अरुण तेस्रोको सुरुङ छिचोलियो, एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ छिचोलिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार परियोजनाको सुरुङ ‘ब्रेक-थ्रु’ गरेका हुन् । सो अवसरमा उनले परियोजनाका बाँकी काम सम्पन्न गर्ने कार्यमा सहजीकरण र सहयोगका निम्ति सरोकारवाला सबैमा आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गरेका छन् ।
अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मकालु-५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका-३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने छ । सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ । आयोजनाको ७० प्रतिशत बढी काम सकिएको जनाइएकाे छ । परियोजनामा कुनै अवरोध नभए अबको करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ ।
सन् २०१४ मा अरूण तेस्रोको आयोजना विकास सम्झौता (पीडीए) भएकाे हाे । निर्माण सम्पन्न भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ । सन् २०१८ मा काठमाडौंमा आयोजित कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आयोजनाको शिलान्यास गरेका थिए ।
आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट निःशुल्क बिजुली प्राप्त गर्नेछ । आयोजनाको कुल अनुमानित लागत करिब ९२ अर्ब रुपैयाँ छ ।