लिम्बु चलचित्र निर्माण कार्यशाला सुरू
याक्थुङ मुन्चइत् चोक सयङ केन्द्रीय समितिले आयोजना गरेको समुदायमा आधारित लिम्बु चलचित्र निर्माण कार्यशाला सुरू भएको छ । काठमाडौं ८, भंगालस्थित किरात याक्थुङ चुम्लुङहिममा आजदेखि ५ दिने कार्याशाला सुरू भएको हो ।
कार्यशालामा वरिष्ठ निर्देशक नविन सुब्बा, चलचित्र वितरक मनोज राठी, चलचित्र छायाँकार शैलेन्द्र डी कार्की, चलचित्र प्रशिक्षक अनुप सुवेदी, चलचित्र समालोचक तथा निर्देशक दिपेन्द्र लामाले आ-आफ्नो विधामा सहभागीहरुलाई प्रशिक्षण दिनेछन् ।आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धनबारे बोर्डका अध्यक्ष ज्योतिराज राई, मानवशास्त्री डीबी आङबुङ, चलचित्र निर्देशक प्रतिमा पुन, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङ्बुङ, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पूर्खाजित राई लगायतले कार्यशालामा सहजीकरण गर्ने सयङका सदस्य सागर केरुङ्ले जानकारी दिए ।
किरात याक्थुङ चुम्लुङ् उपत्यका समितिहरु, लिम्बु विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, लिम्बु पत्रकार संघलगायत विभिन्न संघ संस्थाहरुमार्फत कार्यशालामा ७५ जना सहभागी छन् ।