रीदूम लेखन, खूलूहरूसँग त्यो भेटघाट अनि उहाँहरुको अमूल्य योगदान
नेपालमा बसोवास गर्ने धेरै जसो जातजाति, भाषाभाषी, धार्मिक समूहको आफ्नै मातृभाषा, मौलिकता, धर्म-कर्म, संस्कृति, संस्कार, वेषभुषा, चाडबाड, ऐतिहासिक भूमि, पितापूर्खाहरुको इतिहास, आ-आफ्नो वंशवृक्षको जरा, परम्परागत कानुन, रीतिथिति, हामी भन्ने भावना, रहनसहन, चालचलन आदि रहेको हुन्छ । त्यसो भए तापनि नेपालका कतिपय जातजाति र भाषाभाषीको मातृभाषा, मौलिकता, धर्म-कर्म, संस्कृति, संस्कार, वेषभूषा, चाडबाड, ऐतिहासिक भूमि, पितापूर्खाहरुको इतिहास, आ-आफ्नो वंशवृक्षको जरा, परम्परागत कानुन, रीतिथिति, हामी भन्ने भावना, रहनसहन, चालचलन हराई सकेको वा हराउन आँटेको स्थिति रहेको छ ।
जबकि नेपालमा बसोवास गर्ने सबै जातजाति, भाषाभाषी, धार्मिक समूहको मातृभाषा, मौलिक मौलिक धर्म-कर्म संस्कृति, संस्कार, वेषभुषा, चाडबाड, इहितास, उनीहरुका ऐतिहासिक पात्र, पितापूर्खा, वंशवृक्ष, परम्परागत कानुन, रीतिथिति, रहनसहन, चालचलनलाई सिंगो नेपालकै अमूल्य सम्पत्ति ठानेर संरक्षण, सम्वर्द्धन गर्ने र, कम्तिमा समय छँदै राज्य नै लागी परेर लेखन कार्य गरिकन उतार (दस्तावेजीकरण) गरिहाल्नुपर्ने हो । तथापि राज्य भने कताकती अझै पनि जाति र एकल धार्मिक समूहको वर्चश्व रहेको भाषा, धर्म, संस्कार संस्कृति, वेषभुषा, चालचलन, रीतिथिति, चाडबाड, मेलापर्व आदिलाई नेपालका सबै जातजाति वाध्यता वा करकापले मान्नुपर्ने (कतिपय जातजातिहरुले त स्वतः स्फूर्त रुपमा मान्ने गरेको) वाध्यता सिर्जना गर्नमै तल्लीन रहेको हो कि ? भनी शंका गनुृपर्ने स्थिति रहेको देखिन्छ ।
भलै २०७२ सालमा आएको नयाँ संविधानले चाहिँ नेपाललाई ‘एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भगौलिक विविधता युक्त विशेषता…’ भनी धेरै ठाउँमा व्याख्या गरिएको देखिन्छ । यसरी हेर्दा २०७२ सालमा आएको नयाँ संविधानले नेपाललाई ‘नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भगौलिक विविधता युक्त विशेषता…’ भनी कानुनी रुपमै स्वीकार गरेको देखिन्छ । तर व्यवहारमा चाहिँ अझै पनि कतैकतै गाई-गोरु काटेको/मारेको (गाई-गोरुको मासु बेचेको खाएको) निहुँ बनाएर मुस्लिम, दलित, आदिवासी जनजाति, क्रिश्चियन लगायतका मानिसहरुलाई जेल हालिएकै छ । जेल हालेर मात्रै नपुगेर नगद रुपैयाँ समेत जरिवाना तिर्नुपर्ने अवस्थामा रहेका छन् । खैर, यो विषयलाई यत्तिमै टुंग्याऊँ ।
