कोशी विवाद : संघर्ष समितिको आक्रामक तयारी, समानान्तर सत्ता चलाउने चेतावनी
मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्न सकिने निर्णय
‘प्रदेश नं. १ पुन:नामांकन संयुक्त संघर्ष समिति’ले आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गरेको छ। समितिको समन्वयरत संस्था किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा शनिबार र आइतबार ताप्लेजुङको फुङ्लिङ बजारमा बसेको बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको छ ।
प्रदेश सरकार र प्रदेश सभाले हालसम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनीभूत तयारीका साथ अगाडि बढ्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ । कोशी नाम खारेज गरी पहिचानको आधारमा पुन:नामांकन आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र नेताहरू अग्रसर नदेखिएको समितिको आरोप छ । अब रणनीतिक योजनाअनुसार आवश्यक अध्ययन र ठोस तयारीसहित स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यास गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।
समितिले आगामी मंसिर २ गते विराटनगरमा जनप्रदर्शन गर्ने भएको छ । ‘कोशी नाम खारेज गरी पहिचानको आधारमा पुन:नामांकन आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र त्यसका नेताहरू अग्रसर नदेखिएको हुँदा संघर्ष समितिले पारित गरेको रणनीतिक योजना अनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यासको विकास गर्नेबारे आवश्यक अध्ययन र ठोस तयारी गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
संघर्ष समितिले प्रदेशसभालक्षित विरोधका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । कोशी नामाकरणका पक्षमा मतदान गर्ने ८२ प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिक गाली गर्ने ३ जना नेताहरुलाई दबाब दिन उनीहरूको परिवार तथा नातागोताहरुलाई अनुरोध गर्ने समितिको निर्णय छ । मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्न सकिने संघर्ष समितिले जनाएको छ ।
विज्ञप्ति :