मुक्कुम्लुङमा यक्वा सेवा र वृक्षारोपणको तयारी

मुक्कुम्लुङमा यक्वा सेवा र वृक्षारोपणको तयारी

रूख कटान गरिएको क्षेत्र ।

ताप्लेजुङमा अवस्थित मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा वृक्षारोपण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङसहित ६ संस्थाको अगुवाईमा यही जेठ ३१ र ३२ गते वृक्षारोपण र यक्वा सेवा (क्षमा पूजा) गर्न लागिएको हो ।

चुम्लुङसहित केबलकार निर्माण खारेजी संघर्ष समिति, मुम्कुम्लुङ संयुक्त संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, युमा साम्यो महासभा, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण सचिवालयले वृक्षारोपण र क्षमापूजाको तयारी गरेका हुन् । पाथीभरामा केबलकार निर्माण गर्ने भएपछि उल्लिखत संस्थाहरु विरोधमा उत्रिएका छन् । उनीहरु प्रतिरोधसमेत गर्दै आएका छन् । तर गत वैशाख ३१ गते केबलकार निर्माण गर्ने पक्षकाले पाथीभरा क्षेत्रमा रुख कटान गरेको छ ।

हजारौंको संख्यामा रुख कटान गरेर मुन्धुमी आस्थास्थलमा अपमान भएको उल्लिखित संस्थाहरुले विज्ञप्तिमार्फत जनाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अपराधीहरुले वन फँडानी गरेर उजाड पारेको क्षेत्रमा वृक्षारोपण गर्न, मुम्कुम्लुङ युमा माङ सित्छिङमा गरेको हुनाले ताःजेक्माको लागि थोलाङ यक्वा पूजा गर्ने (युमा माङसँग सबैको कल्याणको लागि प्रार्थाना पूजा लगाउने) र युमा माङको पूजा सेवालाई व्यवस्थित गर्ने कार्यक्रम भएकाले सम्पूर्ण न्यायप्रेमी महानुभावहरुलाई उक्त कार्यक्रममा सरिक हुन हार्दिक अपील गर्दछौं ।’ उनीहरुले वन फँडानीमा संलग्नलाई कारबाहीको माग पनि गरेका छन् । ‘हाम्रो विरोधका वाबजुद मिति २०८१ वैशाख ३१ गते आधारातमा डकैती शैलीमा लठैत प्रयोग गरी हजारौं रुख काटेर नष्ट पारिनु मुन्धुमी आस्थाको स्थलमाथि अपमान हो । युमा माङको बासस्थानमा हाम्रा पुर्खाहरुले हजारौं वर्षदेखि संरक्षण गरिराखेका बहुमूल्य वनस्पति चोरी दाउमा फँडानी गर्ने अपराधीहरुलाई सख्त कारबाही हुनुपर्छ नत्र भने कुनै पनि बेला जनताले यसको हिसाबकिताब चुक्ता गर्नेछन् । यस्तो माङ साम्वाःन कर्म (अधर्म) युमा माङले सहन गर्ने छैन,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । उनीहरुले मुक्कुम्लुङलाई हिन्दु नामकरण र हिन्दु धार्मिकस्थल भनी गलत प्रचार गरिएको पनि जनाएको छन् ।

वृक्षारोपण र क्षमापूजामा सहभागी हुन चुम्लुङले ‘लिम्बुवान’ क्षेत्रका ९ जिल्ला कार्यसमितिहरुलाई पत्राचारसमेत गरेको छ । चुम्लुङले प्रत्येक व्यक्तिले २० वटा विरुवा रोप्नेगरी प्रत्येक जिल्ला कार्यसमितिबाट कम्तीमा सय जना सहभागी हुन भनेको छ ।

सम्बन्धित खबर