कोशीको बजेट ३५ अर्ब २७ करोड (पूर्णपाठ)
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
चालुतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री रानाले बताए । जसमा सरकारले ४ अर्ब ९८ करोड रुयैपाँ राजश्वमार्फत उठाउने लक्ष्य लिएको मन्त्री रानाले बताए । त्यसैगरि, मन्त्री रानाले राजस्व बाँडफाँडतर्फ १२ अर्ब ४० करोड ८ लाख, केन्द्र सरकारबाट हासिल हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको बताए ।
मन्त्री रानाले समपुरक अनुदानतर्फबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने योजना रहेको बताए। उनले बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने उल्लेख गरे । बजेट सार्वजनिक गर्दै मन्त्री रानाले पूर्वाधार विकासमा १० अर्ब ४१ करोड बजेट विनियोजन गरेको बताए । उनले सडक पूर्वाधारतर्फ स्रोत सुनिश्चितता भएका बहुवर्षीय सडक, सडक पुल, झोलुंगे पुल निर्माण र निरन्तरताका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
त्यसैगरी, पालिका केन्द्र, पर्यटकीय गन्तव्यस्थल, औद्योगिक क्षेत्र र व्यापारिक केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखी सडक विस्तार गर्न ३ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । कृषिमा २ अर्ब ६७ करोड, खानेपानी तथा उर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण २ अर्ब ८२ करोड शान्ति सुरक्षा, सूचना तथा सञ्चारका लागि १ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले खानेपानी सिंचाइ तथा उर्जातर्फ ४ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । आधारभूत खानेपानीको सेवास्तरलाई प्रशोधन प्रणालीसहितको मध्यमस्तरको सेवामा उन्नत गर्ने गरी सरकारले १ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
पूर्णपाठ :