बाढीपहिरोले २४ घरपरिवार विस्थापित, करोडौंको क्षति

बाढीपहिरोले २४ घरपरिवार विस्थापित, करोडौंको क्षति

फाइल तस्बिर ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले संखुवासभामा दर्जनाैं घरपरिवार विस्थापित भएका छन् भने करोडाैंको क्षति भएको छ ।

बाढीपहिरोबाट मकालु गाउँपालिका २४ घरपरिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका-२ सागसेवा र मूलगाउँमा बाढीपहिरोले २४ घरपरिवार विस्थापित भएकाे जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएकाे छ ।

पहिरोको उच्च जोखिममा परेका २४ परिवार अहिले छिमेकी र आफन्तको घरमा सुरक्षित रूपले सारिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बाढीपहिरोले मानवीय क्षति भने भएको छैन । बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रजिअ खड्काले बताए ।

एक सातादेखि लगातार परेको वर्षाले मकालु गाउँपालिका र भोटखोला गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा सात करोड बराबरको क्षति भएको छ । खाँदबारी-थामसेर्कुअन्तर्गत ठूलोढुंगा-अरुणथान खण्डमा सडकको ‘सब-बेस’ बगाउँदा एक करोड बराबरको क्षति भएको छ ।

उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालय संखुवासभाका प्रमुख सबिन कोइरालाका अनुसार थामसेर्कु-कप्ताने सडक र कप्ताने-नुम सडक खण्डमा नाली,ग्याबिन पर्खाललगायतका संरचना बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । एकुवा खोलामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको पुल पहिराले बगाउँदा चार करोड बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

सम्बन्धित खबर