यो लेख चाहिँ गएको वैसाख २९ गतेदेखि जेठ ४ गतेसम्म संखुवासभा जिल्लाको उत्तर-पश्चिमी क्षेत्रको सिलिचोङ (स्मरण रहोस्, कुलुङ जातिले सिलिछो भन्ने गर्छन्, सिलिचोङलाई) गाउँ पालिका वडा नम्बर-२ ‘ताम्कूको लकुवा’मा भएको ‘कूलू रीदूम लेखन तथा अन्तरक्रिया कार्यक्रम’मा भएका सकारात्मक अनि परिणाममुखी नतिजासम्बन्धी केही उल्लेख गरिएको छ । म जस्तो सिक्न चाहने मान्छेका लागि (त्यो पनि आफ्नै कूलू रीदूम, होदूम, कूलू रीङ आदि नजानेको) लागि सो कार्यक्रम अत्यन्तै फलदायी एवम् सम्झन योग्य रहेको थियो । त्यसैले सो अवसरका लागि म ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)’ बाला इकाई समितिलाई अन्तर ह्रदयदेखि ‘हायाम-हायाम ओलोनूव’ नै भन्छु । किनभने बाला इकाईले आयोजना गरेको ‘कूलू रीदूम लेखन तथा अन्तरक्रिया’ कार्यक्रममा सहभागी हुने अवसर नपाएको भएदेखि आफ्नै जातिभित्रका विभिन्न प्रकारका मौलिक संस्कार, संस्कृति, रीतिरिवाज, धर्मकर्म, रहनसहन, चालचलन, पूर्खाहरुले मान्दै आएको परम्परागत कानुन, मूल्यमान्यता लगायतका धेरै कुरोहरु जान्ने, बुझ्ने र सिक्ने सुनौलो अवसर गुम्ने थियो । त्यसैले यो सुवर्ण अवसरका लागि फेरि पनि सबै-सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
यो संस्मरणात्मक लेख लेख्ने क्रममा उल्लेख गर्ने भनेको कार्यक्रममा सहभागी हुने क्रममा चिनेजानेका स्थानीय कुलुङ वन्धु-वान्धवहरुसँग गरेको कुरोकानी, जानेको बुझेको र सिकेको, अनुभव र अनुभूति एवं सो कार्यक्रममा सहभागी हुन आउनु भएका खूलू (पूर्खा) ज्युृहरुसँग भएको चिनजान, उहाँहरुसँगको व्यक्तिगत कुरोकानीका साथै अनुभव र अनुभूतिहरु नै हो । त्यसैले मैले सो कार्यक्रममा सहभागी हुने क्रममा गरेको अनुभव र अनुभूतिहरुलाई समेटेर छोटो वर्णन गर्दैछु । माथि सुरुमै भनिएको छ कि, कुरो गएको वैसाख २९ गतेदेखि जेठ ४ गते (१ हप्ता) सम्मको हो, ठाऊँ रहेको थियो ‘संखुवासभा जिल्ला हालको सिलिचोङ गाउँपालिका वडा नम्बर-३ साविक ताम्कू गाविसको ‘लकूवा’ भन्ने गाउँको हो । जहाँ झण्डै १०-१२ पाछा (थरका) कुलुङ जातिका मानिसहरुको बसोवास रहेछ । ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)’ सिलिचोङ गाउँपालिका वडा नम्बर-२ साविक बाला गाउँ इकाई समितिद्वारा आयोजित एक हप्ते ‘कूलू रीदूम लेखन तथा अन्तरक्रिया’ कार्यक्रममा सहभागी हुनका लागि संखुवासभा जिल्लाको सिलिचोङ गापाका खूलू ज्युहरु बाहेक सोलुखुम्बु जिल्लाबाट समीप मान्थेर्बू, भोजपुर जिल्लाबाट बिखबहादुर थोरेप्पा र तेह्रथुम जिल्लाबाट चाहिँ म स्वयं (निनाम लोवात्ती) को सहभागिता रहेको थियो ।
हामीले आजै, अहिल्यै हामी कुलुङ जातिका पढालेखा, विद्वान, सामाजिक कार्यकर्ता र अगुवा अनि केही न जान्ने-बुझ्ने मानिसहरुले विगत देखिका हाम्रा पिता पूर्खाहरुको इतिहास अनि हाम्रो ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभूषा, मौलिक चाडपर्व, मेला, चालचलन, रहनसहन, मौलिक संस्कार, संस्कृति, रीतिरिवाज, गीत, संगीत, बाजागाजा, परम्परागत ज्ञान, हामी भन्ने भावना एवं हाम्रा