कोशीका ४ जिल्ला बाढी र बाँकीमा पहिरोको जोखिम

देशभर १८ लाख १ हजार जनसंख्या प्रभावित हुने आँकलन

कोशीका ४ जिल्ला बाढी र बाँकीमा पहिरोको जोखिम

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपदबाट १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी प्रभावित हुने आँकलन गरेको छ । यो गत वर्षको तुलनामा ६ लाखले बढी हो । २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपदबाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो ।

यस वर्ष प्रत्यक्ष प्रभावित हुनसक्ने घरपरिवारको संख्या ८३ हजार र उद्धार तथा राहत दिनुपर्ने घरपरिवारको संख्या १८ हजार हुने अनुमान छ । यस वर्षको मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा बढी प्रभाव पर्ने आँकलनका आधारमा सेना, सशस्त्र र नेपाल प्रहरीको जनशक्ति पनि ३१ हजारभन्दा बढी परिचालन गर्ने योजना छ ।

नेपाली सेना १० हजार ८ सय ४७, नेपाल प्रहरी १० हजार ५ सय ८५ र सशस्त्र प्रहरी बल ९ हजार ९ सय २४ जना परिचालन गर्ने योजना छ । यीबाहेक स्काउट लगायतका स्वयंसेवक पनि परिचालन गर्ने योजना छ । गतवर्ष नेपाली सेना १० हजार ५ सय १८, नेपाल प्रहरी ११ हजार ६ सय ६१ र सशस्त्र प्रहरी बल ९ हजार ४ सय ९० जना परिचालित भएका थिए ।

नेपालमा सामान्यतया १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । जेठदेखि असोजसम्मको चार महिनाको मनसुन अवधिमा नेपालमा औसतमा १ हजार ४ सय ३० देखि १ हजार ५ सय ३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । यो कुल वार्षिक वर्षाको ८० प्रतिशत हो । धेरै पानी पर्ने हुँदा यसले विपद्को रूप पनि लिने गर्दछ ।

गत वर्षको मनसुन अवधिमा कुल ७ सय ६९ विपद्का घटना हुँदा ६३ जनाको मृत्यु, ६९ जना घाइते र ३० जना बेपत्ता भएका थिए । ५ हजार ९ सय ३७ घरपरिवार प्रभावित भएका थिए भने ३३ करोड १९ लाख बराबरको क्षति भएको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको अध्यक्षता गरेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सबैले एकढिक्का भएर विपदको सामना गर्नुपर्ने बताएका छन् ।

राहत सामग्री जिल्लाभित्र ढुवानीका लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार बढीमा २ लाख रुपैयाँसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट खर्च गर्न अख्तियारी दिने, भण्डारण केन्द्रबाट जिल्लासम्म राहत सामग्री पुर्‍याउने काम प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्रले गर्ने निर्णय कार्यकारी समितिले गरेको छ । जिल्ला प्रशासन कार्यालयमा हेल्पडेस्क स्थापना गर्नसमेत निर्देशन दिइएको छ ।

यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेशमा प्रभाव पर्ने आँकलन गरिएको छ । प्राधिकरणले कोशी प्रदेशमा २२ हजार घरपरिवार प्रभावित हुनसक्ने र ५ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमानित तथ्यांक तयार पारेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको अवधिमा नेपालको पूर्वी क्षेत्रमा सामान्यभन्दा अत्यधिक वर्षा हुने पूर्वानुमान भएकाले कोशी प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डा. भट्टराईले बताए ।

कोशी प्रदेशका १४ जिल्लाहरूमध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान छ । गत वर्षको मनसुन अवधिमा पनि सबैभन्दा धेरै कोशी प्रदेशमा २ सय १३ वटा विपद्का घटना भएका थिए । मानवीय क्षति पनि कोशी र बागमतीमा समान (१७-१७ जनाको मृत्यु) भएको थियो । कोशीपछि धेरै प्रभावित हुने प्रदेशहरूको सूचीमा क्रमशः मधेश, लुम्बिनी, बागमती, सुदूरपश्चिम, गण्डकी र कर्णाली छन् ।

कार्ययोजनालाई गृह मन्त्री रवि लामिछानेको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारितसमेत गरेको छ ।

सम्बन्धित खबर