सामुदायिक बीउ बैंकसम्बन्धी अन्तर्क्रिया गोष्ठी

सामुदायिक बीउ बैंकसम्बन्धी अन्तर्क्रिया गोष्ठी

कृषि जैविक विविधता संरक्षण तथा उपयोगका लागि सामुदायिक बीउ बैंक विषयक अन्तर्क्रिया गोष्ठी धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम तामाफोक कृषि जैविक विविधता संरक्षण कृषक समूहले आयोजना गरेको हो । नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधि, वडा अध्यक्षहरु, समूहमा आवद्ध कृषकहरु लगायत कार्यक्रममा सहभागी थिए ।

कार्यक्रमका सहभागीसमक्ष कृषि जैविक विविधता संरक्षण समितिका सल्लाहकार पिताम्बर श्रेष्ठले नेपालमा रैथाने बालीको विषयमा प्रस्तुति दिए । उनले रैथाने बालीका फाइदा र महत्वबारे पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।

वडा नम्बर १, २, ५ र ९ का वडाध्यक्षहरुले गोष्ठी महत्वपूर्ण भएको धारणा राखे । कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख तारा महत भट्टराईले कृषि र कृषकका लागि नगरले विशेष महत्वका साथ सहयोगको कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईंले बीउ बैंकसम्बन्धी नीति तथा कार्यक्रम बनाएर सहकार्य गर्न सकिने धारणा राखे ।

कार्यक्रममा समूहका अध्यक्ष डिल्ली जिमीले बीउ बैंकमार्फत आफूहरुले ७५ किसिमका रैथाने बीउहरु संरक्षण गरेको जानकारी गराए । उनका अनुसार समूहद्वारा स्थापित बीउ बैंक जिल्लाकै एकमात्र हो । समूह २०६५ सालमा स्थापना भएको हो ।

कृषक समूहले प्रदर्शनमा राखेकाे रैथाने बीउको नमूना ।

सम्बन्धित खबर