प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुनिल र मनिसको जोडीलाई

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुनिल र मनिसको जोडीलाई

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुनील कार्की र मनिस खड्काको जोडीले जितेका छन् । जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजनामा शनिबार खाँदबारीमा सम्पन्न प्रतियोगिताको पुरुष डबलतर्फ संखुवासभाका कार्की र मोरङका खड्काको जोडीले उपाधि हात पारेको हो ।

खाँदबारी नगरपालिका-१ घिमिरेगाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डोर स्टेडियममा भएको फाइनल खेलमा सुनिल र मनिसको जोडीले भोजपुरका निश्चल खत्री र संखुवासभाका प्रविन लिङ्थेपलाई सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै कार्की र खड्काको जोडीले नगद ६० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् । उपविजेता निश्चल खत्री र प्रविन लिङ्थेपले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइनलिस्ट संखुवासभाका प्रमिश श्रेष्ठ र झापाका प्रमिश सिंह ठकुरी तथा भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको जोडीले नगद १०/१० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तैगरी सय वर्ष माथिको भेट्रान्स तर्फ तर्फको प्रतियोगितामा विराटनगरका जिवन कुमार बोगटी र सुनसरीका श्रवन चौधरीको जोडी प्रथम भएको छ । पाँचथरका रामराज आङ्देम्बे र काठमाडौंका सञ्जय कपालीको जोडी उपविजेता भएको छ । विजेताले नगद ५० हजार र उपविजेताले ३० हजारका साथमा मेडल र प्रमाणपत्र गरेका छन् । सेमिफाइनलिस्ट नेपालगञ्जका हरि खत्री र अनिल लाखे तथा काठमाडौंका इन्द्र महत र सुनसरीका देव तामाङको जोडीले नगद सात हजार पाँच सय प्राप्त गर्‍यो ।

संखुवासभा जिल्लस्तरीय बी डिभिजन पुरुष डबलतर्फ तुम्लिङटारका अनमोल बुर्जा र सफल श्रेष्ठको जोडी विजेता भएको छ । उपविजेता खाँदबारीका लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङ भएका छन् । त्यसैगरी मानेञ्याङका साहिद श्रेष्ठ र सन्दिपभगत श्रेष्ठ तथा खाँदबारीका सुमन गौतम र सविन तामाङको जोडी तेस्रो भएको छ । विजेताले नगद २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्ट दुई जोडीले पाँच/पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।

बिहीबारदेखि सुरू प्रतियोगितामा भारतको कोलकात्ता, सिक्किम, दार्जिलिङका समेत गरी ९२ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघ संखुवासभाले जनाएको छ ।

सम्बन्धित खबर