पिता पूर्खाहरुको इतिहास, वंश-वृक्ष अझ त्यसमा पनि खास गरिकन नागीरे, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले आफ्नो काम वा भनौं कर्म गर्नेगर्दा उनीहरुले खाईखेली गर्ने र हिड्ँने बाटा, उनीहरुले बिसाउने चौतारी अर्थात् ‘नाताबम’ र, उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) र फर्कने बाटाहरुको वर्णन आदि बारेमा धेरै कुरोहरुको निचोड आएको छ, सो लेखन तथा अन्तरक्रियाका क्रममा । निश्चय नै एउटा सिंगो जाति त्यसमा पनि कम्तिमा ५-६ हजार वर्षदेखि लगभग ८-१० हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत, रामायण, पुराण, वेद आदि अनि विभिन्न हिन्दु लोक कथामा समेत उल्लेख भएका हामी कुलुङहरु किरात–किराती महाजातिभित्रका सन्तान हामी एक जाति मात्रै नभएर महाजाति, सभ्यता, इतिहास, भूगोल, धर्मका रुपमा पनि स्थापित भएको किरात वा किरती हौं । हो, त्यही महाजातिभित्रको एक जाति हो ‘कुलुङ जाति ।’ हो भनी चिनाउनका लागि पनि हामीलाई यो लेखन तथा अन्तरक्रिया कार्यक्रमले ठूलो टेवा दिने छ ।
यसरी किराती महाजातिभित्रका कुलुङ जातिको समग्र इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभुषा, चाडपर्व, संस्कार, चालचलन, रहनसहन, संस्कृति, रीतिरिवाज, परम्परागत ज्ञान, गीत, संगीत, बाजागाजा, हामी भन्ने भावना, हाम्रा पिता पूर्खाहरुबीचको सम्बन्ध, त्यसमा पनि खास गरिकन नागीरे, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले आफ्नाे कर्म गर्दा खाईखेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् नाताबम र उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) हरुको वर्णन आदि बारेमा धेरै कुरोहरुको निचोड आएको छ । अझ त्यसमा पनि जोड दिएर भन्नु पर्दाखेरि कुलुङ जातिमा रहेका विभिन्न संस्कार र संस्कृतिहरुमा जन्म संस्कार, विवाह संस्कार, विवाहमा पनि २ प्रकारका विवाह, मृत्य संस्कार, अझ मृत्यु संस्कारमा पनि ‘नसी’ र ‘हिल्सी’, ‘हिल्सी’मा पनि ‘मोमोसी’ आदिबारे बहस र छलफल गरेर सकारात्मक ढंगले निचोड निकालिएको थियो ।
माथि भनिएझैं एउटा सिंगो जाति त्यो पनि कम्तिमा ५-६ हजार वर्षदेखि लगभग ८-९ हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत कथामा समेत उल्लेख भएका किराती महाजातिभित्रका कुलुङ जातिको समग्रमा सबै कुरो ७ दिनको छलफल, अन्तरक्रिया र बहसमा आउने कुरो भएन, आउन सक्दैन । र, यस्तो कुरो कसैले आशा गरेको पनि हुँदैन, गर्नु हुँदैन । तर पनि ७ दिने कार्यक्रममा उपस्थित हुनु भएका हाम्रा आदरणीय खूलू (पूर्खा) हरुले सौहार्दपूर्ण ढंगले हरेक विषयमा मिहिन ढंगले छलफल बहस गरेर एक मतले यो कुरो यस्तो हो है भनी निचोड निकाल्दै पारित गरेका थिए । जुन कुरो (खूलू ज्युहरुको