ने व्यवस्थाका लागि शिक्षा महाशाखालाई निर्देशन दिएका छन् ।

सम्बन्धित खबर