संखुवासभामा बाढीपहिरो : यस्तो छ क्षतिको विवरण
खाँदबारीमा १ घाइते, १ सय २५ घर विस्थापित
पूर्वी नेपाल हुँदै मनसुन भित्रिएसँगै वर्षा सुरू भएको छ । अधिक वर्षाका कारण विपदका घटनाहरू हुन थालेका छन् । बुधबार राति परेको पानीका कारण संखुवासभाका विभिन्न स्थानमा बाढीपहिरो गएको छ । जसका कारण केही घर र विभिन्न भाैतिक संरचनामा क्षति पुगेकाे छ । केही मानिसहरू घाइते भएका छन् ।
खाँदबारीमा १ घाइते, १ सय २५ घर विस्थापित
सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दा बढी परिवार बाढीपहिराेका कारणा विस्थापित भएको नगरपालिकाले जनाएकाे छ । पहिरोले खाँदबारी-११ आङ्ला गाउँमा तीन घर बगाएको हो ।
बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले जानकारी दिए । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । इन्स्पेक्टर लामिछानेका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका-२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ ।
खेतबारी बगरमा परिणत
खाँदबारी ५ र ६ नम्बर वडामा मात्रै बाढीले कम्तीमा १ सय १० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूलाठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएकाे वडा नम्बर ६ का अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिए । डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेर क्षति पुर्याएको छ । धुपू-बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ ।
खाँदबारी–४ सेकाहामा पनि चार घर पहिरोबाट विस्थापित भएको वडा नं. ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं. १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ ।
तीन करोडको क्षति
बाढीले कम्तीमा तीन करोड बढीको क्षति भएकत्त अनुमान गरिएको जनाइएको छ । क्षतिको तथ्यांक वडा तहबाट संकलन भइरहेकाे बताइएको छ । चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोसी राजमार्गअन्तर्गत मुढे-नुम र ठूलोढुंगा-अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ ।
वर्षा धेरै भएकाले नदी किनार र भिरपहरानजिक बसेकाहरूलाई सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ । उद्धार र राहतका लागि सुरक्षा संयन्त्रलाई परिचालन गरिएकाे जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।