निचोड) लाई प्रेम सोम्फोरु ज्यु (उहाँ आफूले प्रेम किराती लेख्नुहुन्छ, प्रेम किरातीको नामले चिनाउनु हून्छ) ले लिखितमा उतार्नु हुन्थ्यो । हुनत यो काम २०८० सालको जेठ-असारदेखि नै सुरु भएको थियो । सो कामलाई फाइनल गरिएको हो, गत वैसाख २९ देखि जेठ ४ गतेसम्मको १ हप्ते कार्यक्रममा । यस्तो ऐतिहासिक कामको सबैभन्दा ठूलो जस प्रेम सोम्फोरु ज्युलाई जान्छ । किनभने उहाँ एक सम्पन्न परिवारको मान्छे भए पनि अझ त्यसमा पनि नेपाल सरकारको निजामती कर्मचारीको राम्रै पदमा रहेर पनि उहाँले आफ्ना समुदाय एवं भावी पुस्ता र समग्र कुलुङ जातिको लोप हुन लागेको, कतिपय त लोप भएको संस्कार, संस्कृति आदि सम्झेर रात र दिन नभनी अहोरात्र खटेर काम गर्नुभो, त्यसको वर्णन गरेर यहाँ साध्य छैन ।
त्यस क्रममा रुघाखोकी, चिसो आदि केही नभनी बिहान सबेरै उठेर खूलू ज्युहरु उठे/उठेनन् ? यसो हेरेर खूलूहरु उठ्ने बित्तिकैदेखि रातको लगभग साढे १०-११ बजेसम्म खट्नु भो, त्यो सम्झेर यो लेख लेखिरहँदा शनैः शनैः म आफसेआफ द्रवीभूत भई रहेको छु । त्यस्तै जंग दवार कुलुङ सर, जसले सहभागी खूलू ज्यूहरु, जागूलोछा टोली र अन्य स्थानीय सहभागीहरु र, आउजाउ गर्नेहरुलाई समन्य गर्ने काममा खट्ने काम गर्नु भएको थियो । उहाँ पनि कम धन्यवादको पात्र हुनुहुन्न । स्मरण रहोस् अब प्रकाशित हुने ‘रीदूम किताब’मा उहाँले नै सबै स्केच कोर्नु (चित्र बनाउनु) भएको छ । त्यसैगरी समीप मान्थेर्बूजी जो एक सहभागी मात्रै नभएर सिंगल आर्मी म्यान जस्तै ‘क्यामरा पर्सन, भिडियोग्राफर, सम्वाददाता, टिभी प्रेजेन्टर, युट्युबर आदिको भूमिकामा रहनुभएको थियो । कताकति खूलूहरुबीच के हो, कसो हो ? भन्ने स्थिति आएमा ‘मा कूलू’ निवासीका हैसियतले त्यहाँको रीतिथिति, चालचलन आदिबारे बुझाउने स्रोत व्यक्तिको भूमिकामा पनि रहनु भयो, समीपजी । मेरो आफ्नो त के कुरो गराई भो र ? कुलुङ भन्नु मात्रै, ६-७ पुस्ताअघि हाम्रा पूर्खाहरु लिम्बुवानमा ‘भतुवा गएको-भएको मान्छे न परेँ !’ त्यसैले गर्दा ‘कोङ लोवात्ती छा के हजुर, कूलू छा र’छ । खूङ्क सा कूलू रीङ लेसोनो कूलू रीदूम, होदूम सो लेसोनो’, भन्यो ट्वाँ…परेर बस्यो, सक्किगो । तापनि खूलू ज्युहरु लगायत अन्य सहभागीहरुले तेह्रथुममा पनि कुलुङहरु रहेछन् भनी जान्न, बुझ्न पाउँदा साह्रै नै खुसी देखिन्थे, खुसी भएका थिए । त्यसो त सहभागी ज्युहरुलाई तेह्रथुममा मात्रै नभएर, ताप्लेजुङ र पाँचथरमा पनि हामी कुलुङहरुको धेरथोर वस्ती रहेको भनी जानकारी गराएँ ।
