छुम्माको कोशी प्रदेश सम्मेलन सुरु

छुम्माको कोशी प्रदेश सम्मेलन सुरु

किरात याक्खा छुम्माको प्रथम कोशी प्रदेश सम्मेलन धनकुटामा आज सुरु भएको छ । राज्य पुन:संरचनापछि सोहीअनुसार सांगठनिक ढाँचा निर्माण गरेको छुम्माले यसअघि बागमती प्रदेशको सम्मेलन गरिसकेको छ ।

कोशी प्रदेश सम्मेलनको अवसरमा छुम्माको स्मारिका विमोचन गरिएको छ । प्रमुख अतिथि तेहथ्रुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङ, छुम्माका संस्थापक अध्यक्ष लिलामणि जिमी र छुम्माकी कोशी प्रदेश इञ्चार्ज एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जना ताम्लीले स्मारिका विमोचन गरेका हुन् । प्रमुख अतिथि नगर प्रमुख माबुहाङले याक्खा जातिको इतिहास र पहिचान अन्य आदिवासी जनजातिभित्र पनि खास किसिमको रहेको बताए ।

सम्मेलनमा याक्खा जातिको संस्कृति डोकेनी नाचको प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा धनकुटा, धरान र इटहरी नगर कार्यसमितिको टोलीले क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । धनकुटाको डाँडागाउँ र मारेककटहरेको टोली सान्त्वना भए । विजयी टोलीलाई प्रमाणपत्र र नगदद्वारा पुरस्कृत गरिएको छ ।

सम्मेलन नयाँ कार्यसमिति चयन गर्दैै भोलि सम्पन्न हुने छुम्माका कोशी प्रदेश सह-इञ्चार्ज एवं केन्द्रीय सचिव हेमराज जिमीले जानकारी दिए ।

सम्बन्धित खबर