कुलुङ भाषाको गीत लेखन प्रतियोगिता हुँदै
कुलुङ भाषाको गीत लेखन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता किरात कुलुङ समाज दक्षिण कोरियाको आयोजनामा गर्न लागेकाे हाे ।
प्रतियोगितामा भाग लिन रचनाकारहरुले लेखेको गीतको शब्द एकप्रति र सो गीत वाचन गरिएको भिडियो ईमेल वा वाट्स एपबाट आयोजकलाई पठाउनु पर्नेछ । आयोजकको फेसबुकमा राखिएको गीतको भिडियोमा दर्शकले दिएको मतलाई पनि मान्यता दिनेगरी तयारी गरिएको कुलुङ समाज दक्षिण कोरियाका अध्यक्ष मानुहाङ किरातीले जानकारी दिए । उनले दर्शकले दिएको भ्युजलाई ३० अंक र बाँकी ७० प्रतिशत निर्णायकहरुको मूल्यांकनकाे आधारमा नतिजा तयार गरिने बताए ।
गीत २०८१ असार १८ गतेसम्ममा पठाइसक्नु उल्लेख गरिएको छ । प्रतियोगीतामा पहिलो हुनेले प्रमाणपत्रसहित नगद ५० हजार, दोश्रो हुनेले ३० हजार, तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने आयोजकले जनाएको छ ।