जे भए तापनि यस पटकको रीदूम लेखन तथा अन्तरक्रियाको वर्णन यो छोटो लेखमा साध्य हुँदैन, छैन । यो सामान्य लेखमा सम्भव पनि छैन । खास गरी प्रेम सोम्फोरु ज्युले, अरु धेरै मानिसहरु जो छन् यो धरतीमा, जो औपचारिक रुपमा धेरै विषयमा मास्टर्स, एमफिल र, डाक्टर नै गरेका किन नहोऊन् । तर त्यस्ता पढालेखाहरु जो छन्, उनीहरुमध्ये कतिपय व्यवहारिक र आफ्नो समुदायप्रति जिम्मेवार रहेका हुँदैनन् । बरु के देखिन्छ भने, उनीहरु असाध्यै अहंकारी हुन्छन्, व्यवहारिक हुँदैनन् । उनीहरुमध्ये धेरै जना मात्रै पढालेखा हुँ, म मात्रै जान्ने र सुन्ने हुँ, अरु सबै…भन्ने खालका भेटिन्छ । उनीहरु ठान्छन्, मलाई सबै थोक पुगेको छ भने मैले किन जाति वा समुदायका लागि भनेर ‘खाई न पाई छालाको टोपी लाई’ भन्ने अहंकार र घमण्ड पाल्ने गरेका छन् । यो हिसाबले हेर्दाखेरि प्रेम सरले कुलुङ जातिका भावी पुस्ताका लागि धेरै ठूलो अमूल्य योगदान गर्नुभएको छ ।
उहाँले पनि आफू र आफ्नो परिवारको ऐस, आराम, सुखसयल, मोज, मस्ती र हाईफाईको जिन्दगी अर्थात् जीवन बिताउने सोच्नु भएको भए समग्र कुलुङ जातिका लागि यस्तो महान कार्य फत्ते गर्ने काममा अवश्य पनि हात हाल्नु हुने थिएन भन्न सकिन्छ । त्यसैले प्रेम सोम्फोरु कुलुङज्युले समग्र कुलुङ समुदायलाइ कहिल्यै पनि,कहिलयै नमेटिने नाम अनि कसैले पनि बिर्सन नसकिने र, इतिहासमा अमीट छाप रहने काम गर्नुभएको छ भन्ने म सबै महानुभाव ज्युहरुलार्ई स्मरण गराउन चाहन्छु । हुनत यस महान कार्यमा सहभागी सबै महानुभाव ज्युहरुको उत्तिकै योगदान रहेको भए तापनि मुख्य योगदान चाहिँ प्रेम सोम्फोरु ज्युमा नै जान्छ । त्यसपछि आयोजक संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नम्बर-२ तत्कालीन बाला गाउँ पञ्चायत/गाउँ विकास समिति ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम) इकाई समिति’लाई जान्छ । त्यसमा पनि अझ लगभग २ हप्तासम्म वारिपारि गरिरहने (बालादेखि ताम्कुसम्म) बाला ‘कूलू गूसखोम’ बाला गाउँ इकाई समितिका सचिव राजकुमार बुक्खो ज्युको विशेष योगदान रहेको छ भने रेनुका कुलुङ नेछोको योगदानलाई पनि कम आँक्न मिल्दैन । त्यसै गरेर एक हप्ताको बसाईमा रहेका खूलू ज्युहरु लगायत सबै सहभागीहरुलाई वासको व्यवस्था, खाजा-पानी र भात-भान्साको व्यवस्थापन गर्नका लागि जागूलो-जागूलोछा टोलीमा रहनुभएका ६ जना रोबूहरुको टोलीलाई पनि रात-दिन नभनी, घर-परिवार नभनी, खेतीपाती बित्यो नभनी जसरी रेखदेखमा खटिनुभयो त्यसका लागि ‘हायाम-हायाम ओलोनूव’ ।
खाका सुरु भएको मिति
हो, अहिले फाइनल गरिएको कूलू रीदूम लेखनको सुरुवाती इतिहासमा जानु पर्दा २०७५ सालमा सिलिचोङ गाउँपालिका-२ बाला इकाई समिति (किरात कूलू गूसखोम) गठन गरेर २०७६ साल पुस ११-१५ मा ‘मीनारी दाचाम-चाक्चाकूर’को अवसरमा नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलु गूस खोम)का तत्कालीन केन्द्रीय महासविच इन्द्र होनीत्ती खूलुको प्रमुख आतिथ्यमा खूलू ज्युहरुको भेला गरेर पूर्खा सम्मेलन गरिएको थियो । त्यसअघि तत्कालीन बाला गाविसका ९ वटै वडास्तरमा खूलूहरुको भेला गरेर पूर्खा सम्मलेन गरिएको थियो । तर लगत्तै चीनबाट कोरोना महामारी सुरु भएको हुनाले गर्दा तत्कालै पूर्खा सम्मेलनको निचोडअनुसार आएको रीदूमलाई किताबको आधार दिन सकिएन, फाइनल गर्न सकिएन । ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम) बाला इकाई समितिका सचिव राजकुमार बूक्खो ज्युका अनुसार फेरि २०७७ मा दोस्रो पूर्खा सम्मेलन गरेर केही परिमार्जनसहित फाइलन गरियो । त्यो बेला फाइनल गरिएको सो रीदूमलाई टाईप गर्ने काममा कमलराज कुलुङको महत्वपूर्ण योगदान रहेको थियो । सो रीदूम लेखन तथा संकलन कार्यमा अझ निक्खारता ल्याउने, तल-माथि भएको विषयलाई सिलसिला मिलाउने र, रीदूमसम्बन्धी कुरोहरु अरु बढी उत्खनन् गर्न सकिन्छ कि ? भनी खोज-अनुसन्धान गर्ने कामको जिम्मा प्रेम सोम्फोरु ज्युलाई दिइएको हो । सो काम २०८० को जेठ-असारतिर सुरु भएको थियो । त्यसैको समग्र रुपलाई गत वैसाख २९ देखि जेठ ४ सम्म समय लगाएर एक हप्ता लगाएर अझ सिलिचोङ गाउँपालिकाका सबै खूलू ज्युहरु अनि सोलुखुम्बु, भोजपुर र तेह्रथुम जिल्लासम्मका सहभागीहरुको सहभागितामा वृहत रुपमा बहस र छलफल गरेर ‘सुपर फाइनल’ गरिएको हो ।
यसरी एक हप्ता लामो ‘रीदूम लेखन तथा अन्तरक्रिया कार्यक्रम’ जस्तो ऐतिहासिक कामको जस आयोजक सिलिचोङ गाउँ पालिका वडा नम्बर-२ बाला ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)लाई जान्छ । यसरी ‘रीदूम लेखन तथा अन्तरक्रिया कार्यक्रम’का क्रममा १०-११ दिनसम्म वारिपारि गरिरहने (बालादेखि ताम्कुसम्म) बाला ‘कूलू गूसखोम’ बाला गाउँ इकाई समितिका सचिव राजकुमार बुक्खो ज्युको विशेष योगदान रहेको छ भने रेनुका कुलुङ, भुपेन्द्र थिम्रा ज्यु, त्यस्तै गरेर जागूलो-जागूलोछा टोलीमा रहनुभएका ६ जनाको टोलीको पनि बिर्सन नसकिने योगदान रहेको छ । किनभने यदि उहाँहरुले दिन र रात नभनी, घर, परिवार, खेतीपाती नभनी सहभागी खूलू ज्युहरु लगायत कार्यक्रममा उपस्थित हुनुभएका अन्य महानुवाभहरुको रेखदेख र भात-भान्सामा दत्तचित्त भएर खटिनु नभएकोमा कार्यक्रम सम्पन्न नहुने कुरो कसैले पनि अस्वीकार गर्न सक्दैनन् भन्ने मेरो बुझाई रहेको छ । त्यसैले जागूलो-जागूलोछा टोलीमा रहनु भएका ६ जनाको टोलीलाई ‘हायाम-हायाम ओलोनूव’ ।
अन्त्यमा खूलू (पूर्खा) ज्युहरुले आफ्नो भावी सन्ततिहरु जस्तै नाति, पनाति, खनाति, जनाति, मनाति, तनाति) सम्झेर ७ दिन लामो पट्यारलाग्दो किसिमको समयलाई (‘रीदूम लेखन तथा अन्तरक्रिया कार्यक्रम’मा) एक ईन्च पनि हलचल नगरिकन एक चित्तले, दत्तचित्त भएर लागिपर्नु भएकोमा उहाँहरुको अमूल्य र दीर्घकालसम्म रहिरहने योगदानको कदर गर्दै केही लामो लेखको अन्त्य गरेँ है ।